निर्वाचन आयोगको म्याद गुजार्दै राजपा, महाधिवेशनको अझै लागेन टुंगो, पार्टीको वैधता सकिँदै

  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं, २५ असार । एक वर्षअघि ६ वटा पार्टी मिलेर राष्ट्रिय जनता पार्टीको गठन भएको थियो । पार्टी गठन भएको एक वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । एक पार्टी भएपछि राजपाले तीनवटै निर्वाचनमा समेत भाग लिएको थियो । तर, अहिलेसम्म राजपाको महाधिवेशन हुन सकेको छैन ।

निर्वाचन आयोगले राजपालाई ६ महिनाअघि नै असार मसान्तसम्म महाधिवेशन गराउन पत्र पठाएको थियो । तर, पाँच महिनासम्म त्यत्तिकै गुजारेपछि आयोगले जेठको अन्तिम साता पुनः पत्र पठाई असार मसान्तसम्म महाधिवेशन गर्न स्मरण गराएको थियो । आयोगको सो पत्रपछि राजपाका नेतामा छटपटी बढेको थियो ।

तीन दिनसम्म लगातार राजपा अध्यक्षमण्डलको राजनीतिक समितिको बैठक बस्यो पनि । तर, सो बैठकले महाधिवेशनको मिति टुंगो लगाउन सकेन । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र राजेन्द्र महतोबीच चर्काचर्कीपछि राजनीतिक समितिको बैठकको निर्णयसमेत सार्वजनिक हुन सकेन ।

राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले विभिन्न भ्रातृसंगठनहरुको नाम तय गरेको छ । जसअनुसार राष्ट्रिय विद्यार्थी संघ, राष्ट्रिय युवा संघ, राष्ट्रिय महिला संघ तथा अन्य संगठनहरुको हकमा समेत अगाडि राष्ट्रिय र पछाडि संघ रहने गरी नामाकरण हुने नेता सुरेश मण्डलले जानकारी दिएका छन् । तर, यस्तो निर्णय पनि सार्वजनिक गर्न सकिएको छैन ।

राजपा एक वर्षसम्म महाधिवेशन गर्ने पक्षमा छैन । आगामी वैशाखमा एकताको महाधिवेशन गर्ने राजपाको आन्तरिक तयारी छ । असार ३० गतेपछि राजपाको वैधानिक हैसियत सकिँदैछ । सोही कारण एक वर्षपछि महाधिवेशन गर्ने जानकारीसहितको पत्र राजपाले आयोगलाई लेख्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 ÷ = 16