सिईओ सिटौलाका कारण कृषि विकास बैंक अस्त–व्यस्त, करोडौंको घोटाला सामसुम पार्न आरोपीलाई संरक्षण

  • 56
  •  
  •  
  •  
  •  
    56
    Shares

काठमाडौं, २३ जेठ । प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाका कारण कृषि विकास बैंक यतिखेर अस्तव्यस्त बन्न थालेको छ । सरकारको ५१ प्रतिशत सेयर रहेको बैंकमा सिईओ सिटौलाले सिनियरलाई छाडेर जुनियर कर्मचारीलाई डीजीएम र विभागीय प्रमुखको जिम्मेवारी दिएपछि तीव्र असन्तुष्टि बढेको छ ।

नेपाल राष्ट्र बैंकबाट अनिवार्य अवकाश पाएलगत्तै नेपाली कांग्रेसका नेता डा.रामशरण महतको दबाबमा कृषि विकास बैंक सञ्चालक समितिको बैठकले सिटौलालाई चार वर्षका लागि सिईओ नियुक्त गरेको थियो । उनको कार्यकाल अब धेरै बाँकी छैन । तर, सिईओको अन्तिम कार्यकालतिर भने सिटौलाले धेरै कांग्रेसीको चित्त दुःखाएका छन् । सिटौलाको कार्यशैलीलाई लिएर कांग्रेस मात्र होइन, कम्युनिस्ट निकट कर्मचारी पनि आगो भएका छन् ।

सिटौलाले १०औं तहका सबैभन्दा सिनियर कर्मचारी सुरेन्द्र अर्याललाई पाखा लगाएर उनीभन्दा जुनियर कर्मचारीलाई कामु डीजीएम दिएका छन् । यसैगरी, कांग्रेसी भएको भन्दै सिनियर अजय रिमाललाई बाइपास गर्दै वामपन्थी कर्मचारीहरू सुदीप दाहाल, रमेशराज रेग्मी, प्रकाश कँडेल, गोपाल रेग्मी र शंकर अर्याललाई बैंकको प्रबन्धक बनाएका छन् । जसलाई लिएर तीव्र असन्तुष्टि बढेको छ ।

यस्तै, उनी कर्पोरेट बैंकमा भएको चार करोड बढीको घोटाला काण्डमा मुछिएका छन् । कमसल धितो देखाएर चार करोड बढीको मूल्यांकन गरेको काण्डमा सिईओ सिटौलाले हस्ताक्षर गरेका छन् । जुन काण्डमा कर्पोरेट प्रबन्धक जोन बस्नेत निलम्बनमा परिसकेका छन् । थोरै धितो देखाएर धेरै कर्जा निकाल्न सहयोग गर्ने मूल्यांकनकर्ता पौडेल थरका एक व्यक्ति श्रीमतीसहित अस्टे«लिया उडिसकेका छन् ।

बैंकका कर्मचारीले उनीमाथि बैंकको स्रोत साधनलाई प्रभावकारी, योजनाबद्ध, संस्थागत प्रणालीअनुरूप चलाउन नसकेको, व्यवसाय केन्द्रहरूमा योग्य, सक्षम प्रबन्धक र दरबन्दीअनुसार कर्मचारी पूर्ति गर्न नसकेको, कर्पोरेट प्रबन्धकमा एक वर्षभित्र तीनजना नियुक्ति गरेको, कन्फर्म विभागीय प्रमुखहरूलाई विभागबाट बाहिर राखेर निमित्तबाट विभाग चलाउन खोजेको, आर्थिक वर्षको पिक आवरमा प्रबन्धकहरूको जथाभावी सरुवा गरेको, गलत कार्यशैलीलाई बढावा दिएको, कर्पोरेट बैंकमा भएका कर्जाको घोटालामा संदीग्ध कर्मचारीलाई कारबाही नगरी संरक्षण दिएको, लगातार देश–विदेशको भ्रमण गरी आर्थिक भार थोपरेकोलगायतका आरोप लगाएका छन् ।

बलात्कारका अभियोगीलाई समेत सिटौलाको साथ
सरकारले प्रतिवादी बनाएर दायर गरेको मुद्दाको छिनोफानो नहुँदै कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आरोपीहरू गेहनाथ पौडेल, थानेश्वर पन्थी र रमेश कुमार भट्टराईलाई निलम्बन गर्ने प्रशासनको प्रस्ताव अस्वीकार गरी बैंकमा हाजिर गराएका थिए । महिला ऋणी टीकामाया गोलेमाथि यौनशोषण गरेको आरोप लागेका उनीहरूविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ र उनीहरूसँगै गत पुस १६ गते पक्राउ परेका ड्राइभर भाइकाजी महर्जन पुर्पक्षका लागि थुनामै छन् ।

उनीहरूले ऋणी गोलेमाथि शारीरिक, आर्थिक शोषणलगायतका विविध शोषण गरेको पीडित महिलाको आरोप छ । उनीहरूमाथि प्रहरीले अनुसन्धान सुरु गरेपछि बंैकलाई पनि त्यसको औपचारिक जानकारी गराएको थियो । उनीहरू चारजनामध्ये पन्थी र महर्जन गत भदौको अन्तिम साता एकपटक पक्राउ परेर छुटेका थिए । दोस्रोपटक पक्राउ परेपछि उनीहरूलाई तत्काल निलम्बन गर्न विभागीय प्रस्ताव अघि बढाइए पनि सीईओ सिटौलाले निलम्बन गर्न मानेका थिएनन् ।

सरकारवादी भएर कर्मचारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिसकेपछि उनीहरू धरौटीमा छुटेका कारण देखाई पुरानै ठाउँमा काम गर्दा उनीहरूले गरेका गल्ती बदमासीका प्रमाणहरू नष्ट हुन सक्छन् र त्यही कारण उनीहरूलाई निलम्बन गरेर छानबिन गर्ने गरिन्छ । तर कृषि विकास बैंकले त्यसो नगरेको स्रोतले बतायो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 56