२०७४ नेपाली सिनेमाको ‘स्वर्णकाल’, सुपरहिट १२ चलचित्रले कमाए ५० करोड

  • 4.3K
  •  
  •  
  •  
  •  
    4.3K
    Shares

इन्दु पाण्डे

काठमाडाैं, २८ चैत । २०७४ साल नेपाली सिनेमाका लागि फलदायी वर्ष सावित भएको छ । यो वर्ष झन्डै आठ दर्जनभन्दा बढी चलचित्र प्रदर्शनमा आए । तर, तीमध्ये १० प्रतिशत चलचित्र मात्र हिट भएका छन् । जसले नाफासमेत राम्रै हात पारेका छन् । ती चलचित्रले नेपालमा मात्र होइन, विदेशमा पनि उल्लेख्य कमाई आर्जन गरेका छन् ।

आशा गरिएका धेरै चलचित्रले लगानीसमेत उठाउन सकेनन् । रेखा थापा, आर्यन सिग्देल, निखिल उप्रेती जस्ता स्टारले भरिएका चलचित्र असफल रहे । यस वर्ष निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, अनमोल केसी, सलिनमान बानिया, प्रदीप खड्का, पल शाह, साम्राज्ञलक्ष्मी शाह, दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, केकी अधिकारी, दीपिका प्रसाई जस्ता स्टार चम्के । अघिल्लो वर्ष तारिफ बटुलेका विपीन कार्की यस वर्ष जम्न सकेनन् । यस वर्ष सफल भएका १२ चलचित्र सुपरहिट भएका छन् । ती सबै चलचित्रको व्यापार ५० करोड रुपैयाँभन्दा माथि रहेको समीक्षकहरूको विश्लेषण छ ।

१. प्रेमगीत २

‘प्रेमगीत’ को सफलतापछि साउन १३ गते प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत २’ ले पनि अत्यधिक चर्चा बटुल्न सफल रह्यो । प्रदीप खड्का, अश्लेषा ठकुरी, शिशिर भण्डारी, श्रद्धा प्रसाई, कविता रेग्मीलगायतको अभिनय रहेको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रबाट डेब्यु गरेकी नायिका अश्लेषा र प्रदीपको अभिनयको धेरैले तारिफ गरे । चलचित्रमा रहेको ‘कहानी यो प्रेमगीत को’ बोलको गीत सर्वाधिक हिट रहेको थियो । सन्तोष सेनले बनाएको चलचित्रले तीन करोडको व्यापार गरेको बताइन्छ ।

२. २ रुपैयाँ

‘२ रुपैयाँ’ वर्षकै सुपरहिट चलचित्रमा पर्छ । अशिम शाहले निर्देशन गरेको चलचित्रमा निश्चल बस्नेत र आशिफ शाहको मुख्य भूमिका रहेको छ । चलचित्रमा समावेश गरिएको ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीतले त कीर्तिमान नै कायम गरेको छ । सोही गीतमा अभिनय गरेका कारण स्वस्तिमा खड्का निकै चर्चित भइन् । जुन गीत अहिलेसम्म युट्युबमा साढे पाँच करोडपटकसम्म हेरिएको छ । कमेडी जनराको यस चलचित्रले साढे चार करोड रुपैयाँ कमाएको बताइन्छ ।

३. ए मेरो हजुर २

नायिकाबाट निर्देशक बनेकी झरना थापाका लागि यो वर्ष निकै सुखद रह्यो । उनको पहिलो डेब्यु निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर २’ सुपरहिट सावित भयो । नायिका साम्राज्ञराज्यलक्ष्मी शाह र नायक सलिनमान बानियाको अभिनयको राम्रो तारिफ भयो । चलचित्रले ६ करोडभन्दा बढीको कमाई गरेको बताइन्छ ।

४. छक्का पञ्जा २

दसैंको समयमा रिलिज भएको चलचित्र ‘छक्का पञ्जा २’ सबैभन्दा बढी कमाउने चलचित्रमा पर्छ । चलचित्रले १७ करोड रुपैयाँको व्यापार गरेको निर्माण पक्षको दाबी छ । चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् । चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, वर्षा राउत, स्वस्तिमा खड्कालगायतको अभिनय रहेको छ ।

५. म यस्तो गीत गाउँछु

सुदर्शन थापा र नायिका पूजा शर्माले बनाएको ‘म यस्तो गीत गाउँछु’ चलचित्र सफल चलचित्रमा पर्छ । चलचित्रमा पल शाह र पूजा शर्माको जोडी रहेको थियो । चलचित्रका सबै गीत हिट भएका थिए । पूजा र सुदर्शन थापाले यसअघि बनाएको चलचित्र ‘प्रेमगीत’ सफल थियो ।

६. घामपानी

पत्रकार दीपेन्द्र लामाले निर्देशन गरेको ‘घामपानी’ चलचित्र सफल चलचित्रमा पर्छ । दयाहाङ राई र केकी अधिकारीको अभिनय रहेको ‘घामपानी’ लाई मौलिक नेपाली कथावस्तु भएकाले पनि दर्शकले खुबै मन पराएका हुन् । चलचित्रबाट दयाहाङ र केकीले खुबै तारिफ पाएका थिए । चलचित्रबाट निर्माताले एक करोड हाराहारीमा नाफा कमाएको बताइन्छ ।

७. ऐश्वर्य

२०७४ सालको हिट हुने चलचित्रमा ‘ऐश्वर्य’ पनि पर्छ । दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, दिपीका प्रसाई र प्रशान्त ताम्राकारको मुख्य भूमिका थियो । चलचित्रबाट दिपीका र प्रशान्तले निकै चर्चा बटुले । अर्जुन श्रेष्ठ र किरण राना उप्रेतीको लगानी रहेको चलचित्रकोको गीत ‘तिमी रोएको पल’ निकै हिट रह्यो ।

८. फाटेको जुत्ता

थोरै लगानीमा बनेको ‘फाटेको जुत्ता’ वर्षकै सफल चलचित्रमा पर्छ । सौगात मल्ल, प्रियंका कार्की र कामेश्वर चौरासियालगायतको अभिनय रहेको चलचित्रलाई अर्जुन कुमारले बनाएका हुन् । पहिलोपल्ट चलचित्र निर्देशनमा लागेका निकेश खड्काले खुबै तारिफ पाए । चलचित्रको ‘आईएम भेरी सरी’ बोलको गीत हिट रहेको थियो । जसलाई बलिउड गायक प्रवेश मल्लिकले गाएका थिए ।

९. झ्यानाकुटी

निशा अधिकारीले निर्माण गरेको पहिलो चलचित्र ‘झ्यानाकुटी’ वर्षकै सफल चलचित्रमा पर्छ । कमेडी जनराको चलचित्रलाई सिमोश सुनुवारले निर्देशन गरेका हुन् । सौगात मल्ल, बेनिशा हमाल, पुष्कर गुरुङ ,सुमी मोक्तानलगायतको अभिनय रहेको चलचित्रबाट सौगात र बेनिशाले निकै चर्चा कमाएका तिए । चलचित्रले साढे दुई करोडको व्यापार गरेको थियो ।

१०. कृ

होस्टेल, जेरी, गाजलु, ड्रिम्सदेखि ‘कृ’ सम्म अनमोल केसीले गरेका सबै चलचित्र हिट भएका छन् । ‘कृ’ ले यस वर्ष करिब ६ करोड रुपैयाँ कमाएको बताइन्छ । चलचित्रको लागत साढे तीन करोड भएकाले धेरै नाफा हात नपरे पनि चलचित्रको व्यापार भने राम्रो मान्न सकिन्छ । चलचित्रमा अनमोल र अदिती बुढाथोकीको मुख्य भूमिका थियो । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

११. कान्छी

चार वर्षपछि चलचित्रमा ‘कमब्याक’ गरेकी श्वेता खड्का अभिनित ‘कान्छी’ वर्षकै सफल चलचित्रमा पर्छ । आकाश अधिकारी निर्देशित ‘कान्छी’ मा दयाहाङ राई र श्वेता खड्काको जोडीलाई दर्शकले खुबै मन पराए । चलचित्रले तीन करोड जतिको व्यापार गरेको थियो । आकाश र श्वेताले यसअघि ‘कोहीनूर’ चलचित्र बनाएका थिए । जसले १४ करोडको व्यापार गरेको थियो । ‘कान्छी’ अहिले पनि सिनेमा हलमा लागिरहेको छ ।

१२. शत्रु गते

वर्षको अन्तिमतिर सर्वाधिक कमाउने चलचित्रमा ‘शत्रु गते’ पर्छ । मह सञ्चारको ब्यानरमा निर्माण गरिएको ‘शत्रु गते’ तेस्रो सातामा सिनेमा हलमा लागिरहेको छ । चलचित्रले तीन दिनमै साढे तीन करोडको व्यापार गरेको थियो । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा अभिनित ‘शत्रु गते’ ले अहिलेसम्म साढे आठ करोडको व्यापार गरेको निर्माण पक्षको भनाइ छ । चलचित्रको निर्देशन प्रदीप भट्टराईले गरेका हुन् । चलचित्रका सबै गीत लोकप्रिय छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 10 =