कांग्रेसप्रति कठोर बन्दै प्रधानमन्त्री ओली, सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षलाई नदिने

  • 171
  •  
  •  
  •  
  •  
    171
    Shares

काठमाडौं, २४ असार । सरकार गठन भएको सात महिनामै प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीच पानी बाराबारको स्थिति उत्पन्न भएको छ । सत्ता पक्ष र प्रतिपक्षबीच सम्बन्ध बिग्रँदा अहिलेसम्म संसदीय समितिसमेत गठन हुन सकेको छैन ।

सरकारसँगको असन्तुष्टिकै कारण संसदीय समितिमा रहने सांसदहरूको नाम कांग्रेसले पठाइसकेको छैन । सभामुख कृष्णबहादुर महरालाई तीन दिनभित्र कांग्रेसले समितिमा रहने सांसदको नाम नदिए आफैंले घोषणा गर्ने चेतावनी दिइसकेका छन् । तर, कांग्रेस भने प्रधानमन्त्री ओली अनुदार र निरंकुश भएको भन्दै उनलाई कमजोर र विवादित बनाउने अभियानमा लागेको छ ।

कांग्रेस आफ्नो सरकारप्रति हात धोएर लागेको भन्दै प्रधानमन्त्री ओली झन् कठोर भएर प्रस्तुत हुने भएका छन् । उनले कांग्रेसले राखेको माग माइतीघर मण्डलाको निषेधाज्ञा फिर्ता नलिने र काठमाडौं उपत्यकामा मेडिकल कलेज सञ्चालन हुने प्रस्टीकरण दिएका छन् । त्यति मात्र होइन, संसदीय शासन व्यवस्थामा संसदको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउने गरेको छ ।

नेपालमा अहिलेसम्म सो समितिको सभापति विपक्षी दललाई नै दिने गरिँदै आएको थियो । तर, प्रधानमन्त्री ओली सार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई नदिने बरु राष्ट्रिय जनता पार्टीलाई दिने मनस्थितिमा छन् । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले ऊ पनि प्रतिपक्षी पार्टी भएको भन्दै ओली कांग्रेसलाई थप चिढ्याउने पक्षमा देखिएका छन् ।

अघिल्लो शेरबहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गरेर प्रधानमन्त्री ओलीले कांग्रेससँग दुश्मनी मोलिसकेका छन् । अब फेरि संसदको महत्वपूर्ण सार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई नदिएर उनी अघि बढ्ने स्थिति देखिएपछि आगामी दिनमा मुलुकको राजनीति झन् द्वन्द्वतर्फ जाने विश्लेषण गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 60 = 64