ओली सरकारको दुई तिहाइ बहुमतको असर देखिँदै, उपकुलपति थुन्नेदेखि कांग्रेस सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेसम्म

  • 183
  •  
  •  
  •  
  •  
    183
    Shares

काठमाडौं, २४ असार । निर्वाचनपछि एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन गरे पनि प्रधानमन्त्री केपी ओलीले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई आफ्नो सरकारमा सामेल गर्न वार्ता अघि बढाएका थिए । त्यसबेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूले सार्वजनिक रूपमै प्रश्न गरेका थिए, ‘बहुमतको सरकार हुँदाहुँदै दुई तिहाइको सरकार बनाउन खोज्नुको कारण के ?’

कांग्रेसले त्यतिबेला अनुमान गरेको र सोधेको प्रश्नको जवाफ ओली नेतृत्वको सरकारले भटाभट देखाउन थालेको छ । दुई तिहाइ भए सजिलै संविधान संशोधन गर्न सकिने र आफू गरेका सबै निर्णय लागू हुने प्रधानमन्त्री ओलीको भित्री चाहना थियो । सोही रणनीतिअनुसार सरकार अहिले अघि बढेको छ । दुई तिहाइ बहुमत भए पनि ओली सरकार चिकित्सक शिक्षा विधेयक संसदमा पारित गर्नबाट भने डराएको छ ।

सात महिनासम्म कुनै काम नसक्दा र आफूले गरेका हरेक निर्णय आलोचित बन्न थालेपछि प्रधानमन्त्री ओलीले अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति सबै खारेज गर्ने निर्णय गरे । जनताको ध्यान अन्यत्रै मोड्न सरकारले यो निर्णय गरेकोमा कुनै शंका छैन । सोहीअनुसार गत बुधबार मध्यराति मन्त्रिपरिषद् बैठकबाट अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरिएको छ । अहिले धमाधम कार्यान्वयनको दिशामा सरकार अघि बढेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ तथा दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा सरकारको आँखा गडेको थियो । यदि अघिल्लो सरकारले गरेका निर्णय खारेज गरेमा सबै पदमा आफ्ना नेता कार्यकर्ता भर्ती गर्नसकिने र राज्यको स्रोतसाधन उपभोग गर्न पाउने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्वार्थ थियो । त्यसलाई पूरा गर्ने ढंगले सरकार अघि बढेको छ ।

शनिबार संस्कृत भाषाको संरक्षण र विस्तार गर्ने सेमिनारमा भाग लिन जान लागेका नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति डा.कुमार कोइरालाई जानबाट वञ्चित गरिएको र प्रधानमन्त्री निवास बालुवाटारमा एक घन्टा ‘कैद’ गरेको विषयले प्रधानमन्त्री ओली सर्वाधिक आलोचित भएका छन् । ओलीकै ठाडो आदेशमा कोइरालालाई एयरपोर्टबाटै नियन्त्रणमा लिई प्रधानमन्त्री कार्यालयमा नजरबन्दमा राखिएको हो । आफूलाई सोध्दै नसोधी र स्वीकृति नै नलिई कोइराला क्यानाडा जान लागेको भन्दै रोकिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

केपी ओलीको यो कार्यशैली उत्तर कोरियाली शासकको जस्तो भएको भन्दै प्रधानमन्त्रीको आलोचना गर्न थालिएको छ । आफूले भनेको नमान्ने सबैको अबदेखि यस्तै हैसियत हुनेछ भनेर देखाउन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालालाई प्रधानमन्त्री कार्यालयमा हिरासतमा राखिएको स्रोतले बताएको छ । यतिखेर कोइरालालाई कांग्रेस भएको भन्दै क्यानाडा जानबाट रोकिएको छ भने सत्तारुढ दल निकट कर्मचारी र प्राध्यापक भने विदेश भ्रमणमा गएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 − = 41