पाँच खर्ब बढी डुबेपछि अर्थमन्त्री खतिवडाको राजीनामा माग्दै सेयर लगानीकर्ता रिले अनसन बस्ने

  • 626
  •  
  •  
  •  
  •  
    626
    Shares

काठमाडौं, २० मंसिर । तत्कालीन एमालेका एक से एक नेतालाई जिल्ल पार्दै अर्थमन्त्री बनेका डा.युवराज खतिवडा इतिहासकै कमजोर अर्थमन्त्री बन्ने दौडमा छन् । उनी अर्थमन्त्री भएयता मुलुकको अर्थतन्त्र ओरालो लाग्न थालेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट ०३७ मा अर्थशास्त्रमा र ०४० मा जनप्रशासनमा स्नातकोत्तर गरेका खतिवडाले दिल्ली स्कुल अफ इकोनोमिक्स, दिल्ली विश्वविद्यालयबाट ०४७ मा वित्तीय अर्थशास्त्रमा पिएचडी गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको १५औं गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसकेका खतिवडालाई नेपालको अर्थतन्त्र राम्रो बुझेको मानिन्थ्यो । उनी अर्थमन्त्री भएपछि नेपालको आर्थिक अवस्था सुदृढ हुने धेरैले विश्वास गरेका थिए । सोही विश्वासका कारण प्रधानमन्त्री केपी ओलीले उनलाई अर्थमन्त्री नियुक्त गरे । तर, अर्थमन्त्री भएको नौ महिनासम्म पनि उनको कुनै गतिलो काम देखिएको छैन ।

इतिहासमै सबैभन्दा धेरै आलोचना भएको बजेट खतिवडाले प्रस्तुत गरेको बजेट बन्न पुग्यो । अर्थमन्त्री हुनेवित्तिकै उनले सेयर बजारलाई ‘अनुपात्दक क्षेत्र’ भनेर टिप्पणी गरे । जसका कारण १८ सयभन्दा माथिको विन्दुमा रहेको सेयर परिसूचक सात सयभन्दा तल झरेर अहिले ११ सयमा आइपुगेको छ ।

सेयर बजारमा नेपाली सर्वसाधारणको पाँच खर्बभन्दा धेरै लगानी डुबेपछि अर्थमन्त्री खतिवडाको राजीनामा माग गरिएको छ । खतिवडाको राजीनामा माग गर्दै सेयर लगानीकर्ताहरू अनसन बस्ने भएका छन् । सेयर बजार निरन्तर उच्च अंकले ओरालो लागेपछि सम्पत्तिको सुरक्षा गर्न भन्दै लगानीकर्ताहरू आगामी मंसिर २३ गते आइतबार अनसन बस्ने भएका हुन् ।

लगानीकर्ताले वर्षौंदेखि राख्दै आएका माग पूरा गराउने सन्दर्भमा आलटाल भएकाले अनसन बस्न लागेको सेयर लगानीकर्ता दबाब समूहले बताएको छ । उक्त समूहले बुधबार एक विज्ञप्तिमार्फत अर्थमन्त्री डा.खतिवडा पुँजी बजारको विरोधी भएको भन्दै उनको राजीनामाको मुख्य मागसहित रिले अनसन बस्ने निर्णय गरेको बताएको छ । आगामी आइतबार बिहान १० बजेदेखि सिंहदरबारस्थित नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालयमा रिले अनसन सुरु हुनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 3