अर्घाखाँचीमा १३ जना मान्छे खाने नरभक्षी चितुवा समात्न पाँचवटा टोली

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १९ कात्तिक । एक दर्जनभन्दा बढी बालबालिकालाई मारेको अनुमान गरिएको एउटा नरभक्षी चितुवालाई घेरा हालेर समात्ने प्रयास भइरहेको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यसअघि पनि उक्त चितुवालाई समात्ने प्रयास भइरहेकोमा शनिवार घरको आँगनमा खेलिरहेको एक चार वर्षीय बालकलाई मारेपछि सुरक्षा निकायमाथि चितुवा समात्न थप दबाब परेको हो ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका जिल्ला वन अधिकृत अजयविक्रम मानन्धरका अनुसार उक्त चितुवाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना तथा वन कर्मचारीसहितका पाँचवटा टोली त्यहाँको वनमा परिचालन गरिएका छन् । यसअघि पनि मान्छेमाथि पटक पटक आक्रमण गरेकोले सो चितुवा मान्छे खान पल्केको अधिकारीहरूको निष्कर्ष छ ।

‘त्यसलाई समाउनका लागि स्थानीय जनतासँग पनि मिलेर पाँचवटा टोली बनाउने भन्ने निर्णय भएको छ। गत वर्ष पनि घटना भएका हुनाले त्यो नरभक्षी नै हो भन्ने देखिएको छ । पोहोर चितवन राष्ट्रिय निकुञ्जबाट विशेषज्ञ आएर खोजे पनि नभेटिएको रहेछ,’ मानन्धरले भने।

करिब तीन वर्षको अवधिमा सदरमुकाम सन्धिखर्क क्षेत्रमा मात्र चितुवाको आक्रमणमा परी १३ जना बालबालिकाले ज्यान गुमाएका छन् । स्थानीय सहयोगी बीसीका अनुसार अहिले चितुवाका कारण स(साना बालबालिका बाहिर निस्कन समेत डराइरहेको अवस्था छ ।

चितुवाले बालबालिकालाई लगातार शिकार बनाउन थालेपछि न्युजिल्याण्डका एक बाघ विशेषज्ञ ज्याक किम रोनको टोलीले पनि सो क्षेत्रको निरीक्षण गरेको थियो । अध्ययनपछि ती विशेषज्ञले सन्धिखर्कको सो चितुवा’ वयस्क, अनुभवी र चलाख’ भएको बताएको टोलीका एक सदस्य सुरेन्द्र आचार्यले बताए ।

पछिल्लो समय देशका विभिन्न जिल्लामा चितुवा र मान्छेबीच द्वन्द्व बढ्दै गएको पाइएको वन्यजन्तु संरक्षणकर्ताहरू बताउँछन् । साधारण जातका यस्ता चितुवा नेपालमा संरक्षित वन्यजन्तुमा भने पर्दैनन् ।

बीबीसीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 5 = 35