समाजकल्याण परिषद्का निर्देशक बस्नेतको दोहोरो नागरिकता, मन्त्रीले च्यापेपछि अनुसन्धान प्रभावित

  • 66
  •  
  •  
  •  
  •  
    66
    Shares

काठमाडौं, ३१ वैशाख । दोहोरो नागरिकता लिएको आरोपमा समाजकल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेत छानबिनमा परेका छन् । तर, विभागीय मन्त्री थममाया थापा मगरले काखी च्याप्दा बस्नेतविरुद्धको अनुसन्धान फितलो हुन पुगेको बताइएको छ ।

दोहोरो नागरिकता लिएको भन्दै बस्नेतविरुद्ध वैशाख ७ गते लिखित उजुरी परेको थियो । तर, महिला बालबालिका, महिला र जेष्ठ नागरिकमन्त्री थापामगरले उनलाई कारबाहीको सट्टा योजना शाखा र प्रशासन शाखाको दोहोरो जिम्मेवारी दिएपछि परिषद्मा असन्तुष्टि बढेको छ ।
‘कीर्ते नागरिकताको अभियोगमा छानबिनमा राखेर कारबाही गर्नुपर्ने मानिसलाई उल्टै महत्वपूर्ण जिम्मेवारी दिइएको छ,’ परिषद् स्रोतले भन्यो, ‘मन्त्री र सचिवबीच पैसाको चलखेल नभएको भए किन थप जिम्मेवारी दिइयो, शंकास्पद छ’ स्रोतले भन्यो ।

पहिलो नागरिकताअनुसार सेवामा प्रवेश गरेकाले अवकाश पाइसक्नुपर्ने व्यक्ति दोस्रो नागरिकताअनुसार पदमै रहेको भन्दै नवीन योगीले गत वैशाख ७ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी गरेका थिए । योगीको उजुरीमा निर्देशक बस्नेतले तत्कालीन सुनाकोठी गाविसबाट दुईवटा नागरिकता लिएको प्रमाणको प्रतिलिपि राखिएको छ । झुटो नागरिकता विवरण बनाएर एक वर्ष बढी जागिर खान खोजेको आरोप लगाउँदै योगीले छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

उजुरीमा उल्लेख भएअनुसार बस्नेतले सुरुमा लिएको नागरिकता प्रमाणपत्रको नम्बर १२६९/०३५/३६ रहेको छ भने अर्को नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा भने २/२०५ नम्बर उल्लेख छ । निर्देशक बस्नेतले नागरिकतामा दुईवटा नम्बर मात्रै होइन, प्रतिलिपि बनाउँदासमेत जन्ममिति एक वर्ष घटाइएको उजुरीमा उल्लेख गरिएको छ । जसअनुसार ०३५ चैत २८ गते नागरिकता लिँदा सो नागरिकतामा १८ वर्ष उमेर खुलाइएको देखिन्छ भने दोस्रोपटक २०४४ माघ ११ गते प्रतिलिपि बनाउँदा २०१८ असार १५ को मिति राखिएको छ । उक्त उजुरीपछि जिल्ला प्रशासन कार्यालय, ललितपुरले ४७७२ नम्बरमा दर्ता गरेको थियो ।

नागरिकतामा फरक फरक जन्ममितिका कारण बस्नेतलाई बर्खास्त गर्नुपर्ने माग योगीले राखेपछि उनलाई जिल्ला प्रशासन कार्यालयले पत्र काटेर बयान लिएको छ । तर, प्रजिअलाई समेत प्रभावित पारेर कीर्ते काण्डबाट उम्कन खोजिरहेका बस्नेतलाई मन्त्री थापाले काखी च्याप्दै थप जिम्मेवारी दिएकी छन् ।

मन्त्रीको आडमा बस्नेतले जिल्ला प्रशासन कार्यालयलाई प्रभावित पार्न थालेपछि राष्ट्रिय सतर्कता केन्द्रमा अर्को उजुरी परेको छ । जसअनुसार सतर्कता केन्द्रले परिषद्मा वैशाख १० गते पत्र लेखी सोबारे जानकारी दिन भनिएको छ ।

‘दोहोरो नागरिकता लिई आर्थिक अनियमितता एवं भ्रष्टाचार गर्ने समाजकल्याण परिषद्को कामु निर्देशक शिवबहादुर बस्नेतलाई कारबाही गरिपाउँ भनी यस केन्द्रमा प्राप्त उजुरी निवेदनको छायाँप्रति यसै साथ संलग्न छ,’ केन्द्रको पत्रमा भनिएको छ । केन्द्रका शाखा अधिकृत ध्रुवप्रसाद ढोडारीले पत्र काटेको १० दिन भइसक्दा पनि परिषद्ले अझै जवाफ दिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 7