ओली दिनप्रतिदिन आलोचित बन्दा प्रचण्ड दंग, यस्तो छ भित्री तयारी

  • 672
  •  
  •  
  •  
  •  
    672
    Shares

काठमाडौं, २६ असार । प्रधानमन्त्री बनेको करिब ६ महिनामै आफू यति धेरै आलोचित हुन्छु होला भनेर केपी ओलीले सायदै सोचेका थिए । विपक्षमा बसेर सरकारको आलोचना गर्नु र आफैं सरकारमा रहँदा आमजनताको इच्छा र आकांक्षा सम्बोधन गर्नु फरक कुरा रहेको निष्कर्षमा प्रधानमन्त्री ओली पुगेको विश्लेषण गर्न थालिएको छ ।

सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा ओलीले ‘साउनमा सिस्नो फैंलिएझैं कांग्रेस फैलिएको र आफ्नो पार्टी ओइलाएको साग बनेको’ टिप्पणी सोही आधारमा गरेको हुन सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्रीको सपथ लिने बेला ओलीको चौतर्फी हाई हाई थियो । तर, बिस्तारै बिस्तारै उनी यति धेरै आलोचित भए कि आफ्नै सरकारको बचाउ गर्न पार्टीका सम्पूर्ण सांसदलाई नै निर्देशन दिने अवस्थामा पुगे ।

तीनै तहको निर्वाचनअघिसम्म कांग्रेस सरकारको विरोधमा पूर्वएमालेबाट एकजना ओलीको भाषण नै काफी थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको सम्बद्र्धन ओलीबाट सम्भव छैन भन्ने निष्कर्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ठूलै पंक्ति पुगेको स्रोतले बताएको छ । पाँच वर्षका लागि भनिएको सरकार वर्ष दिन पनि नटिक्ने संकेत देखिएपछि नेकपामा आन्तरिक ध्रुवीकरणसमेत सुरु भइसकेको छ ।

पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रका सन्दर्भमा प्रधानमन्त्री ओलीको बफादारिताको विषयमा द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं सशंकित बनेका छन् । ओली चीन भ्रमणमा जाँदा प्रचण्ड सिंगापुरमा थिए । ओलीको चीन भ्रमण आशातीत सफल हुन नसकेको र चीनबाट फर्किएलगत्तै ओलीविरुद्ध चौतर्फी प्रहार हुँदा पनि नेकपाको शीर्ष नेतृत्व मौन छ । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेलले ओलीमाथि भइरहेको प्रहारको प्रतिवाद गर्न चासो देखाएका छैनन् । झलनाथ र ईश्वर मौका आउना साथ ओलीलाई ‘देखाइदिने’ भन्दै बसेका छन् । आफूलाई पार्टी वरीयतामा तल पारिएको झलनाथको आरोप छ भने ईश्वरले आफूलाई रक्षा मन्त्रालयमा लगेर थन्काइएको भन्दै असन्तुष्ट छन् ।

सिंगापुरबाट फर्केलगत्तै प्रचण्डले आफ्ना निकटस्थसँग भनेका थिए– ‘राजावादीहरू निकै उत्साहका साथ सलबलाएका छन्, ओलीजीको कार्यशैली र राजावादीहरूको उत्साह देख्दा संघीय गणतन्त्रविरुद्ध अँधेरो कुनामा केही न केही खिचडी पाकिरहेको महसुस गरेको छु, हामी सतर्क हुनु जरुरी छ ।’ नेकपाको गत बिहीबारको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि प्रकट गर्दै घुमाउरो पाराले संघीय गणतन्त्रविरुद्ध चलखेल भइरहेको अभिव्यक्ति दिएका थिए ।

समाचार स्रोतका अनुसार संघीयता मुलुकमा काम नलाग्ने कुरा प्रधानमन्त्री ओलीले खुलेरै आफ्ना निकटस्थहरूलाई बताउने गरेका छन् भने घुमाउरो पाराले राजसंस्थालाई पनि कहीँ न कहीँ स्पेस नदिए स्थायी शान्ति नआउने बताउन थालेका छन् । खासगरी भारत र चीन भ्रमणपछि प्रधानमन्त्री ओलीको मुखबाट राजसंस्थालाई स्पेस दिनुपर्ने कुरा घुमाउरो ढंगले आउन थालेको हो । संघीय गणतन्त्र आफैंले ल्याएको दाबी गर्दै आएका प्रचण्डलाई ओलीको यो पछिल्लो गतिविधि मन परेको छैन ।

दुई वर्षपछि प्रधानमन्त्री पद हस्तान्तरण गर्ने भद्र सहमति ओलीले पालना गर्छन् वा गर्दैनन् ? त्यसको जोडघटाउ गर्दै भावी रणनीतिमा प्रचण्ड जुटेको स्रोतले बतायो । ओलीले संघीय गणतन्त्र धरापमा पार्न लागेको सन्दर्भलाई लिएर अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच पनि दुई चरणमा कुरा भएको बुझिएको छ । यदि नेकपामा प्रचण्ड र माधव पक्षबीच ध्रुवीकरण भयो भने ओलीको प्रधानमन्त्री पद धेरै दिन टिकाउ हुँदैन । पार्टीको केन्द्रीय समितिले नै ओलीलाई फिर्ता बोलाउन सक्नेछ । स्रोतका अनुसार ओली जति विवादित बन्दै जान्छन्, त्यति त्यति माधव र प्रचण्डको प्रधानमन्त्री बन्ने दिन नजिकिँदै जाने बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 1 = 9