आदित्यनाथको जनकपुर भ्रमण निजी हुने, सरकारी भ्रमण गराउनबाट यसकारण पछि हटे केन्द्र र प्रदेश सरकार

  • 158
  •  
  •  
  •  
  •  
    158
    Shares

काठमाडौं, १७ मंसिर । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणलाई औपचारिकता दिनबाट लाई केन्द्र र प्रदेश सरकार पछि हटेका छन् । यद्यपि विवाह पञ्चमीमा आदित्यनाथलाई जनकपुरमा स्वागत गर्न प्रदेश २ सरकार तीव्र रूपमा लागिरहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले औपचारिक रूपमै आदित्यनाथको भ्रमणलाई औपचारिकता दिएमा नेपालको संविधान विपरीत हुने चेतावनी दिएपछि केन्द्र र प्रदेश सरकार पछि हटेका हुन् ।

राजतन्त्र पुनस्र्थापनाको वकालत गरिरहेका भारतीय मुख्यमन्त्री योगीलाई आमन्त्रण गर्दा गलत सन्देश जाने भन्दै कांग्रेसले आपत्ति प्रकट गरेपछि सरकार हच्किएको हो । सोही कारण अहिलेसम्म प्रदेश र केन्द्र सरकारले औपचारिक निमन्त्रणा पठाउने हिम्मत गर्न सकेको छैन ।

यही मंसिर २६ गते विवाह पञ्चमीको अवसर पारेर भारतीय मुख्यमन्त्री योगीलाई जनकपुर भ्रमण गराउने पहिलो प्रयास तुहिएपछि अहिले राजावादीहरूले दोस्रो प्रयास सुरु गरेका छन् ।

स्रोतका अनुसार राजावादीहरूले दोस्रो प्रयासस्वरूप रामजानकी मन्दिरका महन्थलाई प्रयोग गरेर योगी आदित्यनाथलाई जनकपुर भ्रमणका लागि आमन्त्रण गरेका छन् ।

मुख्यमन्त्रीका रूपमा नभएर योगीका रूपमा हुने उनको जनकपुर आगमनलाई राजनीतिक रूपमा विरोध गर्ने अवस्था रहन्न भन्ने कुरा बुझेपछि राजावादीहरूले यो अस्त्र प्रयोग गरेका हुन् । योगीको जनकपुर भ्रमणपछि मधेसी समुदायमा गणतन्त्रविरुद्ध गतिविधि बढ्ने आँकलन पूर्वराजा ज्ञानेन्द्र शाहले गरेका छन् ।

आदत्यनाथलाई व्यक्तिगत रूपमा आमन्त्रण गर्ने प्रयासअन्तर्गत पूर्वराजाले पूर्वआईजीपी हेमबहादुर सिंहका छोरालाई प्रयोग गरेको समाचार स्रोतले जनाएको छ । हेमबहादुर सिंहका छोरा प्रभञ्जन सिंह विगत चार वर्षदेखि साधुको भेषमा राजतन्त्र पुनर्बहालीको गतिविधिमा सक्रिय छन् ।

हिन्दु अतिवादी तथा धार्मिक संघ–संस्थाहरूलाई गणतन्त्र तथा धर्मनिपेक्षताविरुद्ध उचाल्ने अभियानको नेतृत्व प्रभञ्जन सिंहले नै गरेको बताइन्छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई जनकपुर भ्रमणका लागि निम्ता गर्ने निर्देशन दिन प्रभञ्जन सिंह केही दिनअघि साधुको भेषमा जनकपुर पुगेर रामजानकी मन्दिरका महन्थ रामतपेश्वर दासलाई भेटेका थिए ।

आदित्यनाथले आफू जनकपुर आउन निकै प्रतीक्षामा रहेको बताएका छन् । उनले आफ्नो भ्रमणले जनकपुर र उत्तर प्रदेशबीच सांस्कृतिक आदान–प्रदान हुने उल्लेख गरेका छन् । जनकपुरबाट गएका केही पत्रकारलाई लखनउमा भेट गर्दै आदित्यनाथले आफू नेपाल सरकारसँग मिलेर काम गर्ने पक्षमा रहेको जनाउ पनि दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

55 + = 63