पक्राउ गरिएका साउदी राजकुमार रिहा

  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

एजेन्सी, १८ कात्तिक । भ्रष्टाचारविरुद्धको कारबाहीको आलोचना गरेको आरोपमा पक्राउ गरिएका एक साउदी राजकुमारलाई रिहा गरिएको छ ।

राजकुमार खालिद बिन तलालका आफन्तले उनको स्वागत गरिरहेका तस्वीरहरू सामाजिक सञ्जालमा राखेका छन् । करिब एक वर्षअघि नियन्त्रणमा लिइएका राजकुमार खालिद साउदी राजा सलमानका भतिजो हुन् ।

खालिदका दाजु राजकुमार अलवालीद बिन तलालसहित दर्जनौँ राजकुमार तथा अरू शक्तिशाली व्यक्तिहरूलाई भ्रष्टाचारविरुद्धको कारबाहीका क्रममा गत वर्ष पक्राउ गरिएको थियो ।

पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणलाई लिएर साउदी युवराज मोहम्मद बिन सलमानले व्यापक दबाब झेलिरहेका बेला पछिल्लो खबर प्रकाशमा आएको बीबीसीले जनाएको छ । विश्लेषकहरू भन्छन्, साउदी अधिकारीहरू राजपरिवारभित्रबाट समर्थन बढाएर अहिलेको संकट निवारण गर्न चाहेको देखिन्छ ।

राजकुमार खालिदकी भतिजी राजकुमारी रीम बिन्त अलवालीदले सामाजिक सञ्जालमा अरू सदस्यहरूसँग उनको तस्वीर राख्दै लेखेकी छन्, ‘तपाईँको सुरक्षाका लागि ईश्वरलाई धन्यवाद छ ।’ आफन्तहरूले राखेका अरू तस्वीरहरूमा रिहा भएका राजकुमारले कैयौँ वर्षदेखि कोमामा रहेका आफ्ना छोरालाई चुम्बन गरिरहेको देखिन्छ ।

साउदी सरकारले राजकुमार खालिदलाई पक्राउ र रिहा गर्नुबारे कुनै औपचारिक जानकारी दिएको छैन ।

तर वाल स्ट्रीट जर्नलका अनुसार गत वर्ष दुई सयभन्दा बढी राजकुमार, मन्त्री तथा व्यापारीहरूलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएकोमा राजकुमार खालिदले त्यसको आलोचना गरेका कारण उनलाई ११ महिला नियन्त्रणमा राखियो । ती सबैजनालाई राजधानी रियादस्थित पाँचतारे होटल रिट्ज(कार्लटनसहितका होटलमा राखिएको थियो ।

विश्लेषकहरूका अनुसार युवराज मोहम्मद बिन सलमानले आफूमा शक्ति एकीकृत गर्ने प्रयासस्वरुप भ्रष्टाचारविरुद्धको कारबाही थालेका थिए । भ्रष्टाचारविरुद्ध कारबाही सुरू भएलगत्तै साउदी महान्यायाधिवक्ताले लामो समयको अन्तरालमा १०० अर्ब डलरभन्दा बढी रकम बराबरको संगठित भ्रष्टाचार भएको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

85 − 77 =