आफू मन्त्री हुनुभन्दा पहिल्यै भएको एयरबस खरिद भएको पूर्वमन्त्री शाहीको जिकिर, सर्वोच्चको फैसलालाई किन नजरअन्दाज गरेको ?

  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं, १९ पुस । पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले वाइडबडी खरिदमा आफ्नो संलग्नता रहेको भन्ने विषयलाई अस्वीकार गरेका छन् ।

पूर्वमन्त्री शाहीले बुधबार विज्ञप्तिमार्फत आफू मन्त्री हुनुभन्दा पहिल्यै एयरबस खरिद गरेको र आफूले डलर सहटीका लागि अर्थ मन्त्रालयलाई पत्र लेखेको र त्यो सरकारी स्वार्थबाहेक अन्य नरहेको जनाएका छन् ।

सर्वोच्च अदालतले नेपाल वायुसेवा निगम र सार्वजनिक खरिद ऐन २०६३ अनुसार नै भएको फैसलालाई उपसमितिबाट नजरअन्दाज गर्न नमिल्ने भन्दै आफ्नो संलग्नता नरहेको अस्वीकार गरेका हुन् ।

प्रेस विज्ञप्ति

नेपाल वायुसेवा निगमको वाइडबडी बिमान खरिद सम्वन्धमा अध्ययन अनुसन्धान गर्न गठित उपसमितिबाट मिति २०७५ पुस १८ गते संघीय संसदको सार्वजनिक लेखा समितिमा पेस भएको प्रतिवेदनमा म पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई समेत खरिद प्रक्रियामा दोषी ठहरायाई नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालिएकोमा यसको गहिरो अध्ययन अनुसन्धान नभएको मलाई महसुस भएको छ ।

‘छानबिन उपसमितिले लेखा समितिमा पेस गरेको प्रतिवेदनमा सार्वजनिक खरिद ऐन २०६३ को विपरीत अनियमित तरिकाले विमान खरिद कारवाही अगाडि बढ्दा पनि संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव नै वायुसेवा निगमको अध्यक्ष रहँदा यथेष्ठ सतर्कता नअपनाई निर्देशन दिन नसकेको र बैना रकम सटही सुविधा प्रदान गर्न तत्कालीन मन्त्री जीवनबहादुर शाहीले निर्णय गरेको सम्बन्धमा निजले नैतिक जिम्मेवारी लिनुपर्ने देखिएकाले कानुनसम्मत कारवाहीका लागि निर्देशन गर्न सिफारिस गर्दछ’ भनी उल्लेख भएको छ, यस विषयमा मेरो पूर्ण असहमति रहेको छ ।

नेपालको पर्यटन पूर्वाधार विकास गर्न नेपाल सरकारबाट आ.व. २०७२–७३ मा पारित नीति तथा कार्यक्रम र नेपालको सम्मानित सदनले अनुमोदन गरेको वाइडबडी बिमान खरिद गर्ने निर्णयलाई नेपाल वायुसेवा निगम बोर्डले सम्झौता लगाएत सम्पूर्ण प्रक्रिया सुरु गरिसकेको अवस्थामा बैना रकमबापतको विदेशी मुद्रा सटहीका लागि सिफारिस गर्नुमा सरकारी स्वार्थबाहेक अन्य कुनै गलत नियत नरहेको विनम्र अनुरोध गर्दछु ।

सकारात्मक सोचका साथ सुरु गरिएको प्रक्रियालाई गलत व्याख्या गरी सार्वजनिक खरिद ऐन २०६३ को विपरीत अनियमित तरिकाले विमान खरिद प्रक्रियाको कार्यवाही अगाडि बढ्दा पनि यथेष्ठ सतर्कता नअपनाई निर्देशन दिन नसकेको भनी मेरो कमजोरी उल्लेख गर्दा सम्मानित सर्वोच्च अदालतले समेत उक्त खरिद प्रक्रियामा कुनै त्रुटिहरु नभएको तथा नेपाल वायुसेवा निगम र सार्वजनिक खरिद ऐन २०६३ अनुसार नै भएको फैसलालाई उपसमितिबाट नजरअन्दाज गर्न नमिल्ने हो ।

त्यस्तै, बिमान खरिदमा बैना रकम दिएको भन्ने सम्बन्धमा ५० हजारभन्दा बढी डलर सटही सुविधाका लागि तालुकदार मन्त्रालयबाट अर्थ मन्त्रालयमा सिफारिस गर्नुपर्ने प्रावधान भएअनुसार मुलुककै पर्यटन पूर्वाधारमा टेवा पुर्याउने वायु सेवा निगमको खरिद प्रक्रियालाई दु्रत गतिमा अगाडि बढाउने उद्देश्यसहित वायुसेवा निगमबाट पत्र संख्या ३३/४१६/०७३–०७४ को मिति २०७३ माघ २६ मा विदेशी मुद्रा सटहीका लागि आवश्यक पहल तथा सिफारिसका लागि प्राप्त अनुरोध पत्रअनुसार नेपाल सरकार अर्थ मन्त्रालयमा प.स. ०७३/०७४, च.न.४६७ को मिति २०७३/१०/२८ मा विदेशी मुद्रा सटहीको लागि सिफारिस मात्र भएकोमा मन्त्रीस्तरको निर्णयबाट बैना रकम दिने निर्णय गरेको आशयसहित गलत अर्थ लगाइनु युक्तिसंगत देखिएन ।

नेपाल वायुसेवा निगम आफैमा एक स्वायत्त निकाय रहेकाले उक्त विषयमा सम्पूर्ण निर्णयहरु निगम बोर्डबाट हुने र जहाजको टेण्डर प्रक्रिया म मन्त्रि पद बहाल हुनुभन्दा पहिला सुरु भएकोसमेत अनुरोध गर्दछु ।

पुनः वाइडबडी विमान खरिद प्रक्रियाको टेन्डर प्रक्रिया एवं सम्झौता प्रक्रिया म मन्त्री पद बहाल हुनुभन्दा अगाडि भइसकेको अवस्थामा मबाट नेपाल सरकार अर्थ मन्त्रालयमा विदेशी मुद्रा सटहीको सिफारिस मात्र भएको र वाइडबडी जहाज खरिद प्रक्रियाको सम्पूर्ण अधिकार तथा जिम्मेवारी स्वायत्त संस्था नेपाल वायुसेवा निगममा रहने हुँदा मन्त्रीको कुनै संलग्नता नरहने जानकारीका लागि बिनम्र अनुरोध गर्दै उपसमितिको प्रतिवेदनमा मलाईसमेत जोडी नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालिनुले ममाथि अन्याय भएको हुँदा गहिरो अध्ययन अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याई ममाथि न्याय दिन अनुरोध गर्दछु । नैतिक जिम्मेवारी लिनुपर्ने कुनै कारण नरहेको अनुरोध गर्दै वाइडबडी बिमान खरिद प्रक्रियाको थप छानविनमा सम्वन्धित सरोकार निकायलाई आवश्यक सहयोगका लागि मेरो तर्फबाट कुनै कसुर नरहने प्रतिबद्धता जाहेर गर्दछु । समितिबाट पेस भएको प्रतिवेदनमा उल्लेखित आरोपहरुमा कुनै सत्यता नरहेको यहाँहरुसमक्ष अवगत गराउँदै म निर्दोष रहेको व्यहोरा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ हार्दिक अपिल गर्दछु ।

जीवनबहादुर शाही
पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 9 = 15