तरकारी व्यापारले फेरियो सियावतीको जीवन

  • 145
  •  
  •  
  •  
  •  
    145
    Shares

लहान, १९ जेठ । कुनै बेला घरबाट निस्कन र कसैसँग हतपति बोल्नसमेत लजाउने सिरहा लक्ष्मीपुर गाउँपालिका–६ सलोखरीकी सियावतीदेवी रामलाई अहिले बजारमा तरकारी पु¥याउन भ्याइनभ्याई भएको छ ।

सामान्य लेखपढ गर्नसमेत नजानेकी सियावतीलाई बिहान हुनेबित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र नजिकको शहर बजारमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ ।

एक वर्षअघिसम्म पूँजीको अभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी उनी अहिले गाउँ नजिकैको शहर बजारमा तरकारी खरिद बिक्री गरेर राम्रो आम्दानी गर्दै आएकी छिन् । आयआर्जनको गतिलो आधारसँगै सियावतीको जीवनमा परिवर्तनमात्र होइन, परिवारको पहिचानसमेत फेरिएको छ ।

आयआर्जनको ठोस आधार नपाउँदा केही वर्षअघिसम्म गाउँकै साहु महाजन कहाँ बनिबुतो गर्दै आएको विगतको अतित सम्झिँदै उनी भनिन्, “पहिले ज्याला मजदूरीमा सधँै काम गरेर जीविकोपार्जन गरिरहेकी थिएँ, बालबच्चालाई पालनपोषण गर्न धौ–धौ हुन्थ्यो ।”

ज्याला मजदूरीमा दिनभरि काम गर्दा मात्र तीन किलो धान ज्याला पाइन्थ्यो, त्यसकारण परिवार चलाउन समस्या हुन्थ्यो, सियावतीले भनिन्, “तर अब मेरो त्यो दुःखको दिन कटेको छ ।” अहिले तरकारी व्यापार गरेरै पाँचजना परिवारको गुजारा चलाउँदै आएकी छु, उनी भनिन् ।

दुई वर्षदेखि तरकारी व्यवसाय शुरु गरेकी उनले परिवारको गुजारा चलाउन मात्रै होइन, छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएकी छन् । त्यतिमात्रै होइन, त्यही तरकारी व्यापारबाट घडेरीका लागि १० धुर जग्गासमेत जोडेकी छन् ।

सधँै घरबाट निस्कन र बोल्न लजाउने स्वभावकी सियावतीको जीवनमा आएको यो परिवर्तन कुनै चमत्कारिक शक्तिबाट नभई समग्र विकास सेवा केन्द्रले सञ्चालन गरेको सशक्तीकरण कार्यक्रमबाट आएको हो ।

शुरु शुरुमा म धेरै लजाउँथे, के गराँै नगरौँ भन्ने थाहै थिएन, सधैँ मजदूरी गरेर जेनतेन परिवारमात्रै पाल्थेँ, सियावतीले भनिन्, “तर, जब समग्र सामुदायिक विकास केन्द्रले गाउँमै कार्यक्रम सञ्चालन गरे, तबदेखि मेरो जीवनमा परिवर्तन आयो ।”

केन्द्रकै कार्यक्रमअन्तर्गत गाउँकै महिलाको सक्रियतामा गठन भएको मिलन सामाजिक परिवारमा आबद्ध भएकी उनी त्यही सामाजिक परिवारको सहयोगमा दुई वर्षअघिदेखि तरकारी व्यवसाय शुरु गरेको बताउँछिन् ।

सिरहाको लहान, गोलबजार, धनगढीमाईलगायत बजारबाट तरकारी खरिद गरी लक्ष्मीपुर, पोखरभिण्डा, पतारीलगायतका बजारमा तरकारी व्यापार गर्दै आएकी सियावती भन्छिन्, “अहिले त्यही तरकारी व्यापारबाट दैनिक रु ३०० देखि रु एक हजारसम्म नाफा भइरहेको छ ।”

आफू आबद्ध भएको सामाजिक परिवारबाट रु १५ हजार ऋण लिएर शुरु गरेको तरकारी व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गरेर समूहमै बचत गर्दै आएको उनी बताउँछिन् ।

शुरु शुरुमा तरकारी व्यापार गर्न लाज लाग्थ्यो, उनी भनिन्, “तर, समग्र विकासको चन्देश्वर राम सरले तरकारी किनबेच गर्ने तरिका बताउनुका साथै एक दुई हटियासँगै तरकारी किन्नबेच गर्न सहयोग गरेपछि विस्तारै मलाई पनि हिम्मत आयो र लाज मानेरै भए पनि मैले तरकारी किनबेचलाई निरन्तरता दिँदै आएँ ।”

यसरी विस्तारै लाज हट्दै गएको र प्रगतिको ढोकासमेत खुल्दै गएको उनको कथन थियो ।

आफ्नो तरकारी व्यापार प्रगतिको पथमा अघि बढ्दै गएपछि परिवारमा हुँदै आएको झैभगडासमेत रोकिएको सुनाउँदै सियावतीले अहिले आफ्नो पति रामउदगारले पनि आफ्नो व्यापारमा साथ दिँदै आएको बताउनुभयो ।

पहिला कुनै काम गर्दा साहु महाजनबाट मासिक ब्याजमा ऋण लिनुपर्ने बाध्यताबाट समेत मुक्त भएकामा खुसी व्यक्त गर्दै उनी भनिन्, “तरकारी व्यापारका कारण अहिले साहु महाजनको ऋणबाट मुक्ति पाएको मात्र होइन, गरिबी जीवनबाट समेत छुटकारा पाएको छु ।”

जीवनसंगीनीको साहसिक कदमबाट उत्साहित हुनुभएका रामउदगार भन्नुहुन्छ, “मैथिलीमा एउटा भनाइ छ, जेने करे कपार, से करे व्यापार (जे सम्भव छैन भाग्यबाट त्यो सम्भव छ, व्यापारबाट) हो रहेछ, त्यो मैले महसुस गरेँ ।” श्रीमतीको तरकारी व्यापारबाट आफू उत्साहित भएको रामउद्गारको कथन छ ।

यसरी सियावतीदेवी जस्तै महिला घरेलु तथा साना व्यापार व्यवसायमार्फत आत्मनिर्भर बन्ने बाटोमा अग्रसर भए समाजमा छिट्टै परिवर्तन आउन सक्ने स्थानीय बुद्धिजीवीको भनाइ छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 7 = 1