मोदीले गरे पशुपतिमा पुजा, नेपालका प्रधानमन्त्री किन जाँदैनन् ?

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

काठमाडौं, २९ वैशाख । काठमाडौंमा रहेको हिन्दूधर्मालम्बीहरुको आराध्यदेव पशुपतिनाथको नेपाल भ्रमणमा आएका विदेशी राष्ट्र र सरकार प्रमुखहरुले प्रमुखताका साथ दर्शन गर्ने गरेका छन् ।

आज मात्रै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको मन्दिरमा पुगेर विशेष पूजाअर्चना गरेका छन् । यसअघि नेपाल भ्रमणमा आएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीले पनि पशुपतिनाथको दर्शन गरेका थिए । नेपाल भ्रमण गर्ने भारतका १३ मध्ये नौ राष्ट्रपतिहरु, १४ मध्ये ९ प्रधानमन्त्रीहरूले पशुपतिनाथको दर्शन गरेका छन् ।

भारत अलवा अन्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुले पनि पशुपतिनाथको दर्शन गर्ने गरेका छन् । तर, नेपालका प्रधानमन्त्रीहरु भने पशुपतिनाथको दर्शन गर्न जाने गरेका छैनन् । हिन्दू भएर पनि पशुपतिनाथको दर्शन गर्न नेपालका प्रधानमन्त्री किन जाँदैनन् ?

धर्मनिरपेक्ष नेपालका आठ जना प्रधानमन्त्रीहरू मध्ये सुशील कोइराला एक जनाले मात्रै प्रधानमन्त्रीको हैसियतमा पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आफ्नो मुलुकमा रहेको ठूलो तिर्थस्थलमा नजाने नेपालका प्रधानमन्त्रीहरुले पशुपतिनाथप्रति बेवास्ता गरेका हुन कि भन्ने कतिपयले टिप्पणी समेत गर्दै आएका छन् ।

गणतन्त्र आउनु अघि प्रायःजसो राजाहरु पशुपतिनाथको दर्शन गर्न जाने गरेका थिए भने गणतन्त्र आएसँगै राष्ट्रपति शिवरात्री, तीज, लगायतको खास पर्वमा बाहेक जाने गरेका छैनन् । राष्ट्रपति भएलगत्तै डा. रामबरण यादव एक पटक पशुपतिनाथको दर्शन गर्न पुगेका थिए ।
राम्रो आर्थिक स्रोत मानिएको पशुपतिनाथको भेटीको विषयले एकताका राजनीतिक क्षेत्रमा हलचल ल्याएको थियो । यसलाई कतिपयले राजनीतिक हस्तक्षेपको रुपमा समेत विश्लेषण गरेका थिए । तर, पशुपतिनाथ मन्दिरको अवस्था, यसको आसपासको क्षेत्रमा बढ्न थालेको अतिक्रमण प्रति राष्ट्र तथा सरकार प्रमुखहरुले चासो दिने गरेका छैनन् ।

नेपाल भ्रमणमा आएका बाह्य देशका राष्ट्र तथा सरकार प्रमुखले प्रमुखता दिएर दर्शन गर्ने पशुपतिनाथको दर्शन गर्न या यसको संरक्षण प्रति नेपालका कार्यकारी रहेका प्रधानमन्त्रीहरुले बेवास्ता गर्नु दुखद् कुरा हो । मुलुक धर्म निरपेक्ष राष्ट्र हुन सक्छ, तर राष्ट्र एवम् सरकारले आफ्नो देश भित्र रहेका गौरवका तिर्थस्थल प्रति बेवास्ता गर्नु उचित होइन । धार्मिक हिसावले मात्रै होइन पशुपतिनाथ एवम् पाशुपत क्षेत्रको भौतिकलगायत अवस्थाको बारेमा जानकारी लिन समेत निरीक्षण गर्न प्रधानमन्त्रीहरु गएका छैनन् ।

भारत लगायतका मुलुकबाट नेपाल भ्रमणमा आएका राष्ट्र तथा सरकारले प्रमुखले पशुपतिनाथको दर्शनलाई प्रमुखता दिएपनि नेपालका प्रधानमन्त्रीहरु किन पशुपतिनाथको दर्शन गर्न जाँदैनन् ? यो प्रश्न बारम्बार उठ्ने गरेको छ ।

२५ करोड भारु के भयो ?

मोदीले यसअघि २०७१ साउन १८ गते पनि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका थिए । पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि २५ करोड भारु र सरसफाइका लागि पाँच करोड रुपैयाँ सहयोग घोषणा गरेका थिए ।

मोदी चार वर्षको अवधिमा तेस्रो पटक नेपाल भ्रमणमा आउँदा पनि उक्त सहयोग नेपालले अझैसम्म पाएको छैन ।  मोदीले घोषणा गरेको सहयोग प्रस्तावमा अर्थ मन्त्रालयले अनुमति नदिएको बताइएको छ । तर पवित्र पाशुपत क्षेत्रमा भारतले बनाइदिएको अत्याधुनिक धर्मशाला भने सम्पन्न हुने अन्तिम चरणमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

27 − = 21