चाडपर्व सकिएलगत्तै ओली सरकारविरुद्ध भीषण सडक आन्दोलन, यस्तो छ सरकार ढाल्ने तयारी

  • 236
  •  
  •  
  •  
  •  
    236
    Shares

काठमाडौं, १८ कात्तिक । एक वर्षअघि सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा दुई तिहाइ बहुमत दिए पाँच वर्षसम्म स्थिर सरकार दिने भनी कांग्रेस र कम्युनिस्ट पार्टीहरूले जनतासँग मत मागेका थिए । जनताले दुई ठूला कम्युनिस्ट पार्टीले भारी बहुमत दिए । जसअनुरूप वामपन्थी सरकार मुलुकमा रहेको छ ।

तर, एक वर्षअघि जनतासँग गरेको बाचाअनुरूप सरकारले काम गर्न नसकेको भन्दै जनता प्रधानमन्त्री केपी ओली सरकारसँग निकै असन्तुष्ट छन् । सरकार बनेको ६ महिनादेखि नै जनताले ओली सरकारको विकल्प खोज्न थालिसकेका छन् । तर, विपक्षी पार्टी नेपाली कांग्रेससँग सरकार बनाउने हैसियत छैन । सोही कारण पनि कम्युनिस्ट सरकारको विकल्प अहिले देखिन्न । तैपनि विपक्ष दलहरू चाडपर्व सकिएलगत्तै सरकारविरुद्ध भीषण सडक आन्दोलनमा लाग्ने भएका छन् ।

विभिन्न छुट्टाछुट्टै माग गर्दै राजनीतिक दलहरू आन्दोलन गर्ने आन्तरिक तयारीमा जुटिसकेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल), नयाँ शक्ति पार्टी नेपाल आन्दोलन गर्ने रणनीतिमा लागेका हुन् । पञ्चहरूको पार्टी राप्रपाले पनि आन्दोलनमा जाने धम्की दिएको छ ।

संविधान संशोधनसहित हत्या, हिंसा, बलात्कारजस्ता आपराधिक क्रियाकलाप, महँगी वृद्धिलाई उनीहरूले आन्दोलनका एजेन्डा बनाएका छन् । नेपाली कांग्रेसले ओली सरकार असफल भइसकेको निष्कर्ष निकालेको छ । उसले बढ्दो महँगी, विकास निर्माण, वैदेशिक सहयोग र सम्बन्धलगायतको विषयमा सरकारको कडा आलोचना गरेको छ । न्यायालय, नेपाली सेना र संवैधानिक अंगमा सरकारले हस्तक्षेप गरेको भन्दै कांग्रेस आन्दोलित भएको हो । उसले सडक र सदनमा एकैचोटि आन्दोलन गर्ने बताएको छ ।

यसैगरी, राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै छठ पर्वपछि आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै राजपा नेपालले समर्थन फिर्ता लिने चेतावनी दिइसकेको छ । राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै सरकारलाई समर्थन किन गर्ने भन्ने प्रश्न सोधेको थियो ।

सरकार गठन भएको सात महिना भइसक्दा समेत आफूहरूले उठाउँदै आएको माग सम्बोधन नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता किन नलिने भन्ने प्रश्न राजपा नेपालले प्रधानमन्त्री ओलीसँग गरेको छ । संविधान संशोधन, सांसद रेशम चौधरीको सपथ एवं रिहाइ, मधेस आन्दोलनका क्रममा लगाइएको झूटा मुद्दा फिर्तालगायतका विभिन्न माग गर्दै राजपा नेपालले संघर्ष गर्दै आएको छ । यही माग गर्दै राजपा नेपाल सडक र सदनमा आन्दोलन गर्ने तयारी गरेको छ ।

नयाँ शक्ति पार्टी नेपालले संविधान संशोधनका लागि जनजागरण अभियान सुरु गर्ने निर्णय गरेको छ । सातवटै प्रदेश पुनर्सिमांकन गर्नुपर्ने माग अघि सारेको छ । नयाँ शक्ति पार्टीको महाधिवेशन आयोजक कमिटी बैठकले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने उदेश्यले जनजागरण अभियान सुरु गर्न लागिएको पार्टीले जनाएको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक संसद्, स्थानीय तहहरूको सबलीकरण, प्रदेशहरूको पुनर्सिमांकन, सुशासनका लागि अख्तियार र कर्मचारी तन्त्रको पुनर्गठन, विदेशमा बस्ने नेपालीलाई मताधिकारलगायतका माग नयाँ शक्तिले गरेको छ । बैठकले दुई तिहाइको कम्युनिस्ट सरकार सबै क्षेत्रमा असफलतातिर उन्मुख भएको र कम्युनिस्ट–कांग्रेस नेतृत्वको पुरानो राजनीतिक ध्रुव देशको समृद्धिको युगको नेतृत्व गर्न असक्षम रहेको निष्कर्ष निकालेको छ ।

सत्तारुढ नेकपाभित्रै पनि सरकारको गतिविधिलाई लिएर असन्तुष्टि देखिएको छ । नेकपाका अर्का अध्यक्ष प्रचण्डले आफैं प्रधानमन्त्री बन्ने खेल थालिसकेका छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेता प्रधानमन्त्री ओलीसँग मात्र होइन, अधिकांश मन्त्रीहरूसँग असन्तुष्ट रहेकाले विपक्षी दलहरूको सडक आन्दोलन सरकरका लागि महँगो पर्ने देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =