तिहारको मुखैमा कुखुरामा पनि सिन्डिकेट, किसानहरू आन्दोलित

  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं, २० कात्तिक । तिहारको मुखमा चितवनमा कुखुराको मूल्य घटेपछि किसानहरू आन्दोलित भएका छन् । उपभोक्ताले किन्ने मूल्यमा फरक नभए पनि आफूहरू भने लागत मूल्यभन्दा कममा व्यवसायीलाई कुखुरा बेच्न बाध्य भएको किसानहरूले बताएका छन् ।

कुखुरा व्यवसाय वा पोल्ट्रीको राजधानीका रूपमा रहेको चितवनमा एक्कासी कुखुराको मूल्य घटेपछि किसान निराश भएको बीबीसीले जनाएको छ ।

तिहारको मुखमै आएर ‘व्यवसायीहरूको सिन्डिकेट’ का कारण लागत मूल्यभन्दा कममा कुखुरा विक्री गर्नुपरेको नेपाल कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले बताए ।

‘सिण्डिकेट लागू भएको कारणले नै हामीले घाटा बेहोर्नुपरेको छ । हरेक पोल्ट्री सम्बन्धित संघसस्था र राज्यसँग हामी भन्न चाहन्छौँ कि वैज्ञानिक तरिकाबाट मूल्य निर्धारण होओस् । कुखुराको लागत मूल्य प्रतिकिलो मासु १७५ देखि १८० रुपैयाँ पर्ने गरेको छ । तर व्यवसायीहरूले १३० रुपैयाँमा किसानको खोरबाट लैजाने गरेका छन्,’ उनले भने ।

बजारमा कुखुराको मासुको मूल्यप्रति किलोग्राम ३०० रुपैयाँ को हाराहारीमा रहेपनि ज्युँदो कुखुराको मूल्य १३० रुपैयाँ मात्र रहेको उनले बताए । चाडबाडको बेला मासुको माग अत्यधिक हुने गर्छ । तर यतिबेला आफूले पाउने मूल्य घट्दा किसानहरू मर्कामा परेको किसान भवानी न्यौपानेले बताइन् ।

यस्तो अवस्था आउँदा समेत सम्बन्धित निकायको ध्यान जान नसकेको भनाइ किसाहरूको छ । व्यवसायीहरूले भने हाल कुखुराको उत्पादन बढी भएको कारण मूल्य घटेको बताएका छन्। तर उपभोक्ताहरूले चाहिँ सस्तोमा मासु खान पाएका छैनन् ।

किसानले उत्पादन गरेको कुखुराको मूल्य पोल्ट्रीसँग आबद्ध संघसस्था र नेपाल सरकारको प्रतिनिधिको रोहबरमा निर्धारण हुनुपर्ने माग किसानले गरेका छन् । नेपालमा पोल्ट्री व्यवसायमा ६० अर्ब रुपैयाँ लगानी रहेकोमा चितवनमा मात्र ३२ अर्बको लगानी रहेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तिलचन्द्र भट्टराईले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 ÷ = 8