विकासको बाधक हिन्दु परम्परा’ भनेपछि बाबुरामको सामाजिक सञ्जालमा आलोचना, गालीगलौज मूर्खको हतियार हो

  • 2.2K
  •  
  •  
  •  
  •  
    2.2K
    Shares

काठमाडौं, २८ जेठ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई फेरि एकपटक विवादमा आएका छन् । आइतबार रातोपाटी अनलाइनको पाँचौं वार्षिकोत्सवमा उनले नेपालको धार्मिक संस्कृति विकास र समृद्धिको बाधक रहेको बताएपछि सो अभिव्यक्तिलाई लिएर उनको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको हो ।

अधिकांश फेसबुक र ट्विटर प्रयोगकर्ताले पूर्वप्रधानमन्त्रीसमेत भइसकेका व्यक्तिले हिन्दु धर्म संस्कृतिलाई विकासको बाधक भन्नुले उनको बौद्धिक व्यक्तित्वमाथि प्रश्नचिन्ह खडा भएको उल्लेख गरेका छन् । अझ बाबुराम क्रिस्चियन मेसिनरी र पश्चिमाको एजेन्डा लागू गर्न उनीहरूको पक्ष लिएर हिन्दु धर्ममाथि आक्रमणमा उत्रेको उनीहरूको भनाइ छ । राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले अब डा.बाबुराम भट्टराईको आवरणमा हिन्दु धर्म, मूल्य मान्यता र संस्कारमै प्रहार सुरु भएको छ भन्दै यो बाबुरामको ज्ञान र विवेक बोलेको अर्थमा मात्र बुझ्नु भूल हुनेछ भन्दै उनको आलोचना गरेका छन् ।

पूर्वराजदूत मधुरमण आचार्यले ‘हिन्दु धर्म विकासको बाधक’ भए विश्वका कयौं मानिकहरू गुफामै बस्दा कसरी हिन्दुहरूले भव्य सम्पदा र सभ्यता निर्माण गरे अनि कसरी विश्वलाई ज्ञानको ज्योति बाँड्ने वेद पुराण जस्ता पुस्तक हजारौं वर्षअघि नै लेखे ? भनेर बाबुरामलाई प्रश्न गरेका छन् ।

पूर्वप्रशासक एवं राजनीतिक चिन्तक डा.सूर्यराज आचार्यले विकासको मूल बाधक त भ्रष्टाचार र दल–नेताको विदेशीसँगको गुलामी हैन र ? हिन्दु धर्मले त्यसो गर भन्छ र ? भन्दै बाबुरामको आलोचना गरेका छन् ।

आफूविरुद्ध सामाजिक सञ्जालमा तीव्र प्रहार भएपछि बाबुरामले सोमबार बिहान ट्विटमार्फत सबैलाई चेतावनी दिएका छन् । उनले तथ्यपूर्ण र तर्कसंगत बहस गरौं भन्दै गालीगलौज मूर्खको हतियार भएको टिप्पणी गरेका छन् ।

के भनेका थिए बाबुरामले ?

उनले अहिलेको नेपालको धार्मिक संस्कृति हिन्दु परम्परालाई परिवर्तन नगर्दासम्म समृद्धि हासिल नहुने बताएका थिए । ‘विकास र समृद्धि भनेको संस्कृति पनि हो । विचार र आचरणलाई संस्कृतिमा विकास गर्न सकिएन भने आर्थिक विकास गर्न सक्दैनौं, हाम्रो धर्म र संस्कृतिले विकास गर्न सक्दैन, यो जन्ममा दुःख गर अर्को जन्ममा सुख पाउँछौँ भन्ने हाम्रो संस्कृति छ । यो संस्कृतिले हामीलाई यही जन्ममा विकास र समृद्धि हासिल गर्न सक्दैनौँ भन्ने शिक्षा दिन्छ, यसलाई परिवर्तन गर्न जरुरी छ,’ उनले भनेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + = 12