म्यानचेस्टर युनाइटेड र आर्सनलको बराबरीमा रोकिए, टोटनह्याम तेस्रो स्थानमा उक्लियो
18 - 18Shares
काठमाडौंः इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आर्सनलले बराबरी खेल्दै अंक बाडेका छन् । बुधबार राति युनाइटेडको मैदानमा भएको खेलमा युनाइटेड र आर्सनलले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
आर्सनलले बनाएको दुई पटकको अग्रता उल्टाएर युनाइटेडले बराबरी खेलेको हो । युनाइटेडका लागि एन्थोनी मार्सियल र जेसे लिंगार्डले एक एक गोल गरे । आर्सनलका स्कोड्रान मुस्ताफी र एलेक्जेन्डर लाकाजेट्सले एक एक गोल गरे ।
खेलको २६ औं मिनेटमा मुस्ताफीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३० औं मिनेटमा मार्सियलले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा पनि आर्सनलले सुरुवाती अग्रता बनायो । खेलको ६८ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनललाई २ -१ को अग्रता दिलाए । तर, त्यसको एक मिनेट नबित्दै ६९ औं मिनेटमा लिंगार्डले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै युनाइटेडलाई हारबाट जोगाए ।
यो बराबरीसंगै पांचौ स्थानको आर्सनलले १४ खेलबाट ३० अंक जोडेको छ । १४ खेलबाट २२ अंक जोडेको युनाइटेड नवौं स्थानमा छ ।
अर्को खेलमा टोटेनहम हस्टपरले साउथह्यमाम्टनमाथि सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ । वेम्वली मैदानमा भएको खेलमा घरेलु टोलीलाई सहज जित दिलाउन ह्यारी केन, लुकास मौरा र ह्युङ मिन सनले गोल गरे । पराजित टिमका लागि चार्ली अस्टिनले सान्तवना गोल फर्काए ।
टोटेनहमको १५ खेलबाट ३३ अंक पुगेको छ । चेल्सीको ३१ अंक छ । साउथह्याम्पटनको १५ खेलबाट ९ अंकसहित १८औं स्थानमा छ ।