तीनदेखि पाँच वर्षभित्र काठमाडौं उपत्यकाभरि मोनोरेल तथा मेट्रोरेल, देशका कहाँ कहाँ रेलमार्गको सपना छ ?

  • 239
  •  
  •  
  •  
  •  
    239
    Shares

काठमाडौं, २ वैशाख । पार्टी एकताको अन्तिम तयारीमा रहेका एमाले र माओवादी केन्द्रले काठमाडौं उपत्यकाभरि मोनोरेल र मेट्रोरेल बनाउने निर्णय गरेका छन् । केपी ओली नेतृत्वमा वाम गठबन्धनको सरकार बनेसँगै एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले त्यस्तो प्रतिवेदन तयार गरेको हो । सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाइसकिएको छ ।

सो कार्यदलले पाँच वर्षभित्र गरिने विकासको फ्रेमवर्क नै तयार गरेको छ । जसमा महत्वाकांक्षी ठूल्ठूला परियोजना निर्माण गरिने उल्लेख छ । रेलमार्ग निर्माण आफैंमा धेरै खर्चालु हुन्छ । एक किलोमिटर रेलमार्ग निर्माण गर्दा डेढदेखि साढे चार अर्ब रुपैयाँसम्म खर्च हुने रेल

विभागका अधिकारीहरूको भनाइ छ । नेपालको भौगोलिक अवस्थाका कारण जुनसुुकै रेलमार्ग निर्माण गर्दा पनि अर्बौअर्ब खर्च लाग्ने हुन्छ । जुन अहिलेको नेपालको आर्थिक अवस्थाले धान्न सक्ने अवस्था छैन । तर, वाम गठबन्धनले समृद्ध नेपालका लागि तयार पारेको प्रतिवेदनमा रेलमार्ग निर्माण गर्नेबाहेक अरु केही उल्लेख छैन ।

प्रधानमन्त्री ओलीले मुलुकका प्रायः कार्यक्रममा रेल चलाएर छाड्ने बताउँदै आएका छन् । उनले हालै सम्पन्न तीन दिने भारत भ्रमणका क्रममा समेत वीरगन्जदेखि काठमाडौंसम्म रेल चलाउने सहमति गएर आएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले पहिलो दल बन्ने निश्चित भएपछि ओली रसुवागढी पुगेर ‘ऊ त्यहाँबाट चीनको रेल आउँछ’ भनेर तस्बिर खिचाएका थिए ।
कहाँ कहाँ रेलमार्ग बनाउने ?
० काठमाडौं उपत्यकामा मोनोरेल तथा मेट्रोरेल तीनदेखि पाँच वर्षभित्र निर्माण गर्ने ।
० काठमाडौंको चक्रपथभित्र विष्णुमति, बागमती, धोबीखोला र मनोहरा करिडोर र बालाजु–सूर्यविनायक खण्डमा मोनोरेल निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने ।
० काठमाडौं उपत्यकाको चक्रपथ वरिपरि, बुढानिलकण्ठदेखि सानेपा र साँगा भन्ज्याङदेखि थानकोटसम्म भूमिगत साथै स्थलगत समेतको मेट्रोरेल निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने ।
० पूर्वपश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गको समानान्तर रेलमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने ।
० रसुवागढी–काठमाडौं–पोखरा लुम्बिनी रेलमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने ।
० काठमाडौं वीरगञ्ज रेलमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने ।
० भित्री मधेसको समानान्तर हुने गरी पूर्व पश्चिम कृषि तथा औद्योगिक रेलमार्गको सर्भे तथा विस्तृत परियोजना प्रतिवेदन तीन वर्षभित्र तयार गर्ने ।
० हिमाली राजमार्गको समानान्तर दार्चुलाको टिंकरदेखि ताप्लेजुङको पाथिभरासम्मको पूर्वपश्चिम पर्यटन रेलमार्गको सम्भाव्यता अध्ययन पाँच वर्षभित्र सम्पन्न गर्ने ।
० ठूला नदी प्रणालीहरूमा जलमार्ग निर्माणको कार्य अघि बढाउने ।
० कोसी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र बाह्य जलमार्गको सम्भाव्यता अध्ययन गरी जलमार्गको विकास गर्ने ।
० छिमेकी मुलुकहरूसँगको समन्वयमा समुद्रमा नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने कार्य अघि बढाउने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 65 = 73