नेविसंघमा ३२ वर्षे उमेर हदबन्दीले कांग्रेसमा भाँडभैलो, शीर्ष नेताकै असहमति, कुन्दनसहित क–कसको बाटो बन्द ?

  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हदबन्दी कायम गर्ने निर्णय सदर गरेपछि भाँडभैलो मच्चिएको छ । पार्टीको यो निर्णयसँगै नेविसंघको अध्यक्ष बन्न चाहने धेरैको इच्छामा तुषारापात भएको छ ।

अघिल्लो महाधिवेशनका बेला नेविसंघमा ३२ वर्षे उमेर हदबन्दी लगाउने निर्णय गरेर निर्वाचनमा गएको थियो । सो अधिवेशनबाट नैनसिंह महर अध्यक्षमा निर्वाचित भएका थिए । तर, कार्यसमितिमा अधिकांश कोइराला–पौडेल पक्षका नेता कार्यकर्ता निर्वाचित भएपछि महरले राम्ररी काम गर्न पाएनन् । नेविसंघको अध्यक्षका धेरै आकांक्षी पदाधिकारीमा निर्वाचित भए, कोही मनोनीत भए ।

तर, लामो बहस र छलफलपछि आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ३२ वर्षे उमेर हदबन्दी सदर गरेको हो । यो निर्णयले नेविसंघको वर्तमान नेतृत्वप्रति आक्रामक अभियान सञ्चालन गरिरहेका महामन्त्री कुन्दनराज काफ्ले, निलकण्ठ रिजाल, उर्मिला थपलिया, सरोज थापालगायतलाई अध्यक्ष बन्ने बाटो बन्द गरिदिएको छ ।

विधान र नियमावलीको अन्तिम टुंगो लगाउन सिफारिस गर्दा नेविसंघको नेतृत्वले ३२ वर्षे उमेरहद हटाउन प्रस्ताव गरे पनि पार्टी नेतृत्वले पहिलेकै व्यवस्थाअनुसार ३२ वर्षे उमेरहद कायम नै रहने निर्णय गरेको हो । अब नेविसंघमा ३२ वर्ष कटेका कुनै पनि नेताले महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

३२ वर्षे उमेरहद लगाउने वा नलगाउने भन्नेमा नेताहरूबीच मत बाझिएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले नेविसंघको विधानमा पर्याप्त छलफल गर्न माग गरेका थिए । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले विधानमा पर्याप्त छलफल गर्न नपाएको गुनासो गरे पनि उनीहरूको गुनासोको सुनुवाइ भएन ।

पार्टीको यो निर्णयले पौडेल–सिटौला पक्षका धेरै नेता कार्यकर्ताको नेविसंघमा राजनीति गर्ने बाटो बन्द गरिदिएको छ । जो जो पैसा उठाएर नेविसंघमा राजनीति गर्न खप्पिस थिए, उनीहरूले अब कि तरुण दल कि पार्टी राजनीति गर्नुपर्ने भएको छ । मनोजमणि आचार्य, नैनसिंह महर, कुन्दन काफ्ले, उर्मिला थपलिया, सरोज थापा, रामप्रसाद अधिकारी, नवीन राई, निलकण्ठ रिजाललगायतका नेताहरू अब पार्टी राजनीतिमा लाग्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।

पार्टीको यो निर्णयसँगै नेविसंघको १३ औं महाधिवेशन अन्योलमा परेको छ । अब ३२ वर्ष कटेकाले प्रतिस्पर्धा गर्न नपाउने भएकाले सबै तहमा फ्रेस विद्यार्थी आउने भएका छन् । अहिले पार्टीभित्र ३२ वर्ष नकटेका युवा विद्यार्थीको खोजी सुरु भएको छ । अहिलेकै कार्यसमितिमा रहेका राम्रा विद्यार्थीले नेविसंघको नेतृत्व गर्ने अवसर पाउने भएका छन् । जसमा उपाध्यक्ष सागर परियार, सहमहामन्त्री प्रेम जोशी अध्यक्षका रूपमा चर्चामा आएका छन् ।

शीर्ष नेताकै असहमति

बैठकको निर्णयमा कांग्रेस शीर्ष नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असहमति जनाएका छन् ।

‘नेपाल विद्यार्थी संघले सर्वसम्मतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको नेपाल विद्यार्थी संघको विधान २०२७ सातौं संसोधन २०७५ लाई पन्छाएर विधि , प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गर्दै छुट्टै विधान मस्यौदा प्रस्तुत भएको र अध्ययन गर्ने समयसम्म नदिई विधान जस्तो मात्वपूर्ण कुरालाई बैठकमा प्रस्तुत नै नगरी नेविसंघको अधिवेशनसमेत नगर्ने मनसायले विधानलाई आंशिक पास गरियो भन्नु सम्पूर्ण रुपले प्रकियाविपरीत छ । यो निर्णयले पार्टी तथा पार्टीका संस्थाहरुको संस्थागत विकास र लोकतान्त्रिक प्रक्रियामा गम्भिर आघात पारेको हाम्रो ठहर छ। तसर्थ हामी यो निर्णयमा असहमति प्रकट गर्दछौं,’ निर्णयमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

21 − 20 =