इन्स्टाग्राममा ‘बच्चा बेच्न राख्ने’ चार पक्राउ

  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

एजेन्सी, २६ असोज । इन्डोनेसियामा सामाजिक सञ्जाल प्रयोग गरेर बच्चाको अवैध व्यापार गर्न खोजेको आरोपमा चारजनालाई पक्राउ गरिएको छ ।

एउटा परिवार कल्याण संस्थाको नाममा खोलिएको इन्स्टाग्राम खातामा गर्भवती महिला, अल्ट्रासाउन्ड स्क्यान र बच्चाहरूको तस्बिर प्रेषित गरिएको बीबीसीले जनाएको छ ।

सुरबायाका प्रहरीका अनुसार ह्वाट्स्यापमार्फत् सम्पर्क गर्न भनेर सम्भावित ग्राहकलाई टेलिफोन नम्बर पनि उपलब्ध गराइएको थियो । प्रहरीका अनुसार बच्चा बेच्न लागेको एउटा घटना उनीहरूले हुन दिएनन् भने बेचिएको अर्को बच्चाको खोजी भइरहेको छ ।

सुरबायाका प्रमुख गुप्तचर अधिकारीले एउटा स्थानीय सञ्चारमाध्यमलाई धर्मसन्तान पाल्ने इच्छा भएका व्यक्तिले त्यो खातामार्फत् सो समूहलाई सम्पर्क गर्ने र ह्वाट्स्यापबाट लेनदेनको सहमति हुने गरेको बताएका छन् । सो समूहले इन्स्टाग्राममा आफूलाई पारिवारिक समस्या समाधान गर्न सेवा प्रदान गर्ने संस्थाका रूपमा चिनाएको डेटिक न्यूज वेब्साइटले जनाएको छ ।

सात सय फ्लोअर रहेको सो खातामा अनुहार धमिलो बनाइएका बच्चाका तस्बिरसँगै तिनको उमेर, स्थान र धर्मबारे जानकारी राखिएको छ ।

बच्चा लेनदेनका लागि दुई पक्षबीच भएको भन्ठानिएको सम्वादका तस्बिर पनि प्रेषित गरिएको छ । एउटा तस्बिरमा एउटी महिलाले आफू सात महिनादेखि गर्भवती रहेको तर परिवारले यसबारे थाहा नपाओस् भन्ने चाहेको बेहोरा भएको सम्वाद पनि देखिन्छ ।

अर्को पोस्टमा एउटी गर्भवती महिलाको तस्बिर र ठेगाना दिएर बच्चा पाल्न इच्छुक व्यक्तिले उनीसँग सम्पर्क गर्न भनिएको छ । तर बच्चा किन्ने र बेच्ने कुरा भने कतै उल्लेख गरेको भेटिँदैन ।

बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले गत सेप्टेम्बर ५ मा हुन लागेको बच्चा किनबेचको एउटा घटना रोक्दै चार जनालाई पक्राउ गरेको जनाएको थियो । प्रहरीका अनुसार एउटी २२ वर्षीया महिलाले आफ्नो ११ महिने बच्चा बेच्न खोजेकी थिइन् ।

बच्चा किन्न खोज्ने मानिसले उनलाई एक करोड पचास लाख इन्डोनेसियाली रुपैयाँ अर्थात् झन्डै ९८५ डलर, एउटा मध्यस्थकर्तालाई ५० लाख रुपैयाँ र सो इन्स्टाग्राम खाता सञ्चालक भनिएका एक व्यक्तिलाई २५ लाख रुपैयाँ दिनुपर्ने थियो । सो कारोबारमा संलग्न भएका भनिएका चारैजनालाई पक्राउ गरिएको र बालसंरक्षण कानुन उल्लंघनको अभियोगमा उनीहरूलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ ।

इन्डोनेसियाको बालसंरक्षण आयोगकी उपाध्यक्ष रिता प्रानवतीले पहिला पनि बच्चा तस्करीको घटनाहरू भएका बीबीसीलाई बताएकी छन् । उनी भन्छिन्, “तर इन्स्टाग्रामबाट हुनु भनेको दुर्लभ हो । यो नयाँ शैली हो ।’ किन्ने मान्छेको उद्देश्य स्पष्ट नभए पनि प्रानवतीका अनुसार पाल्ने रहर भएका मानिसले अवैध रूपमै भए पनि बच्चा लिन्छन् । तर कम उमेरमै यौनव्यवसायमा लगाउन पनि बच्चा पाल्ने गरिएका घटना पाइएको उनी बताउँछिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 48