प्रचण्ड र वामदेव गौतमबीच सम्बन्ध बिग्रिएकै हो त ? यस्तो छ भित्री खेल

  • 112
  •  
  •  
  •  
  •  
    112
    Shares

काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्य वामदेव गौतम अहिले दुई कित्तामा उभिएका छन् । लामो समयदेखि यी दुई नेताबीच हार्दिक सम्बन्ध रहँदै आएको छ ।
काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर वामदेवलाई उपनिर्वाचनका माध्यमबाट प्रतिनिधिसभामा ल्याउने प्रयास असफल भएपछि प्रचण्ड र वामदेवबीच सम्बन्ध चिसिएको चर्चा सुरु भएको छ । रामवीर प्रकरणले सबैभन्दा धेरै राजनीतिक क्षति वामदेव र त्यसपछि प्रचण्डलाई भएको छ । सोही कारण अहिले प्रचण्ड प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको पक्षमा लागेका छन् ।

केही समयअघिसम्म नेकपामा ओली र प्रचण्डको दुई गुट थियो । तर, विस्तारै नेकपामा ओली–प्रचण्ड–विष्णु पौडेल एक गुट र माधव नेपाल–वामदेव गौतम–झलनाथ खनाल–नारायणकाजी श्रेष्ठको अर्को समूह बनेको छ । स्वास्थ्य र मानसिक दुवै रूपमा ओली कमजोर भएपछि अहिले प्रचण्ड आफूलाई ओलीको वैकल्पिक नेता भन्दै देश दौडाहामा लागेका छन् । उनलाई नेकपा महासचिव विष्णु पौडेलले पनि साथ दिएका छन् । आगामी महाधिवेशनमा प्रचण्डपछिको उत्तराधिकारी बन्ने लालसाका साथ पौडेल अहिले उनीनिकट देखिएको नेकपाभित्र चर्चा चल्ने गरेको छ ।

स्रोतका अनुसार बाहिरी रूपमा एउटा दृश्य देखिए पनि भित्री खेल भने अर्कै रहेको छ । आगामी माघसम्ममा केन्द्र सरकारको नेतृत्व फेर्ने होमवर्क भइरहेको छ । त्यसका लागि वामदेव र प्रचण्डमध्ये एउटाले सरकारको विरोध गर्ने र अर्कोले उग्रसमर्थन गर्न सहमति गरेका छन् । गत शनिबार मात्र वामदेवले पार्टीको घोषणापत्रअनुसार सरकारले काम गर्न नचाहेको भाषण गरिरहेकै बेला प्रचण्ड भने अब सरकार गुड्ने मात्र होइन, उड्छ भनिरहेका थिए । आगामी माघसम्ममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने योजनाअनुसार दुवै नेताले एकै मिसनका लागि अलग–अलग भूमिका निर्वाह गर्ने सहमति भएको बुझिएको छ । सहमति भएको एक सातापछि आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध वामदेवले लबिङ सुरु गरेका छन् । उनले नेकपाका केही नेतामा दुई तिहाइको दम्भ रहेको दाबी गर्दै आफू पक्षीय सांसदहरूलाई भित्रैदेखि सरकारविरुद्ध लबिङ गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

त्यसको संकेतस्वरूप यसै साता भएको एक कार्यक्रममा उनले दिएको अभिव्यक्तिबाट पनि पुष्टि गर्दछ । ‘दुई तिहाइको सरकार हुँदा सबै काम हुने र बहुमतको सरकार हुँदा केही नहुने भन्ने होइन, ०१५ सालमा नेपाली कांग्रेसको दुई तिहाइ थियो । त्यसपछि कुनै एक पार्टीको सरकार दुई तिहाइको छैन । काम गर्ने संख्याले होइन, पार्टीको भिजनले हो,’ वामदेवको भनाइ थियो ।

उनले कांग्रेसले पनि पटकपटक बहुमत ल्याएको बताउँदै कालान्तरमा कांग्रेसभित्र देखिएको गुटबन्दीले सिध्याएको र नेकपामा त्यसको संकेत देखिएको दाबी गरेका थिए । उनी पक्षीय सांसदहरू घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायतले यसको जिम्मेवारी पाइसकेका छन् । भुसाललाई रूपन्देहीमा भएको पार्टीको चियापान कार्यक्रममा समेत सहभागी गराइएको थिएन भने झाँक्रीलाई संसद् र पार्टीभित्र कुनै जिम्मेवारी दिइएको छैन । त्यस्तै, केन्द्रीय सदस्य ठाकुर गैरे र प्रदेश सांसद किरण गुरुङ पनि यो टिममा सहभागी भएको स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × = 2