प्रधानमन्त्री ओलीले डा.केसीसँग आफैं फोन वार्ता गर्ने, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीप्रति असन्तुष्ट

  • 63
  •  
  •  
  •  
  •  
    63
    Shares

काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी ओलीले जुम्लामा १० दिनदेखि अनसनरत डा.गोविन्द केसीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । प्रधानमन्त्रीले सम्भवतः मंगलबार केसीसँग कुरा गर्नेछन् ।

नेपाल चिकित्सक संघले केसीका माग पूरा गर्न सरकारलाई दिएको ७२ घन्टे अल्टिमेटम मंगलबार सकिँदैछ । सोही कारण प्रधानमन्त्री ओली आफैंले केसीसँग ‘वान टु वान’ वार्ता गर्न चाहेको उनको निजी सचिवालयले जनाएको छ । ओलीले केसीसँग वार्ता गर्ने वातावरण मिलाइदिन चिकित्सक संघलाई आग्रह गरेको बुझिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली डा.केसीको अनसनका विषयमा निकै गम्भीर छन् । तर उनलाई केसीका मागबारे अनुदार रहेको भन्दै एकोहोरो प्रचार गरिएकोमा असन्तुष्ट छन् । प्रधानमन्त्री ओलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई केसीका माग राष्ट्रहितका पक्षमा हुने गरी अविलम्ब पूरा गर्न निर्देशन दिएको बुझिएको छ । ‘प्रधानमन्त्रीज्यू डा.केसीका मागका विषयमा निकै गम्भीर हुनुहुन्छ, उहाँले शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई कडा निर्देशनसमेत दिइसक्नु भएको छ,’ प्रधानमन्त्री निकट उच्च स्रोतले भन्यो ।

चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री ओलीका सचिवालयबाट कुराकानीको पहल गर्न आग्रह गरिएको जानकारी दिएका छन् । आफूले राखेका माग सम्बोधन नभई सरकारका कुनै व्यक्तिसँग कुरा नगर्ने डा. केसीको अडान छ । तर, प्रधानमन्त्री ओलीसँग कुराकानी नगर्दा गलत सन्देश जाने भन्दै केसीलाई उनी निकट चिकित्सकहरूले मनाउने प्रयास गरिरहेका छन् । सरकारले ७२ घन्टाभित्र समाधान नखोजे इमर्जेन्सीबाहेकका सेवा बन्द गर्ने चेतावनी संघले दिएको छ । केसीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =