प्रचण्डले ‘फिप्टी फिप्टी’ को हैसियत खोजेपछि ओली गम्भीर, कूटनीतिक ‘ब्रिफिङ’ मा माओवादी मन्त्री नआएपछि सनसनी

  • 68
  •  
  •  
  •  
  •  
    68
    Shares

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी ओलीले नेपालमा रहेका कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई गरेको ‘ब्रिफिङ’मा माओवादी केन्द्रका मन्त्रीहरू अनुपस्थित भएपछि यसलाई अर्थपूर्ण रूपमा लिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री डा.युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत सहभागी थिए ।

तर, प्रमुख सत्ता साझेदार पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा बादललगायतका माओवादी मन्त्री भने अनुपस्थित रहे । किन माओवादी मन्त्री अनुपस्थित भए भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन । माओवादीले पनि यसमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

माओवादी केन्द्रका नेता कार्यकर्ताको एउटा गोप्य भेलामा हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ५०–५० प्रतिशत हैसियत नभएसम्म पार्टी एकता नहुने घोषणा गरेको भोलिपल्टै माओवादीका मन्त्रीहरू प्रधानमन्त्रीले आयोजना गरेको कूटनीतिक ब्रिफिङमा अनुपस्थित हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बेपत्ता व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोगमा परेका मुद्दा विशेष अदालतमार्फत टुंगो लगाउने सरकारको तयारीपछि विदेशी राष्ट्रहरूले आलोचना गरेपछि प्रधानमन्त्री ओलीले कूटनीतिक ब्रिफिङको आयोजना गरेर आशंका मेटाउने प्रयत्न गरेका हुन् । बेपत्ता व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोगमा माओवादी केन्द्रका धेरै नेताहरूविरुद्ध मुद्दा परेकाले सो पार्टीसँग एकता गर्न लागेकाले एमाले पनि समस्यामा पर्ने संकेत देखिएको छ ।

प्रचण्डले ५०–५० प्रतिशत समान हैसियतको अभिव्यक्ति सार्वजनिक गरेपछि प्रधानमन्त्री ओली निकै रुष्ट भएको बताइन्छ । सोही कारण प्रधानमन्त्रीले कूटनीतिक ब्रिफिङमा माओवादीका मन्त्रीहरूलाई आमन्त्रण नगरेको स्रोतले बतायो । ओली र प्रचण्डबीच प्रधानमन्त्रीको भारत भ्रमणअगावै चैत २३ गतेभित्र पार्टी एकता गर्नेबारे गृहकार्य सुरु भएको थियो । तर समान हैसियत नभएसम्म पार्टी एकता हुन नसक्ने प्रचण्डको पछिल्लो अभिव्यक्तिले एकता प्रक्रियाले मूर्त रूप पाउनेमा शंका उब्जिएको छ ।

कूटनीतिक ब्रिफिङमा माओवादी मन्त्री नआएपछि राजनीतिक वृत्तमा सनसनी फैलिएको छ । सो आशंकालाई मेटाउन प्रधानमन्त्री ओलीले आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग ‘वन अन वन’ वार्ता गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री उपस्थित हुने भनिएका महत्वपूर्ण कार्यक्रम रद्द गरिएको बताइएको छ । दिउँसो मन्त्रिपरिषद् बैठक बसेलगत्तै ओली र प्रचण्डबीच भेटवार्ता हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

41 − 31 =