ओली–प्रचण्ड ‘निर्णायक’ वार्ता निष्कर्षविहीन, एमालेले बोलायो स्थायी समितिको आकस्मिक बैठक

  • 37
  •  
  •  
  •  
  •  
    37
    Shares

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘वान टु वान’ वार्ता निष्कर्षविहीन टुंगिएको छ । पार्टी एकताको विषयमा दुवै नेताबीच आज ‘निर्णायक’ वार्ता हुने बताइए पनि भोलि पार्टी एकता संयोजना समितिको बैठक बस्ने गरी ओली र प्रचण्ड छुट्टिएका छन् ।

ओली र प्रचण्डलबीच प्रधानमन्त्री निवासमा भएको वार्ता झन्डै तीन घन्टा चलेको थियो । ओलीसँग प्रचण्डले ५०–५० प्रतिशतका आधारमा एकता हुनुपर्ने, चुनाव चिह्न सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने, जनयुद्धलाई दस्तावेजमा उल्लेख गर्नुपर्ने आफ्नो अडान राखेका थिए । सो विषयमा ओलीले कुनै निर्णय नदिएको बरु आजै बस्ने पार्टी स्थायी समिति बैठकमा छलफल हुने जानकारी दिएको बालुवाटार स्रोतले बतायो ।
प्रचण्डले प्रधानमन्त्री ओलीसँग राखेका मागका विषयमा छलफल गर्न सोमबार अपराह्न एमाले स्थायी समितिको बैठक बोलाइएको छ । सो विषयमा एमालेले औपचारिक निर्णय लिने बताइएको छ ।

आफूले राखेका मागका विषयमा प्रचण्डले ओलीसँग लिखित सहमति हुनुपर्ने प्रस्ताव गरेको बुझिएको छ । तर, ओलीले कुनै पनि हालतमा लिखित सहमति नगर्ने जानकारी गराएको बताइन्छ । प्रचण्डले पाँच वर्षमध्ये पछिल्लो दुई वर्ष आफूलाई प्रधानमन्त्री दिनुपर्ने माग राखेको बुझिएको छ । यी सबै विषय वाम गठबन्धन बन्ने बेला ओलीले मौखिक सहमति जनाएको तर लिखित गर्न मानेका थिएनन् । माओवादी केन्द्रभित्र अहिले सबै विषयमा लिखित नै सहमति हुनुपर्ने धारणा जबर्जस्त रूपमा उठेको छ ।

आरामका लागि भन्दै आइतबार सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्ड उतैबाट बालुवाटार पुगेका थिए । एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते पार्टी एकताको घोषणा गर्ने भनिए पनि दुवै दलका नेताबीच पछिल्ला १० दिनमा यसबारे कुनै पनि छलफल भएको थिएन । एमाले नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको संगठन तथा विधान मस्यौदा समितिल आ–आफ्ना प्रतिवेदन शीर्ष नेतालाई बुझाइसकेका छन् । त्यसयता एकता प्रक्रिया अवरुद्ध हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

56 − = 52