प्रधानमन्त्री ओलीप्रति बिजुक्छेको कटाक्ष, फोटो टाँस्दैमा सरकारको छवि राम्रो हुँदैन
18 - 18Shares
काठमाडौं, १४ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जताततै प्रधानमन्त्रीको फोटो टाँस्दैमा सरकारको छवि राम्रो नहुने बताएका छन् ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १७औं र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको १०औं वार्षिकोत्सव समारोहको उदघाटन कार्यक्रममा नेता बिजुक्छेले सरकारले राजनीतिलाई ख्यालठट्टाको विषय बनाएको आरोप लगाए । उनले सरकार निरीह र अपराधी संरक्षणको बाटोमा गएको बताए ।
केही दिनअघि प्रधानमन्त्री ओलीले अब जताततै सरकार देखिन्छ भन्दै सामाजिक सुरक्षा योजनाको प्रचार प्रसारमा देखाउनकै लागि आफ्नो फोटो बिजुलीको पोलमा राखेको बताएका थिए ।
‘शासक दलका नेताहरूको कामकारबाहीले गर्दा युवाहरूमा राजनीतिप्रति वितृष्णा जागेको छ । यसको जिम्मेवार ती शासक दलका नेता–कार्यकर्ताहरू नै हुन् । नयाँ पुस्ताले राजनीति गरेन भने देशको स्थिति झन् विकराल हुने छ,’ बिजुक्छेले भने ।
उनले शैक्षिक संस्था नाफा र कमिसन खानका निम्ति सञ्चालन गर्नु गलत भएको बताए । उनले पुँजीवादी व्यवस्थामा संघर्ष गर्न गाह्रो हुने, तर नेपाली सचेत हुन नसके धनी र गरिबबीचको खाल्डो झन् ठूलो हुने विचार राखे ।