न्यायाधीश चोलेन्द्रशमशेर जबराको कदमपछि कानुन व्यवसायी विभाजित, जबरालाई कारबाहीकाे तयारी

  • 171
  •  
  •  
  •  
  •  
    171
    Shares

काठमाडौं, २९ फागुन । न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको इजलास बहिष्कार र नेपाल बार एसोसिएसनले निकालेको विज्ञप्तिसँगै नेपालको न्यायालय विवादमा परेको छ । यतिखेर पराजुली र जबराको पक्षमा कानुन व्यवसायी विभाजित भएका छन् ।

कान्तिपुर पब्लिकेसन र डा.गोविन्द केसीको अदालत अवहेलना मुद्दा प्रकरणमा गठित बृहत् पूर्ण इजलासमा बस्न अस्विकार गरेर न्यायाधीश जबरा निस्किएपछि अब प्रधानन्यायाधीश पराजुलीले कस्तो कदम उठाउलान् ? भन्ने चासो बढेको छ । खासगरी न्यायाधीश जबराले चालेको कदम न्यायिक इतिहासमै पहिलोपल्ट भएकाले त्यसको समर्थन र विरोध गर्ने दुवै उत्तिकै छन् ।

प्रधानन्यायाधीश पराजुलीले म‌ंगलबार न्यायाधीश जबरालाई बेन्च ताेकेका छैनन् । न्यायाधीश जबरामाथि अदालतको अवहेलनाको मुद्दा दर्ता गर्ने तयारी भइरहेकाे जनाइएकाे छ ।

वरिष्ठ अधिवक्ता एवं केही कानुन व्यवसायी यतिखेर न्यायाधीश जबरा, प्रधानन्यायाधीश पराजुली र नेपाल बारको विरोधमा उत्रेका छन् । वरिष्ठ अधिवक्ता डा.भीमार्जुन आचार्य विगतमा राजनीतिक भागबन्डाकै कारण अहिलेको परिस्थिति निम्तिएको बताउँछन् । ट्रेड युनियनका कर्मचारी र अदालतका न्यायाधीशबीच फरक छुट्याउन मुस्किल भएको उनको भनाइ छ ।

‘हिजो सारा राजनीतिक भागबन्डामा नियुक्तिहरू गरिए । आज ट्रेड युनियनका कर्मचारी र अदालतका न्यायाधीशह बीच भिन्नता छुट्याउन गाह्रो हुने अवस्था आयो । फेरि पनि अघि बढ्नुको विकल्प छैन । संयम होऔं, न्यायालय र मिडिया जस्ता डेमोक्रेटिक इन्स्टिच्युसनहरूलाई जोगाऔं,’ आचार्यले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

यस्तै, नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले भने नेपाल बारको नेतृत्वको आलोचना गरेका छन् । बारले सोमबार निकालेको विज्ञप्तिले समग्र वकिलको प्रतिनिधित्व नगर्ने भन्दै बारको साख गिराएको उल्लेख गरेका छन् । बारले न्यायाधीश जबराको कदमको विरोध जनाउँदै प्रधानन्यायाधीश पराजुलीको बचाउ गरेको उनको आरोप छ ।

‘नेपाल बारको नाममा आएको जिज्ञप्तिले देसभरका ५ प्रतिशत वकिलको पनि प्रतिनिधित्व गर्दैन । व्यक्ति विशेषको गलत, अनैतिक, गैरकानुनी र भ्रस्ट आचरणको रक्षाकबच बन्ने दुस्सहास गरेको बारको नेतृत्वलाई बारको गौरवमय इतिहासलाई धुमिल बनाउने छुट छैन, देशभरका वकिलहरु एक हौ, बारको साख जोगाऔं,’ भट्टराईले ट्विट गरेका छन् ।

यता, पूर्वमहान्यायाधिवक्ता डा.युवराज संग्रौला भने अहिले नेपालको न्यायपालिका जबर्जस्त आक्रमणको सिकार भएको बताउँछन् । मुलुकलाई अँध्यारोतिर ठेल्ने काम हरेक कुनामा भइरहेको बताउँदै उनले लामो समयदेखि राज्यका संस्थाहरूमा विभिन्न खेलहरू भइरहेको उनको भनाइ छ ।

‘अहिले विज्ञप्ति दिएर बेन्च बहिस्कारको तान्डव न्यायाधीशबाटै भएछ । यो संसारकै पहिलो घटना हो । यस्तो कार्य न्यायिक अवधारणा, नैतिकता र अदालतको स्वतन्त्रताको विरुद्धमा हुन्छ,’ संग्रौलाले लेखेका छन् । उनले पार्टीका नेतृत्वदायी निकायमा बसेका नेताहरुलाई न्यायाधीशमा नियुक्त गर्ने क्रमसँगै न्यायपालिकामा खुला हस्तक्षेप सुरु भएको उल्लेख गरेका छन् ।

उनले अहिलेको अवस्था आउनुमा विभिन्न कुरालाई इंगित गरेका छन् । ‘पहिला अदालतमा विदेशी गैरसरकारी संस्थालाई खुला प्रवेश दिइयो । न्यायपालिकामा ३०० मिलियनभन्दा बढी विदेशी अनुदान प्रवेश गरेछ । यसमा थुप्रै न्यायाधीश र कर्मचारी सरिक छन्, त्यसपछि ताण्डव आयो महाअभियोगको, यसले अदालतको गरिमालाई क्षतविक्षत बनायो, लगत्तै कुनै एउटा न्यायाधीशलाई अपशब्द प्रयोग गरियो । न्यायाधीशका नागरिकता र प्रमाणपत्रको कुरा उठाएर निरन्तर अदालतप्रति जनताको अनास्था पैदा गर्ने प्रपञ्च भइरहेको छ,’ संग्रौलाले भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 ÷ = 8