ढुंगेलको रिहाइबाट बाबुराम हर्षित, बुद्धिजीवीहरू भन्छन्, गणतन्त्र हो कि हत्यारालाई आममाफी दिवस ?

  • 500
  •  
  •  
  •  
  •  
    500
    Shares

काठमाडौं, १५ जेठ । उज्ज्वन श्रेष्ठ हत्या अभियोगमा जेलमा रहेका बालकृष्ण ढुंगेल रिहा भएकोमा नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई हर्षित भएका छन् । उनले ढुंगेललाई खुला संसारमा स्वागत समेत गरेका छन् ।

गणतन्त्र दिवसको दिन राष्ट्रपतिबाट आममाफी पाई कारागार मुक्त भएलगत्तै बाबुरामले ट्विटमार्फत स्वागत गरेका हुन् । ‘जनयुद्धकालीन मुद्दामा शान्ति सम्झौताको मर्म र भावनाविपरीत जेलमा राखिनुभएका बालकृष्ण ढुंगेललाई खुला संसारम हार्दिक स्वागत ! अब सप्तरी कारागारमा राखिनु भएका अनिल साह (अरूणकुमार साह) लगायतका क्रान्तिकारीहरूलाई पनि छिटो रिहा गरियोस्,’ बाबुरामले लेखेका छन् ।

बाबुराम प्रधानमन्त्री भएका बेला ढुंगेललाई आममाफी दिन उनले राष्ट्रपति डा.रामवरण यादवकहाँ पत्र पठाएका थिए । तर, त्यतिबेला सर्वोच्च अदालतले रोकिदिएको थियो । अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै मन्त्रिपरिषद् बैठक राखी ढुंगेलको बाँकी कैद सजाय माफी दिई राष्ट्रपतिकहाँ पठाइएको थियो । न्यायालयमा मुद्दा विचाराधीन हुँदाहुँदै सरकारले आममाफी दिएपछि बुद्धिजीवी एवं कानुन व्यवसायीहरूले विरोध गरेका छन् ।

‘बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारको विवादास्पद निर्णयले संक्रमणकालीन न्यायलाई मात्रै चुनौती दिएको छैन, विधिको शासन र सर्वोच्च अदालतको फैसलालाई पनि चुनौती दिएको छ ! उक्त विवादास्पद निर्णयलाई अनुमोदन गरी राष्ट्रपतिद्वारा अर्को अक्षम्य गल्ती ! गणतन्त्र हो कि हत्यारालाई आममाफी दिवस ?,’ राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले ट्विटमार्फत भनेका छन् ।

यसैगरी, नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले पूर्व एमालेहरूप्रति प्रश्न उठाएका छन् । ‘उज्जनकुमारका परिवारका पीडितहरू के सोच्दै होलान् ? सावित्री श्रेष्ठलाई साथ दिएर अभियानमा लागेका पूर्वएमालेका साथीहरु के सोच्दै होलान् ? फैसला गर्ने न्यायाधीशहरुको मनमा के भाव आएको होला ? उस्तै मुद्दामा जेलमा बसिरहेकाहरुलाई के लागेको होला ? राष्ट्रपतिका सल्लाहकार सुशील दाइ के सोच्दै होलान् ? सत्ता,’ दाहालले लेखेका छन् ।

मंगलबार बिहान सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायत गणतन्त्र दिवस समारोहमा सहभागी भइरहँदा मानवअधिकारकर्मी एवं कानुन व्यवसायीहरू ढुंगेललाई आममाफी दिइएको विरोधमा कालो ब्यानरसहित प्रदर्शनमा सहभागी भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =