अमेरिकाले इरानमा प्रतिबन्ध लगाउँदा नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने निगमको भनाइ

  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं, २० कात्तिक । एउटा प्रमुख तेल उत्पादक राष्ट्र इरानमाथि अमेरिकाले पुनः प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय तेल बजारमा आउन सक्ने उतारचढावको असरबाट नेपालसमेत अलग रहन नसक्ने नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार अवस्था हेरेर पेट्रोलियम पदार्थको नयाँ मूल्य समायोजन गर्नु पर्ने स्थितिसम्म आउन सक्छ । नेपाल आयल निगमका अधिकारीहरूका अनुसार तेलको मूल्य अस्थिर हुन थालेको केही साता भइसकेको छ ।

पछिल्लो समय प्रतिब्यारल ७० अमेरिकी डलर माथि रहेको कच्चा तेलको मूल्य यसबीच एक सातामै १० प्रतिशतसम्मले बढेको छ ।

त्यसै पनि अमेरिकी डलरको तुलनामा कमजोर बनिराखेको नेपाली रुपैयाँका बीच डलरमै खरिद हुने पेट्रोलियम पदार्थको मूल्यमा हुने वृद्धिको थप मार पर्ने देखिन्छ । कच्चा तेलको मूल्य एक डलर मात्र बढ्दा निगमलाई मासिक १८ करोडको भार पर्छ ।

नेपाली मुद्रा अमेरिकी डलरसँग एक रुपैयाँ मात्र कमजोर हुँदा हामीलाई मासिक १४ करोड रुपैयाँ घाटा पर्ने आयल निगमका निमित्त प्रबन्ध निर्देशक सुशील भट्टराई बताउँछन् ।

कच्चा तेलको मूल्य धेरै नै बढेमा सरकारी कोषले थेग्न नसक्ने र नयाँ मूल्य समायोजन गर्नुपर्ने हुनसक्ने उनले बताए । भारतको इन्डियन आयल कर्पोरेसनबाट सम्पूर्ण पेट्रोलियम पदार्थ आयात गर्ने नेपालको खपत दर बर्सेनी झन्डै एक चौथाइसम्मले बढिराखेको छ ।

पेट्रोलियमको मूल्य उतार चढाव हुँदा त्यसको असर सरकारी कोषसँगै बजारका चौतर्फी क्षेत्रमा हुने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय राजनीतिका कारण जतिबेला पनि नेपालमा पर्न सक्ने यस्ता सम्भावित असरबाट जोगिन उर्जाका स्थानीय स्रोतमै आफूलाई निर्भर बनाउनुपर्नेमा विज्ञहरूको जोड पाइन्छ ।

बीबीसीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 75 = 84