केपी ओलीले घोषणा गरेर पनि नसकेका योगेश भट्टराईलाई प्रचण्डले मन्त्री बनाउने

  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी ओलीले ताप्लेजुङ पुगेर चुनावी सभामा जनताका माझमा युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाएरै छाड्ने घोषणा गरेका थिए । तत्कालीन एमाले अध्यक्ष रहेका ओलीले ताप्लेजुङवासीलाई ‘तपाईहरू योगेशलाई जिताएर पठाउनूस् मन्त्री बनाउने जिम्मा मेरो भो’ भनेका थिए । तर, ओलीले २५ सदस्यीय मन्त्रिपरिषदमा योगेशलाई ठाउँ दिएनन् ।

योगेशलाई मन्त्री बनाउने मात्र होइन, संसद्को कुनै पनि समितिमा महत्वपूर्ण जिम्मेवारी दिन चाहेनन् । त्यति मात्र होइन, योगेशको बालुवाटार प्रवेश नै ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका कारण बन्द भएको छ । युवा पुस्ता र पार्टीमा पनि प्रभावशाली मानिएका योगेशलाई पार्टीमा जिम्मेवारी दिएमा आफूहरू पछि पर्ने ओली निकट नेताहरूको निष्कर्ष छ ।

तर, ओलीबाट तिरस्कृत गरिएका तिनै योगेशलाई अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बनाउने घोषणा गरेका छन् । ‘मैले केपीजीले ताप्लेजुङ पुगेर गर्नुभएको घोषणा युट्युबमा हेरेको थिएँ, उहाँले योगेशजीलाई तोकेरै मन्त्री बनाउने घोषणा गर्नुभएको रहेछ,’ ताप्लेजुङको पाथीभारा दूत प्रमाणपत्र वितरण कार्यक्रममा बुधबार प्रचण्डले भने, ‘हामीले अहिलेसम्म त्यो जिम्मेवारी पूरा गर्न भ्याएका छैनौं, केपीजी र म मिलेर त्यो घोषणा एक दिन पूरा गरेरै छाड्छौं ।’

प्रचण्डको यो घोषणालाई योगेशलाई आफ्नो पक्षमा पार्न गरेको रणनीति मानिएको छ । योगेश अहिले माधवकुमार नेपाल समूहमा छन् । स्थायी कमिटी सदस्य रहेका योगेश जता लाग्यो, नेकपामा त्यो समूह बलियो बन्ने स्थिति अहिले छ । आगामी डेढ वर्षभित्र नेकपाको एकता महाधिवेशन हुँदैछ । त्यसका लागि अहिलेदेखि नै नेकपामा राजनीतिक समीकरण परिवर्तन सुुरु भएको छ । सोही कारण प्रचण्डले योगेशलाई आफ्नो पक्षमा पार्न चाहेको बताइएको छ । ओलीसँगको सहमतिअनुसार अबको १६ महिनापछि प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । त्यसबेला योगेशलाई महत्वपूर्ण जिम्मेवारी दिने मनस्थितिमा प्रचण्ड पुगेको स्रोतले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

25 ÷ 5 =