यी हुन् १० नम्बर जर्सीका चर्चित फुटबलर

  • 920
  •  
  •  
  •  
  •  
    920
    Shares

क्रिकेटमा विशेष क्षमता भएका खेलाडीलाई ‘मार्की’ भन्ने गरिन्छ । तर, फुटबलमा यस्तो किसिमको विशेषताले भरिएका खेलाडीले १० नम्बरको जर्सी प्राप्त गर्छन् । १० नम्बर जर्सी लगाउने खेलाडीले एकल प्रयासमा खेलको नतिजा उल्ट्याउन सक्छन् भन्ने विश्वास छ । विश्व फुटबलमा यस्ता धेरै खेलाडी छन् । तर, विश्वकपमा १० नम्बर जर्सी लगाएर तहल्का मच्चाउने १० खेलाडी यस्ता छन् :

पेले (ब्राजिल)
फ्रान्सका लिजेन्डर माइकल प्लाटिनी अक्सर पेलेको प्रशंसा गर्दै भन्छन्, ‘जब पेले खेल्छन्, तब हामीलाई भगवान्ले नै खेलेको जस्तो लाग्छ ।’ प्लाटिनीले भनेजस्तै पेलेको समयमा अन्य खेलाडी छायामा नै परेका थिए । पेलेको विशेषता भनेको बलमाथिको गज्जबको नियन्त्रण र लामो दूरीबाट शक्तिशाली प्रहार गर्न सक्नु हो ।

विश्वकप वा फुटबल इतिहासमा पेलेको जस्तो रेकर्ड अन्यले राख्न सकेनन् । उनी लगातार तीनपटक विश्व च्याम्पियन बनेका खेलाडी हुन् । ब्राजिललाई तीनपटक विश्व च्याम्पियन बनाएपछि उनले आफूले लगाएको १० नम्बरको जर्सी राष्ट्रिय टोलीलाई प्रदान गरेका थिए । सर्वकालीन महान् खेलाडीको सूचीमा रहेका पेलेलाई ‘किङ अफ फुटबल’ भनिन्छ । २०औँ शताब्दीमा एक सयजना प्रभावशाली फुटबलर चुनिँदा पेले नम्बर एकमा परेका थिए । १४ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा उनले ९२ खेलमा ७७ गोल गरे ।

डिएगो म्याराडोना अर्जेन्टिना
टेलिभिजनको युग आएपछि धेरैले मन पराएका खेलाडी हुन्, अर्जेन्टिनी डिएगो म्याराडोना । १० नम्बरको जर्सीमा म्याराडोनाले आफ्नो खेलबाट संसारलाई मोहित पार्न सफल भए । म्याराडोना भन्ने गर्थे, ‘म राष्ट्र र क्लबको सामान्य सेवक हुँ ।’ म्याराडोनाले भनेझैँ उनले राष्ट्रिय टोली र क्लबमा एक सेवककै रूपमा योगदान गरे ।

अर्जेन्टिनालाई एकल प्रदर्शनमा एकपटक विश्व च्याम्पियन र उपविजेता बनाए । म्याराडोनाले आफ्नै मिहिनेतमा सिरिए लिग नेपोली तथा बोका जुनियरलाई एक नम्बर क्लब नै बनाए । यसै कारण अहिले पनि उनलाई ‘वान म्यान आर्मी’ भनिन्छ । फुटबलमा हाइट मात्र कुरा होइन भन्ने उनले प्रमाणित गरिदिए । उनका धेरैजसो गोल आकर्षक थिए । सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध उनले दुई गोल गरे । एउटा गोलको प्रशंसा अहिले पनि हुने गर्छ । अर्को, हाते गोल अहिलेसम्म इंग्लिस समर्थकका नजरमा विवादास्पद नै छ । राष्ट्रिय टोलीबाट उनले ९१ खेलमा ३३ गोल गरे ।

जिनेदिन जिदान फ्रान्स
फ्रान्सको मार्सेलीमा जन्मेका जिदान सन्यास लिनुअघिसम्म अट्याकिङ मिडफिल्डरमै मैदानमा राज गरे । रियल म्याड्रिडलाई लगातार ३ पटक च्याम्पियन्स लिग उपाधि दिलाएर एकाएक पद छाडेका जिदानले राष्ट्रिय टोलीमा एक दशक समय बिताए । १० नम्बरको जर्सीमा उनी फ्रान्सका प्लेमेकरका रूपमा रहे । मिडफिल्डमा विपक्षी खेलाडीलाई सहजै झुक्याउन सक्ने खुबी भएका जिदान गोल पनि उत्कृष्ट गर्छन् । सन् २००२ मा च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडबाट प्रतिस्पर्धा गरेका जिदानले बायर्न लेभरकुसेनविरुद्धको बायाँ फुटे भली गोल अहिलेसम्म सबैको सम्झनामा छ । मिडफिल्डमा उनको खेल्ने शैली गज्जबको थियो ।

फ्रान्सले अहिलेसम्म पाएका मिडफिल्डरमध्ये जिदान नै उत्कृष्ट हुन् भन्ने गरिन्छ । सन् २००६ को जर्मनी विश्वकपमा एकल प्रदर्शनमा फ्रान्सलाई फाइनलसम्म पुर्‍याउँदै उनी सबैका नजरमा हिरो बनेका थिए । तर, त्यही फाइनलमा इटालीका मार्को मेटेराजीलाई ‘साढेँको जस्तो’ हेडिङ गर्दा उनी एकाएक खलनायक भए । जिदान मैदानबाट बाहिरिएपछि फ्रान्सले मुखैमा आएको विश्वकप ट्रफी गुमायो । फ्रान्सबाट १ सय ३ खेलमा उनले ३३ गोल गरेका छन् ।

लियोनल मेसी अर्जेन्टिना
लियोनल मेसीलाई म्याराडोनाको उत्तराधिकारी भनिन्छ । म्याराडोनाकै शैलीमा फुटबल खेल्ने मेसी वर्तमान समयकै उत्कृष्ट खेलाडी हुन् । धेरै समर्थकले मेसीले १० नम्बर जर्सीको मान राखेको भन्ने गर्छन् । उनकै कप्तानीमा अर्जेन्टिनाले यसपटक विश्व च्याम्पियन बन्ने सपना पुनः एकपटक देखेको छ । सन् २०१४ को फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित हुँदा अर्जेन्टिनाले २४ वर्षपछि विश्व च्याम्पियन हुने अवसर गुमाएको थियो ।

तर, मेसी कम्तीमा पनि राष्ट्रिय टोलीलाई लागेको दाग मेटाउन रसिया विश्वकप जित्न चाहन्छन् । आधुनिक फुलबलकै जादुगर फुटबलर मेसी पाँचपटक फिफा वर्षखेलाडी भइसकेका छन् । सर्वाधिक फिफा वर्षखेलाडी हुनेमा मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो मात्र छन् । युवा अवस्थामै मेसीले तीनपटक युरोपियन गोल्डेन बल जितेका छन् । बार्सिलोनालाई नै आफ्नो फुटबल करिअर मान्ने मेसीले ४ सय १८ खेलमा ३ सय ८३ गोल गरेका छन् ।

फ्रान्सिस्को टोटी इटाली
जब इटालियन ‘सिरी ए’ क्लब एस रोमाको कुरा आउँछ, सबैले फ्रान्सिस्को टोटीलाई सम्झने गर्छन् । ४० वर्षीय टोटी एसएस रोमाबाट लगातार २५ सिजन फुटबल खेले । जति वर्ष उनले रोमा र इटालीको सिनियर राष्ट्रिय फुटबलबाट खेले, सबैलाई आफ्नो खेल कौशलबाट मग्न पारे । टोटीले जीवनमा कहिले पनि अर्को नम्बर लगाएनन् । उनले जर्सी नम्बर १० बाट करिअर सुरु गरे, त्यसै जर्सीमा समाप्त गरे ।

विश्व फुटबलकै आदर्शवान् व्यक्ति पेलेले समेत टोटीलाई आफूले देखेका फुटबलरमध्ये उत्कृष्ट भनी प्रशंसा गरेका छन् । उनले डिफेन्डर, मिडफिल्डर, विंगर तथा स्ट्राइकरजस्ता पोसिजनबाट मैदानमा प्रतिस्पर्धा गरे । आफूभन्दा सिनियर र जुनियरलाई एकै खालको व्यवहार गर्ने टोटी पनि रोमाको मुटु हुन् । रोमाका फयानहरू टोटीलाई गोल्डेन ब्वाई तथा द किङ अफ रोमा भन्छन् ।

रोनाल्डिन्हो ब्राजिल
सन् २००२ मा ब्राजिलले पाचौँपटक विश्वकप उपाधि उचाल्दा आर शब्दका खेलाडीको बाहुल्यता थियो । त्यसैमध्ये रोनाल्डिन्हो पनि एक थिए । १० नम्बरको खुबीअनुसारै रोनाल्डिन्होले इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा असम्भव फ्रिकिक गोल गरेका थिए । मैदानको मध्यभागबाट रोनाल्डिन्होले प्रहार गरेको फ्रिकिक सीधै इंग्लिस टोलीको पोस्टभित्र छिरेको थियो । उनको त्यही गोलले ब्राजिल उपाधितर्फ लम्कियो ।

उनले आफू आबद्ध भएका क्लबमा प्रतिसिजन ३० गोल भन्दामाथि गरेनन् । तर, उनको योगदान भने धेरै रहन्थ्यो । सामान्यता स्ट्राइकरको जिम्मेवारी पाए पनि उनी मिडफिल्डमै बढी सक्रिय हुन्थे । ब्राजिल र बार्सिलोना क्लबबाट लगातार उत्कृष्ट प्रदर्शन गरेका कारण रोनाल्डिन्हो सन् २००४ र २००५ मा लगातार फिफा वर्षखेलाडी घोषित भए । उनले राष्ट्रिय टोलीबाट ९७ खेलमा ३३ गोल गरेका छन् ।

रोबर्टो ब्राजियो इटाली
फ्रान्सिस्को टोटीपछि इटालीमा रोबर्टो ब्राजियो प्रसिद्ध फुटबलर हुन् । ब्राजियोको समयमा उनीजस्तो अन्य फुटबलर देखा पर्न सकेनन् । सन् १९८८ देखि २००४ सम्म राष्ट्रिय टोलीबाट १० नम्बरको जर्सी लगाएर प्रतिस्पर्धा गरेका ब्राजियो हिरो र खलनायक दुवै हुन् । स्वयं ब्राजियो पनि सन् १९९४ को विश्वकप फाइनलको टाइब्रेकर सम्झिँदा झसंङ हुने गर्छन् ।

उनले नै इटालीलाई फाइनलसम्म पुर्‍याएका थिए । ब्राजिलविरुद्धको टाईब्रेकरमा ब्राजियोको पेनाल्टी क्रसबार भन्दा धेरैमाथि गयो । त्यही असफल प्रयाससँगै उनी एकाएक खलनायक बने । इटालीमा उनी कहिले पनि पहिलो रोजाइका स्ट्राइकर बन्न सकेनन् । तर, मिडफिल्डमा उनलाई विस्थापित गर्न अरू आएनन् । आकर्षक हेड स्टायल र मिलनसार स्वभावका ब्राजियो इटालीको फुटबल हल अफ फ्रेममा सूचीकृत भएका छन् । सन् १९९३ मा फिफा वर्षखेलाडी ब्राजियोले इटालीबाट ५६ खेलमा २७ गोल गरेका छन् ।

जिको ब्राजिल
पेले र जिकोले एकैसाथ कहिल्यै खेलेनन् । तर, ब्राजिलमा जिकोलाई ‘सेतो पेले’ भनिन्थ्यो । ब्राजिलमा जिको सम्भवतः अहिलेसम्मकै प्ले मेकर खेलाडीमा पर्छन् । प्रतिस्पर्धात्मक खेलमा सही रूपमा फिनिसिङ गर्नसक्नु जिकोको विशेषतता थियो । सन् १९७० र ८० को दशकमा जिकोले ब्राजिलमा एकछत्र राज गरेका थिए ।

एकल प्रयासमा खेल जिताउन सक्ने क्षमता भएका जिको पनि अर्जेन्टिनी कप्तान लियोनल मेसीजस्तै अभागी खेलाडीको सूचीमा पर्छन् । जिकोले एकपटक पनि विश्व च्याम्पियनसिप उपाधि उचाल्न सकेनन् । जिकोले ७१ खेलमा ४८ गोल गरेका छन् । क्लबस्तरमा उनको नाममा ६ सय ६४ गोल संख्या छ ।

माइकल प्लाटिनी फ्रान्स
सन् १९८४ को फ्रान्सको राष्ट्रिय टोलीले युरोपमा धमाकेदार प्रदर्शन गरेको थियो । फ्रान्सको सफलता पछाडि १० नम्बर जर्सी लगाउने माइकल प्लाटिनीको भूमिका महŒवपूर्ण थियो । १९८० को दशकमा प्लाटिनीकै कारण फ्रान्सले अति नै सुन्दर खेल खेलेको थियो । सन् १९८४ मा फ्रान्सले युरोकप जित्दा प्लाटिनीले मिडफिल्डरबाट प्ले मेकरको भूमिका निर्वाह गरेका थिए ।

लगातार तीनपटक फिफा वर्षखेलाडी उपाधि जित्ने प्लाटिनी पहिलो फुटबलर हुन् । सन् १९९९ मा फ्रान्सले प्लाटिनीको समान गर्दै उनलाई ‘फ्रान्सली शताब्दी खेलाडी’ घोषणा गरेको थियो । राष्ट्रिय टोलीबाट उनले ७२ खेलमा ४१ गोल ठोकेका छन् ।

नेमार जुनियर ब्राजिल
ब्राजिलका नेमार जुनियर वर्तमान समयका विश्वकै महँगा खेलाडी हुन् । गत सिजनमा बार्सिलोनाबाट पिएसजीमा १९ करोड ८० लाख पाउन्डमा अनुबन्धित भएका नेमार दोस्रोपटक विश्वकप फुटबलमा सहभागी हुँदै छन् । फुटबलमा छोटो अवधिमै १० नम्बर जर्सी लगाएर प्रभावित पार्ने खेलाडीमा नेमार अगाडि छन् ।

सन् २०१४ को विश्वकपमा नेमार फिल्डमा रहँदासम्म ब्राजिललाई रोक्न सक्ने कोही थिएन । तर, क्वार्टरफाइनलमा चोटका कारण मैदानबाट उनी बाहिरिँदा ब्राजिल विश्वकपमा चौथो भयो । पछिल्लो समयमा उत्कृष्ट फिनिसरका रूपमा नेमार देखिएका छन् । सन् २०१० मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका नेमारले ८५ खेलमा ५५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = 10