नेकपाका २१ केन्द्रीय सदस्य बन्दैछन् शीर्ष नेताको टाउको दुखाईको विषय, ७७ जिल्लामै अभियान अघि बढाउने

  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं, १४ मंसिर । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्र युवा नेताहरू प्रभावशाली बन्दै गएका छन् । पार्टीका शीर्ष र वरिष्ठ नेताहरूको काम गराई शैलीका कारण आजित भएका युवा नेताहरूल समूह बनाएरै पार्टी नेतृत्वलाई चुनौती दिन थालेका छन् ।

नेपाली कांग्रेसमा गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल, कल्याण गुरुङलगायतको एउटा समूह शक्तिशाली युवा समूह खडा भएको छ । जसले पार्टीका शीर्ष नेताहरूको काम गराईको आलोचना गर्दै आएको छ ।

दुई साताअघि सत्तारुढ नेकपामा पनि २१ केन्द्रीय सदस्यहरूको एउटा प्रभावशाली समूह खडा भएको छ । युवा नेताहरू सम्मिलित २१ केन्द्रीय सदस्यले पहिलोपटक नै पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएर सबैको नोटिसमा परेका छन् । सो समूहमा ओली र माधवकुमार नेपाल समूहका नेताहरूको बाहुल्यता छ । उनीहरूले पार्टीका अध्यक्ष प्रचण्ड र प्रभावशाली नेता वामदेव गौतमलाई भेटेरै आफ्ना असन्तुष्टि र माग राखिसकेका छन् । उनीहरूको गतिविधि अहिले नेकपा नेतृत्वका लागि टाउको दुखाईको विषय बनेको छ ।

२१ जनाको युवा समूहमा जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, डा.विजय पौडेलगायत छन् । पार्टी नेतृत्वसँग असन्तुष्ट बनेका नेताहरूले जिल्ला तहमा पुगेर अभियान विस्तार गर्ने भएका छन् । पार्टीको नेतृत्व तहले पक्षपाती बनेको भन्दै लिखित पत्रसमेत बुझाएका कतिपय नेकपा नेताहरू पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका छन् । यस्तो अभियानको घोषणा गर्ने नेताहरूमा पूर्व एमाले तथा पूर्वमाओवादी दुवै खेमाका नेताहरू रहेका छन् । उनीहरूले देशभरका ७७ वटै जिल्लामा पुगेर समिति गठन गर्ने जनाएका छन् ।

ती नेताहरूको मागमा प्रचण्ड, वामदेव गौतमले आफ्नो साथ र सहयोग रहने बताइसकेका छन् । यो समूहको गतिविधिले सबैभन्दा बढी चिन्ता प्रधानमन्त्री ओलीलाई भएको छ । युवा केन्द्रीय सदस्यहरूले ओली सरकारको कडा आलोचना गरेका छन् । ओली पक्षले आफ्नो सरकारलाई कमजोर पार्न उनीहरूलाई माधव नेपाललगायतका नेताहरूले उचालेको आशंका गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 3