युवराज भुसालले छाडे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ

  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं, २४ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आफू जिम्मेवारीबाट मुक्त भएको बताएका छन् । निर्वाचन आचारसंहिता लागू भएपछि भएका नियुक्तिहरू खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय आफ्नो हकमा पनि लागू हुने सरकारको आशय पाएको भन्दै उनले आइतबारबाट जिम्मेवारी छाड्ने निर्णय गरेको बताए ।

तीन वर्षयता प्राधिकरणको नेतृत्व चारपटक फेरिएको छ । गत वर्षको कात्तिक ६ गते भुसाल सीईओेमा नियुक्त भएका थिए । नेपाली कांग्रेस नेतृत्वको सरकारको पालामा नौ महिनाअघि उक्त पदमा नियुक्त भएका भुसालले कांग्रेस सरकारको पालामा चार महिना र त्यसपछि झन्डै पाँच महिना प्राधिकरणमा बिताए ।

भुसालले पुनर्निर्माण परामर्श परिषद्को बैठक र प्रधानमन्त्रीको नेतृत्वमा बन्ने निर्देशक समितिको बैठकबारे छलफल गर्न गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटार जाँदा उनलाई सरकारले जिम्मेवारीबाट मुक्त गर्न लागेको जानकारी दिएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा यसअघि पनि तीनपटक प्रमुख कार्यकारी अधिकृत परिवर्तन भइसकेका छन् । प्राधिकरणमा सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति हुने प्रणाली बसेकोप्रति भने धेरैले आलोचना गरेका छन् । पुनर्निर्माण जस्तो राष्ट्रिय महत्व र संवेदनशील विषयमा सरकारले पटक पटक नेतृत्व परिवर्तन गर्दा काममा असर पर्ने उनीहरूको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 − = 83