प्रचण्डले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमा दाबी गरेपछि ओली आक्रोशित, यसकारण वामदेव गौतमलाई निर्वाचन लड्नबाट रोकियो

  • 1.5K
  •  
  •  
    1.5K
    Shares

काठमाडौं, २७ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकमा पार्टी एकताका विवादित विषय टुंगो लगाउने एजेन्डा भए पनि धेरै विषयबारे छलफल हुने भएको छ ।

खासगरी भारत भ्रमणका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई वर्षभित्र आफूलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री दिने भित्री सहमति केपी ओलीसँग भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराएको कुराले धेरै चर्चा पाएको छ । भारतीय सञ्चारमाध्यममा आफूले सो विषय भारतीय प्रधानमन्त्री मोदीलाई जानकारी गराएको भन्ने कुराले प्रधानमन्त्री ओली निकै असन्तुष्ट भएको स्रोतले बताएको छ ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच गत जेठ ३ गते एकता हुँदा दुई वर्षपछि आफूले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पाउने प्रचण्डको दाबी छ । तर, नेकपाका नेताहरूले यस्तो सहमति नभएको बताउँदै आएका छन् । पार्टीमा भएको सहमति प्रचण्डले भारतमा गएर सार्वजनिक गरेपछि ओली उनीसँग असन्तुष्ट भएका हुन् ।

गत वर्ष असोज १७ गते वाम गठबन्धन हुँदा निर्वाचन भएको ६ महिनाभित्रै दुवै पार्टी एकता भइसक्ने सहमति भएको थियो । तर, नेकपामा अहिलेसम्म तल्ला तह र जनवर्गीय संगठनबीच एकता हुन सकेको छैन । त्यति मात्र होइन, नेकपाको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् । उनले राजीनामा फिर्ता लिएका छैनन् भने पार्टीले स्वीकृत पनि गरेको छैन ।

यही बीचमा पार्टी अध्यक्ष ओलीले जिल्ला जिल्लामा आफ्नो पक्षलाई निमिट्यान्न पारेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पनि असन्तुष्ट छन् । उनले नेतृत्व नसच्चिए समानान्तर कमिटी गठन गर्ने चेतावनी दिइसकेका छन् ।
यस्तै, सांसद निर्वाचित भएर आएमा आफ्नो प्रधानमन्त्रीको कुर्सी धरापमा पर्ने आशंका गर्दै वामदेव गौतमको उपनिर्वाचन लड्ने चाहना ओलीकै कारण तुहिएको छ । दुई तीनजना पार्टीका सांसदले आफ्ना लागि पदबाट राजीनामा दिन लाग्दा पनि प्रधानमन्त्री ओलीले भाँजो हालेको आरोप गौतमको छ । सोही कारण गौतम ओलीसँग रुष्ट बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 82 = 85