भवन भट्ट अध्यक्ष भएको एक वर्षपछि एनआरएनएमा ‘विद्रोह’, युरोपस्तरीय सम्मेलनमा हस्तक्षेप गरेको आरोप

  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौं, २२ साउन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मा विद्रोह भएको छ । एनआरएनए उपाध्यक्ष कुल आचार्यको नेतृत्वमा संस्थापन पक्षविरुद्ध विद्रोह सुरु भएको हो । एनआरएनए अध्यक्ष भवन भट्टसहितको संस्थापन पक्षले युरोपस्तरीय सम्मेलनमा हस्तक्षेप गरेको आरोप लगाउँदै १७ जना विद्रोहमा उत्रिएका हुन् ।

विद्रोह गर्नेमा उपाध्यक्ष आचार्य, एनआरएनए सचिव जानकी गुरुङ, सहकोषाध्यक्ष सोम सोपकोटा, यूरोप सहसंयोजक एकराज गिरी र यूके अध्यक्ष योगकुमार फगामी छन् । त्यस्तै, विजय मोक्तान जर्मनी, यमलाल सुवेदी डेनमार्क, चिन्तामणि सोपकोटा स्पेन, कुवेर कार्की पोर्तुगल, ठाकुरप्रसाद शर्मा नेदरल्याण्ड, राम महतो स्वीटजरल्याण्ड, जीवनजंग कुँवर अष्ट्रिया, नवराज कोइराला आयरल्याण्ड, डा. भोजराज सुवेदी पोल्याण्ड, सुवर्णविक्रम हमाल फ्रान्स, अर्जुनकुमार श्रेष्ठ स्वीडेन र सञ्जीवकुमार श्रेष्ठ नर्वे रहेका छन् ।

भट्ट अध्यक्ष निर्वाचित भएको करिब एक वर्ष भएको छ । १७ जनाले उनको नेतृत्व क्षमतामाथि पहिलो पटक सामूहिक रुपमा प्रश्न उठाएका छन् । एनआरएनएको विधानविपरीत एकलौटी ढंगले केही व्यक्तिलाई लिएर संस्था अघि बढाएको आरोप जारी विज्ञप्तिमा लगाइएको छ । पूर्वअध्यक्ष जीवा लामिछाने छायांमा परेर अध्यक्ष भट्ट गुटमा परिणत भएको आरोप छ ।

विज्ञप्तिमा युरोपस्तरीय भेलामा मनपरी गर्ने अध्यक्ष भट्ट, महासचिव बद्री केसी र पूर्वअध्यक्ष जीवा लामिछानेको दादागिरीविरुद्ध प्रतिरोध गर्ने चेतावनी दिइएको छ । एनआरएनएको आगामी अधिवेशनमा अध्यक्षका दावेदार मानिएका उपाध्यक्ष आचार्यलाई युरोप सम्मेलनमा भूमिकाविहीन बनाइएको थियो ।

नेतृत्वसमक्ष राखिएका २० बुँदे विज्ञप्तिमा आफ्ना मागलाई बेवास्ता गरी एकलौटी ढंगले अघि बढे आगामी १२औं युरोप बैठक तथा १० औं महिला बैठकमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 30 = 40