के ब्राजिलको ‘शाम्बा’ शैली हराउँदै गएको हो ?

  • 633
  •  
  •  
  •  
  •  
    633
    Shares

काठमाडौं- १२ वर्षमा पहिलो पटक विश्वकपको सेमिफाइनलमा दक्षिण अमेरिकी टोली छैनन् । यसको मतलब विश्व फुटबलमा यूरोपले डोमिनेट गरेको छ । क्वार्टरफाइनलमा पुगेको पाँच वर्षको विश्वविजेता ब्राजिल आश्चर्यजनक रुपमा बाहिरियो । बेल्जियमले ब्राजिललाई २–१ गोलले हराएर चर्चित जित हात पार्यो भन्दा फरक नपर्ला ।

सेमिफाइनलमै उरुग्वे फ्रान्ससँग २–० गोलले पराजित हुनपुग्यो । यसको मतबल, सबै दक्षिण अमेरिकी टोली रसियामा जारी विश्वकपको सेमिफाइनलमा पुग्न सकेनन् । यो २००६ यता पहिलो पटक हो ।यो कुराले के प्रमाणित गर्छ भने दक्षिण अमेरिकी टोली अब शक्तिशाली रहेनन् । २०१४ को विश्वकप देखि नै देखिएको त्यो कमजोरी यो विश्वकपमा प्रमाणित भयो । २०१४ को विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित हुँदै ब्राजिलले आश्चार्यजनक रुपमा आफ्नो ‘स्वर्ण युग’ अन्त्य भएको संकेत गरिदियो, जसले विश्व फुटबलमा सनसनी मच्चिएको थियो ।

विषेशगरी ब्राजिल र अर्जेन्टिनामा यो कुरा लागू हुन्छ । उनीहरूलाई सधै उत्कृष्ट खेल्नुपर्ने दबाब छ । तर उनीहरूले त्यो स्तरको खेल्न छाडेका छन्, जस्तो समर्थकले अपेक्षा गर्छन् । दुई टोलीले कोपा अमेरिकाका पछिल्ला दुई संस्करण जित्न सकेनन् । दुवै संस्करण जितको चिलि यो विश्वकपमा छनौट हुनै सकेन । दक्षिण अमेरिकी ‘हेभिवेट’ले आक्रामक फुटबल खेल्न असफल भए, जसले उनीहरूलाई वर्षौंदेखि प्रसिद्ध बनाएको थियो ।

अर्जेन्टिनाका लागि निकै दबाबमा रहेका लियोनल मेस्सी फेरि पनि अन्तर्राष्ट्रिय उपाधि जित्नबाट चुकेका छन् । १९९८ मा डिएगो म्यारोडोनाले प्राप्त गरेको सफलता मेस्सीले प्राप्त गर्न सकेनन् । २०१४ को विश्वकप फाइनलमै उनले त्यो अवसर गुमाए । त्यसपछि लगातार दुई पटक कोपा अमेरिकाको फाइनलमा पुगेपनि उपाधि जित्न भने सकेनन् । रसिया विश्वकप छनौट चरणदेखि नै अर्जेन्टिनाले निकै संघर्ष गर्नुपर्यो । विश्वकपमा अर्जेन्टिनाको टोली एकढिक्का देखिँदैन थियो । प्रशिक्षक जोर्गे साम्पोलीको खेलाडी छनौटले पनि त्यो अवस्था निम्त्याएको हुन सक्ने बताइन्छ ।

म्यानेजर टिटेले खेल शैलीमा परिवर्तन गरेर भए पनि ब्राजिललाई ट्रयाकमा ल्याउने प्रयास गरेका थिए, र विश्वकपमा एउटा बलियो टिमका रुपमा उभ्याउने कोसिस गरेका थिए । समूह चरण र अन्तिम १६ मा मेक्सिको विरुद्धको खेलमा ब्राजिलले सन्तोषजनक नै प्रदर्शन गरेको थियो । बेल्जियमसँगको खेलमा ब्राजिल अभागी टोलीका रुपमा ठहरियो ।

आत्मघाती गोलका कारण ऊ विश्वकपबाट बाहिरियो । साथै ब्राजिलको फिनिसिङमा पनि थुप्रै कमजोरी देखिए । टिटेले त्यो कमजोरी सुधार गर्न नसकेकै हुन् । दोहोरो पहँेंलो कार्ड पाएर बेल्जियम विरुद्धको खेल गुमाएका डिफेन्सिभ मिडफिल्डर कासिमिरोको अभाव ब्राजिललाई खड्किएको थियो । उनको उपयुक्त विकल्प छान्न नसक्नु टिटेको कमजोरी थियो ।

उरुग्वे दक्षिण अमेरिकाको राम्रो खेल्ने टोली मध्ये एक हो । उसले रसिया विश्वकपमा ‘अन्डरडग’को छवी बनायो । लामो समयदेखि म्यानेजर रहेका ओस्कर ताबारेजको नेतृत्वमा उरुग्वेले राम्रो प्रदर्शन गर्यो । उसको डिफेन्स प्रशंसायोग्य थियो । तर मिडफिल्डमा भने खाडल भएको अनुभव हुन्थ्यो, जुन फ्रान्स विरुद्धको खेलमा पुष्टि भयो । तर उरुग्वे, मेक्सिकोले पोर्चुगल र जर्मनी जस्ता टोली विरुद्ध राम्रो प्रदर्शन गर्दै आफ्नो देशमा फुटबल विकास राम्रो ढंगले अघि बढेको संकेत भने गरेका छन् ।

दक्षिण अमेरिकी टोलीको प्रदर्शन खस्कनुमा तालमेलको अभाव पनि अर्को कारण हो । साउथ अमेरिकी टिमका अधिकांश खेलाडी यूरोपियन लिग खेल्छन् । जसका कारण राष्ट्रिय टोलीमा तालमेलको अभाव खड्कीन्छ । यूरोपियन लिग खेल्दा उनीहरूको शैली यूरोपको झैं हुन्छ । यही कारण हो ‘शाम्बा’ फुटबल विस्तारै हराउँदै छ । यो उत्कृष्ट ब्राजिलियन शैली हो ।

२००२ मा ब्राजिलले विश्वकप जितेपछि साउथ अमेरिकन टोलीमा टेक्निकल खेलाडीको अभाव देखिएको छ । नयाँ खेलाडीमा दक्षिण अमेरिकन शैली देखिँदैन । नेयमार, मेस्सी र केही हदसम्म लुइस स्वारेजमा त्यो टेक्निकल क्षमता देखिन्छ । तर, उनीहरूका टिमका अन्य खेलाडीसँग त्यो शैली कमै छ । सबै खेलाडीसँग त्यो शैली नहुन्जेल एक खेलाडीले केही गर्न सक्दैन ।

सबैभन्दा चिन्ताको विषय त हालैका वर्षमा भएका फिफा यू–१७ र यू–२० विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको थियो । यसबाट पनि पुष्टि हुन्छ की दक्षिण अमेरिकी टोलीमा नयाँ पुस्तासँग पनि पुरानौ शैली र क्षमता छैन । अहिले यूरोपियन टोलीले ‘पावर फुटबल’लाई पच्छाइरहेका छन् र सफल पनि हुँदै आएका छन् । २१ औं शताव्दीको सुरुवातको सफलतापछि दक्षिण अमेरिकी टोली भने कमजोर हुँदै गएका छन् ।

दक्षिण अमेरिकी फुटबलको यो गिरावट एक देशको मात्रै होइन, सिंगो महादेशका लागि चिन्ताको विषय हो । जसले फुटबलका महान हस्ती जन्माएको छ । अब खेलाडीको क्षमता विकास, फुटबल क्षेत्रमा हुने गरेको भनिएको अनियमितता र आफ्नो देशका लिगको विकास गरे मात्रै दक्षिण अमेरिकी फुटबल माथि उक्सन्छ, होइन भने दक्षिण अमेरिकी फुटबल इतिहासमा मात्रै शक्तिशाली रहने विश्लेषण हुन थालेको छ । कारोवारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 ÷ 14 =