गृहमन्त्री थापा र भौतिक पूर्वाधारमन्त्री महासेठबीच द्वन्द्व सुरु, क्षेत्राधिकार मिचेको आरोप

  • 95
  •  
  •  
  •  
  •  
    95
    Shares

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी ओलीले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत लगेको भन्दै गृहमन्त्री रामबहादुर थापाले आपत्ति जनाएका थिए । उनले प्रधानमन्त्रीले गृहको क्षेत्राधिकार मिचेको भन्दै तीव्र असन्तुष्टि जनाए । तर, अहिले तिनै गृहमन्त्री थापा अन्य मन्त्रालयको क्षेत्राधिकारमाथि हस्तक्षेप गरिरहेका छन् ।

थापाले सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै मन्त्री रघुवीर महासेठले आपत्ति जनाएका छन् । यसअघि यातायात क्षेत्रको सिन्डिकेट तोड्दा पनि गृहमन्त्री थापाले नै जस पाएका थिए । अहिले फेरि निर्माण व्यवसायीमाथि कारबाहीको विषयलाई गृहमन्त्री थापाले प्रत्यक्ष रूपमा आफूलाई सामेल गराएका छन् । जबकि निर्माण व्यवसाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पर्छ ।

गृह मन्त्रालयका अधिकारीहरूले निर्माण कार्यका कतिपय विषय शान्ति सुरक्षासँग सम्बन्धित हुने तर्क अगाडि सारेका छन् । समयमा काम नगर्ने वा काममा अटेर गरिरहेका ठेकेदार कम्पनीहरूविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएको देखिएको गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत देशभरिकै त्यस्ता ठेकेदार कम्पनीको सूची संकलन गरिरहेको छ । गृहमन्त्रीको काम देशमा दैनिक प्रशासन चलाउने र शान्ति सुरक्षाको व्यवस्था लागू गर्ने हो । तर, अन्य मन्त्रालयका क्षेत्राधिकारमाथि हस्तक्षेप गर्न थालेपछि उनी पछिल्लो समय आलोचित हुन थालेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृहले आफ्नो क्षेत्राधिकार मिचेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । गृहले आफूहरूसँग आधिकारिक रूपमा कुनै सल्लाह नगरेको भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको भनाइ छ । उनले गृहमन्त्रीसमक्ष आफ्ना असहमति राख्ने जनाएका छन् । आयोजना समयमा सम्पन्न भयो भएन भन्ने अनुगमन तथा तिनीहरूलाई कालोसूचीमा राख्ने वा ठेक्का रद्द गर्नेसम्मको अधिकार भौतिक मन्त्रालयसँग रहेको छ ।

तर, गृह मन्त्रालयले भौतिक मात्र होइन, कृषि, शिक्षा, पुनर्निर्माण, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको आवश्यक सबै मन्त्रालयका सबै काममा गृहले पहल गर्न सक्ने उच्च अधिकारीहरूको दाबी छ । सरकारका कतिपय काममा अन्तर मन्त्रालय समन्वय नहुँदा समस्या देखिँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =