प्रचण्डको भारत भ्रमणले किन बिगार्‍यो केपी ओलीसँगको सम्बन्ध?

  • 180
  •  
  •  
  •  
  •  
    180
    Shares

काठमाडौंः नेकपा एकताको घोषणाको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘टेम्पो चलाउने हो र एकजना, यहाँ त जेट उडाउने कुरा छ त्यही भएर दुई जना अध्यक्ष।’ दुईजना अध्यक्ष राखेर चलिरहेको देशकै ठुलो पार्टीभित्र अहिले गम्भीर खटपट देखिएको छ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षको हैसियतमा गत साता भारतको भ्रमण गरेपछि यो खटपट थप बढेको हो। प्रचण्डको भारत भ्रमणका भित्री पाटो खुल्न त केही समय लाग्ला तर उनको दुईवटा अभिव्यक्तिले बजार तातिएको छ।

प्रचण्डले एक अन्तर्वार्तामा भनेका छन्, ‘नेकपामा ओलीजी र मैले अध्यक्ष र प्रधानमन्त्री मध्ये एउटा एउटा पद लिने समझदारी बनिसकेको छ।’ प्रचण्डको यो अभिव्यक्तिले पूर्व एमाले पक्ष नमज्जासँग झस्किएको छ। मिति तय भइसकेको नेकपा हेडक्वार्टर र सचिवालय बैठक नै अनिश्चित बन्ने देखिएको छ।

दोस्रो, पूरक बजेट। प्रचण्डले भारत जानू अघि निवासमा निकटका पत्रकारलाई बोलाएर पूरक बजेटमार्फत वृद्धभत्ता ५ सय बढाउने तयारी गरिरहेको भन्दिए। नेपालमा मात्रै बोलेनन् उनले भारतमा आयोजित एक अन्तर्क्रियामा पनि पूरक बजेटको प्रसंग उठाए।

किन झस्कियो नेकपाको ओली सूमह?

पार्टीको विधान र तल्ला तहको एकता प्रक्रियामा जारी विवादले नेकपाको एकताबारे अनेकन टिप्पणी भइरहेको छ। विवादकै बीच कम्तिमा अबको महाधिवेशनसम्म केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा रहने पूर्व एमाले पक्षधरको विश्वासमाथि प्रचण्डको अभिव्यक्तिपछि झस्किएको हो।

प्रचण्डले पार्टी र सरकार दुवैको काममा भाँजो हाल्न नयाँ ‘तुरुप’ प्रयोग गरेको भन्दै एउटा समूह उनको आलोचनामा उत्रिएको छ। माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसमेतको साथ पाएपछि ओलीमाथि प्रचण्डले अस्त्र प्रहार गरेको अनुमान ओली पक्षको छ।

तर यही बीचमा जनमत बुझ्न भन्दै डोल्पा गएका पर्यटन राज्यमन्त्री धनबहादुर बुढा बामदेव गौतमका लागि सिट छोड्न राजी नभएपछि प्रचण्डसमेतको योजनामा तत्कालका लागि ठेश लागेको विश्लेषण नेकपाकै नेताहरुले बताउने गरेका छन्। ‘बामदेवलाई संसदमा प्रवेश गराउने भनेको भावी प्रधानमन्त्रीका रुपमा अघि बढाउने प्रचण्डको तयारी हो,’ नेकपाका एक नेता भन्छन्, ‘कम्तिमा प्रधानमन्त्रीले त्यसलाई अहिले रोक्न सफल हुनु भयो।’

किन चाहियो पूरक?

प्रचण्डले तर्क गरेका छन्, ‘केही लोकप्रिय कार्यक्रम ल्याएर सरकारले केही गर्दैछ भन्ने अनुभूति नागरिकलाई दिनुपर्ने भएको छ, यसका लागि पूरक बजेट ल्याउने र वृद्धभत्ता बढाउने।’

तर यसबारेमा अर्थमन्त्री डा युवराज पहिल्यै भनिसकेका छन्, ‘यो ५ वर्षे सरकार हो। सबै कुरा एउटै वर्षमा पुरा गर्ने भनिएको होइन।’  अझ राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसदले उठाएका प्रश्नमा उनले भनेका थिए, ‘वृद्धभत्ता मैरै कन्सेप्ट हो यसबारेमा धेरै सिकाइरहनु पर्दैन।’

सरकारले कुनै ठुला कार्यक्रम गर्न खोजेर, विकास निर्माणका लागि बजेट आवश्यक भएर वा कुनै नयाँ काम थाल्नका लागि चालु वर्षको विनियोजन ऐनले बाधा पुर्‍याएर पूरक बजेट ल्याउन खोजिएको होइन। विगतमा तीव्ररुपमा हुने सरकार परिवर्तनको सबैभन्दा ठुलो प्रभाव मुलुकको अर्थ व्यवस्थामा पर्‍यो। अस्थीर सरकारले निर्वाचनमुखी कार्यक्रम घोषणा गर्दा न घोषणा गरिएका कार्यक्रम कार्यान्वयन् हुन नसके न त्यसले अर्थतन्त्रमा प्रभाव पार्‍यो। दाहालले फेरि यस्तै अस्थिरताका लागि पूरकको प्रसंग उठाएका छन्।

खतिवडाले भनेजस्तै दुवै अध्यक्ष बजेटबारे ‘कन्भिन्स’ थिए भने अहिले पूरक बजेटको एजेण्डा कसरी अघि आयो? यस विषयमा भने दाहालले जवाफ दिएका छैनन्।

के हुन सक्छ ओलीको नयाँ अस्त्र?

ओली निकट स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि हालतमा पुरक बजेटमा सकारात्मक हुने छैनन्। आफैँले ल्याएको बजेट कार्यान्वन् नभई पूरकको चर्चा गर्नु सरकारको काममा हस्तक्षेप गरेको ओलीको बुझाई छ।

यही बीचमा ओली र दाहालबीच मन्त्रीहरुको कार्यसम्पादनका विषयमा छलफल भएको थियो। स्रोतका अनुसार प्रचण्डकी बुहारी खानेपानी मन्त्री विना मगरले परिपक्व काम गर्न नजानेको भन्दै ओलीले सुरुमै आलोचना गरेपछि प्रचण्डले यो विषयमा ‘प्रधानमन्त्रीले जे गर्नुहुन्छ त्यही ठीक’ भन्ने अभिव्यक्ति दिएका हुन्।

यसले मन्त्रीहरुलाई तत्काल राहत दिएको र सरकारमाथि हस्तक्षेप बढाउने प्रचण्डको तत्कालको योजना फेल भएको अनुमान नेकपा सम्बद्ध नेताहरुले गरेका छन्।

पार्टीभित्रको समीकरण आफू अनुकूल बढाउन ओली माधव नेपाल समूहलाई फकाउने अस्त्र प्रयोग गर्न लागेका छन्। यसका लागि प्रदेश नं ५ को जिल्ला नेतृत्व छनौटमा पुनरावलोकन गर्ने तयारी ‌ओलीको छ। पूर्व एमालेभित्र प्रदेश नं ५ का विवाद छ। नेपाल समूहलाई समेटेर अघि बढ्ने ओलीको तयारी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = 2