संसदीय समितिमा महिलाले सभापति पाउँछन् कि पाउँदैनन् ?

  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं, २५ असार । यो साताभित्र संघीय संसदका १४ संसदीय समिति गठन गरिने भएको छ । जसमध्ये प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका चार समिति गठन हुनेछन् । अहिलेसम्म प्रतिनिधिसभाको कार्यसम्पादन समितिबाहेक अन्य गठन हुन सकेको छैन ।१४ मध्ये कतिवटामा महिला सभापति हुने भन्ने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दलले गृहकार्य नै गरेका छैनन् । १४ मध्ये करिब पाँचवटा संसदीय समितिको सभापति आफूले पाउनुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको माग छ । तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवाद फोरमले यसबारे छलफल नै थालेका छैनन् ।

सबै समितिमा रहने सांसदको नाम पठाउन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले दलहरूलाई आग्रह गरे पनि प्रमुख प्रतिपक्षले कार्यसम्पादन र संसदीय सुनुवाइ समितिबाहेक अरुमा सांसदको नाम पठाइसकेको छैन ।

तर प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको कार्यसञ्चालन नियमावलीमा गरिएको ३३ प्रतिशत समितिको नेतृत्व महिलालाई दिने व्यवस्थाबारे भने दलहरू टुंगोमा पुग्न सकेको देखिँदैन । सभापतिबारे समितिहरू गठन भइसकेपछि मात्रै छलफल सुरु गर्ने दलहरूको तयारी छ ।३३ प्रतिशतको हिसाब निकाल्दा प्रतिनिधिसभाका १० मध्ये तीनवटा समितिमा महिला नेतृत्व दिँदा अपुग हुने देखिन्छ । राष्ट्रिय सभामा पनि एउटा समितिमा मात्रै महिला सभापति दिँदा कम हुने भन्दै ३३ प्रतिशतलाई बढाएर दिनुपर्ने माग महिला सांसदले राख्दै आएका छन् । उपसभामुख शिवमाया तुम्बाहाम्फेले कार्यसञ्चालन नियमावलीअनुसार कम्तीमा ३३ प्रतिशत महिला हुनै पर्ने गरी नाम पठाउन भनिएको बताउँछिन् ।

संसद्को चुनाव भएको महिनौँ बितिसक्दासमेत समितिहरूको गठन हुन सकेको छैन । प्रतिपक्षी नेपाली कांग्रेसलाई कतिवटा समितिको नेतृत्व दिने भन्ने विषय पनि सुल्झिन सकेको छैन । समितिहरूलाई सरकारका विभिन्न निकायको निरन्तर अनुगमन, सोधपुछ, निर्देशन र नियन्त्रणको भूमिका दिइएको हुन्छ । कार्यपालिकामाथि व्यवस्थापिकाको सन्तुलन र नियन्त्रणको सिद्धान्तअनुरूप यी समिति रहेका हुन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =