भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको लगानी रहेको यूटीएलले दूरसञ्चार प्राधिकरणलाई बुझाएन ७७ करोड

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं, ११ पुस । प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषदमा सबैभन्दा धनी मन्त्रीमध्येका एक हुन् रघुवीर महासेठ । उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् ।

उनकी श्रीमती जुली महतो नेकपाकी सांसद छिन् । उनी अरबपति डा.उपेन्द्र महतोकी बहिनी हुन् । यूटीएलमा सांसद महतोको २० प्रतिशत लगानी छ ।

दूरसञ्चार प्राधिकरणका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकी पत्नी तथा नेकपा सांसद जुलीकुमारी महतोको लगानी रहेको यूटीएलले ७७ करोड ७९ लाख ७५ हजार ३१२ रुपैयाँ बक्यौता बुझाएको छैन ।

युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), स्मार्ट टेलिकम, सीजी कम्युनिकेसन्सलगायतका कम्पनीले तीन अर्ब १३ करोड ८ लाख ४१ हजार रुपियाँ बक्यौता तिरेका छैनन् । सांसदकै कम्पनीले सरकारलाई राजस्व नबुझाउनु दुःखद भएको पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्रीको भनाइ छ ।

यूटीएललाई प्राधिकरणले २०७३ भदौ २० मा एकीकृत लाइसेन्स दिएको थियो । यूटीएलले हालसम्म ४० करोड ८० लाख रुपैयाँ फ्रिक्वेन्सी दस्तुर बुझाएको छैन । उसको जरिवाना जोड्दा यो शीर्षकमा मात्रै ४६ करोड ५१ लाख २० हजार बक्यौता पुगिसकेको छ ।

दूरसञ्चार प्राधिकरणलाई तिर्नुपर्ने प्रायःजसो सबै शीर्षकमा यूटीएलको बक्यौता छ । दूरसञ्चार कम्पनीले आफ्नो कुल आयको ४ प्रतिशत हुने गरी तिर्नुपर्ने रोयल्टी पनि उसले तिरेको छैन । लामो समयदेखि राजस्व नबुझाएको यो कम्पनीलाई सरकारले असुलीका कदम चाल्नुको सट्टा उल्टै सहयोग गरेको छ ।

रोयल्टीको रकम एक अर्ब ६४ करोड नाघेपछि २०६९ असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले यूटीएलले फरक–फरक किस्तामा बुझाउन पाउने निर्णय गरेको थियो । प्राधिकरणका अनुसार मन्त्रिपरिषद्ले यूटीएललाई आठ किस्तामा रकम बुझाउने सुविधा दिएको थियो । त्यसअनुसार कम्पनीले हरेक असार मसान्तसम्ममा रोयल्टी किस्ताबापत २० करोड ४१ बुझाउनुपर्ने हुन्थ्यो ।

यसअघि पाँचपटकको किस्ता कहिले समयमै र कहिले ढिला गरी तिरेको थियो । कम्पनीले यो वर्ष बुझाउनुपर्ने रकम २० करोड ४१ लाख रुपैयाँ किस्ता अहिलेसम्म बुझाएको छैन । कम्पनीले नवीकरणको १० करोड रुपियाँसमेत तिर्न बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1