किन बन्द भयो जनकपुर‌-अयोध्या बस सेवा?

  • 132
  •  
  •  
  •  
  •  
    132
    Shares

काठमाडौँ, २ जेठ । नेपाल र भारतका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेको जनकपुरधामदेखि अयोध्यासम्मको बस सेवा एकपटक चलेर बन्द भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीहरूले हरियो झन्डा देखाएर उक्त बस सेवाको आरम्भ गरेका थिए।

तर नेपालको जनकपुरलाई ‘रामायण सर्किट’ भनिएको धार्मिक पर्यटन मार्गमा जोड्ने भनी प्रचारित उक्त बस सेवा प्राविधिक प्रक्रियाहरू पूरा हुन बाँकी भएकाले हाललाई रोकिएको अधिकारीहरूले जनाएका छन्।

गत शुक्रवार जनकपुरधामबाट अयोध्याका लागि दुईवटा बस गएका थिए। जनकपुरबाट अयोध्या गएका दुईवटै बस फर्केका छन् भने अर्को बस सञ्चालन भएको छैन। सो बसबाट भारतको अयोध्या पुगेर जनकपुर फर्केका यात्रुहरूले भने खुसी व्यक्त गरेका छन् ।

शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिर परिसरबाट संयुक्त रूपमा शुभारम्भ गरेको उक्त बस सेवा नियमित रूपमा सञ्चालन हुन केही महिना लाग्ने बताइएको छ।जनकपुर

बस सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रियाहरू पूरा हुन बाँकी नै रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला उक्त बस सेवा स्थायी रूपमा नभई साङ्केतिक रूपमा मात्र सुरु गरिएको बताएका छन्।

“अस्ति त हतारमा ‘ल, सिम्बोलिक रूपमा चलाइहालौँ’ भन्ने कुरा भो, वर्कआउट गर्न बाँकी नै छ धेरै, यो रूटका बारेमा,” प्रवक्ता शर्माले जानकारी दिए। जनकपुर-अयोध्या बस सेवा स्थायी रूपमा सञ्चालन गर्न पूरा गर्नु पर्ने औपचारिक प्रक्रिया धेरै नै बाँकी रहेको उनको भनाइ छ।

‘रामायण सर्किट’ अन्तर्गत राम र सीताको चरण परेका स्थलहरुलाई जोड्ने क्रममा सीतामढी भएर अयोध्याका लागि बस सेवा सञ्चालन हुने बताइएको थियो।

जनकपुर अयोध्या बस

यो योजनालाई आफूलाई “प्रधान तीर्थयात्री” का रूपमा प्रस्तुत गरेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलो महत्त्वका साथ आफ्नो सम्बोधन क्रममा उल्लेख गरेका थिए।

समय

जनकपुरधामबाट भारतको सीतामढी हुँदै अयोध्या जान करिब १२ घण्टा लाग्छ। सीतामढी भएर अयोध्यासम्मको यात्रा गर्न पाँच सय ४४ किलोमिटरको यात्रा गर्नुपर्छ। बसको भाडा, बस रोकिने स्थलहरू, बस सेवा नेपाली अथवा भारतीय कुन कम्पनीले सञ्चालन गर्ने लगायतका प्राविधिक निर्णयहरू भइसकेको छैनन्।

योजनाअनुसार हाल काठमाण्डू-दिल्लीबीच सञ्चालन भइरहेको बस सेवा सञ्चालन विद्यमान नियमानुसार नै जनकपुर-अयोध्या बस पनि चल्ने बताइएको छ।

नेपाल र भारतका दुई चर्चित धार्मिक नगरहरूबीच नियमित रूपमा बस सेवा सञ्चालन भएमा तीर्थालु र धार्मिक पर्यटकहरूको आवागमन बढ्ने अपेक्षा गरिएको छ ।बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 36