६ महिनामै प्रधानमन्त्री केपी ओली सरकारको बचाउमा, यी हुन् सरकारलाई बद्नाम बनाउने मन्त्री ?

  • 228
  •  
  •  
  •  
  •  
    228
    Shares

काठमाडौं, २२ असार । दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्री बनेका केपी ओली आफ्नो सरकारको बचाउमा लागेका छन् । समृद्धिको नारा दिने, तर काम भने केही नगर्ने भन्दै चौतर्फी उनको आलोचना हुन थालेपछि ओलीले आफ्नो सरकारको विरोध गर्नेविरुद्ध प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षसमेत रहेका ओलीले सरकारले सकारात्मक रूपमै काम गरिरहेको दाबी गर्दै आफ्नै पार्टीका नेताले सरकारको विरोध गरेको गुनासो गरे । ‘चाहे गोविन्द केसीको कुरा लिएर होस्, चाहे अरु कुरामा होस् । सबै मिलेर सरकारलाई प्रहार गर्ने काम भइरहेको छ । हामीले दृढतापूर्वक प्रतिवाद गर्नुपर्छ,’ सरकारमाथि चौतर्फी प्रहार भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने ।

बुधबारको स्थायी कमिटी बैठकमा भीम रावल, युवराज ज्ञवाली, अमृतकुमार बोहरा, रघुजी पन्तलगायतले सरकारको कटु आलोचना गरेका थिए । सरकारका मन्त्रीले भाषण मात्रै गरेको, तर जनअपेक्षा पूरा गर्ने गरी कुनै काम नगरेको उनीहरूको भनाइ थियो ।

सरकार गठन हुने बेला सर्वशक्तिवान प्रधानमन्त्री बनेका ओली ६ महिनामै किन यति कमजोर र आलोचित भए ? भन्ने बुझ्न उनको मन्त्रिपरिषदमा रहेका नेताहरू नै मुख्य जिम्मेवार छन् । सुरुका दिनमा प्रधानमन्त्री ओलीका मन्त्रीहरूले राम्रै छवि बनाएका थिए । अर्थमन्त्री डा.युवराज खतिवडा, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, श्रममन्त्री गोकर्ण विष्टले रामै्र छाप छोड्नेमा जनता आशावादी देखिएका थिए ।

तर, पछिल्लो समय सबै मन्त्री बदनाम भएका छन् । इतिहासमै सबैभन्दा विवादास्पद अर्थमन्त्रीका रूपमा खतिवडा दरिएका छन् । मन्त्री पण्डित अहिले केही काम गर्न नसक्ने अवस्थामा छन् । उनलाई निजामती कर्मचारीले पत्याउनै छाडेका छन् । मन्त्री अधिकारी ६० करोड बाँडेर विवादमा आएका छन् भने विष्टलाई मलेसियामा नेपालीहरूको रोजगारी खोसेको आरोप लागेको छ ।

यस्तै, सञ्चार मन्त्री गोकुल बास्कोटाको कारण पनि प्रधानमन्त्री ओली विवादित बनेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले त प्रधानमन्त्री ओलीलाई सार्वजनिक रूपमा बोल्न र हिँड्नसमेत अप्ठेरो पारिदिएका छन् । यिनै कारण पनि प्रधानमन्त्री ओली आफ्नै मन्त्रीहरूबाट असन्तुष्ट देखिएका हुन् ।

पूर्वएमालेबाट मन्त्री बनेका तुलनामा पूर्वमाओवादी केन्द्रबाट मन्त्री बनेकाहरू कमै विवादित देखिएका छन् । मातृका यादव र विना मगरबाहेक अरु त्यति विवादमा देखिएका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 1 =