विश्वकप दोस्रो सेमिफाइनल : इंग्ल्यान्ड र क्रोयसिया दुवैलाई सुनौलो इतिहास बनाउने अवसर

  • 243
  •  
  •  
  •  
  •  
    243
    Shares

एजेन्सी, २७ असार । रसियामा विश्वकप फुटबलमा सहभागी हुन पुग्दा इंग्ल्यान्डलाई खासै बलियो मानिएको थिएन् । तर, एकपटकको विश्वकप विजेता ऊ दोस्रो पटक उपाधि जित्ने अभियानभन्दा दुई जित टाढा छ ।

विश्वकपको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले बुधबार राति क्रोयसियासँग प्रतिस्पर्धा गर्दैछ । क्रोयसिया २० वर्षपछि इतिहास बनाउने बाटोमा अघि बढेको छ । सन १९९८ को विश्वकपमा क्रोयसियाले तेस्रो स्थान हासिल गरेको थियो ।

अहिलेको रुस यात्रालाई इंग्ल्यान्डको चार वर्षपछि कतारमा हुने विश्वकप जित्ने अभियानको सुरुआत पनि भनिएको थियो । ती सबै अनुमान गलत सावित गर्दै इंग्ल्यान्ड ५२ वर्षपछि विश्व फुटबलको सर्वोच्च प्रतियोगिताको फाइनल यात्रा पक्का गर्ने संघारमा आइपुगेको छ ।

इंग्ल्यान्डले सन् १९६६ मा घरेलु भूमिमा जर्मनीलाई हराएर पहिलोपल्ट विश्वकपको उपाधि जित्दा क्रोएसिया स्वतन्त्र देश पनि भएको थिएन । ज्लात्को डालिचले सम्हालेको क्रोएसिया पहिलोपल्ट फाइनल पुग्ने अभियानमा छ भने इंग्ल्यान्ड दोस्रोपल्ट सेमिफाइनलभन्दा माथि उक्लिने योजना बुन्दै छ ।

कप्तान ह्यारी केनप्रेरित इंग्ल्यान्डले हरेक खेलमा सुधार गरिरहेको छ । क्रोएसिया भने समूह चरणमा लियोनल मेसी नेतृत्वको अर्जेन्टिनामाथि ३–० को जित रचेयता फेरि उस्तै लयमा देखिएको छैन । त्यसैले दोस्रो सेमिफाइनलमा सफलताको हकदार इंग्ल्यान्डलाई मानिएको छ । तर रियल म्याड्रिडका लुका मोड्रिच र बार्सिलोनाका इभान राकिटिच मिडफिल्डमा फेरि छाएमा इंग्ल्यान्डलाई क्रोएसियाली आक्रमण झेल्न भने गाह्रो पर्नसक्छ ।

ह्यारी केन सर्वाधिक ६ गोलसहित गोल्डेन बुटको होडमा अगाडि छन् । अग्रपंक्तिमा इंग्ल्यान्डका हतियार उनी नै हुन् । प्रशिक्षक साउथगेटले निरन्तर पहिलो रोजाइमा अवसर दिइरहेका रहिम स्टर्लिङले गोलको खाता खोल्न नसके पनि विपक्षी डिफेन्सलाई दबाब राख्ने गरेका छन् । डेले अली, जेसी लिङगार्डको प्रदर्शन पनि निरन्तर खारिँदै आएको छ । सेन्टरब्याक जोन स्टोन्स र ह्यारी मगाएर यो विश्वकपको बलियो जोडीको रुपमा देखिएका छन् । उनीहरूलाई छिचोल्दै जोर्डन पिकफोर्डको पोस्टमा गोल गर्न क्रोएसियाली फरवार्डलाई सजिलो हुनेछैन । तर, युभेन्ट्सका अनभुवी फरवार्ड मारियो मान्जुकिचलाई कमजोर ठान्ने भूल इंग्ल्यान्डले गर्ने छैन ।

क्रोएसियाली टिम नकआउटका दुवै खेलमा २–२ घन्टा खेलेकाले थकित हुनसक्छ । तर उसको मुख्य चिन्ता डिफेन्समा हो । डेजान लोभरेन र डोमागोज भिडालले सेन्टरब्याकमा गरिरहेको कमजोरी सच्याउन सके क्रोएसियाले ह्यारी केन नेतृत्वको आक्रमणलाई रोक्न सक्छ । विश्वकपमा २८ वर्षपछि अन्तिम चारमा पुगेको यो टोलीलाई इंग्ल्यान्डको स्वर्णिम पुस्ताको रूपमा पनि लिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 2