‘साइकल मन्त्री’ को रूपमा परिचित सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले १० महिनामा बुझे झन्डै १४ लाख भ्रमण भत्ता

  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार मितव्ययी र भ्रष्टाचार विरोधी भएको बताउँदै आएका छन् । तर, प्रधानमन्त्रीका भनाइ एक पछि अर्को गरी गलत सावित हुँदै आएको छ ।

विगतमा शेरबहादुर देउवा सरकारले ६४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा अब सबैलाई पालैपालो मन्त्री बनाऔं भन्दै व्यंग्य गर्ने ओलीका २५ सदस्यीय मन्त्रिपरिषद्ले सरकारी ढुकुटी व्यापक रूपमा सिध्याएको छ ।

ओली सरकारका मन्त्रीहरूले कि त विदेश भ्रमणमा गएर कीर्तिमान राखेका छन्, कि त देशकै विभिन्न जिल्लाको भ्रमण गरेर भ्रमण भत्तामा कीर्तिमान राखेका छन् । यसबै क्रममा आफूलाई सदाचारी र स्वच्छ मन्त्री भएको दाबी गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सबैभन्दा धेरै भ्रमण भत्ता बुझेको पाइएको छ ।

‘साइकल मन्त्री’ का रूपमा परिचित मन्त्री पण्डितले १० महिनामा झन्डै १४ लाख रुपैयाँ भ्रमण भत्ता बुझेका छन् । उनले यस अवधिमा १३ लाख ८३ हजार ९ सय ६० रुपैयाँ बुझेका छन् । यो अवधिमा मन्त्री पण्डित धेरैपटक निर्वाचन क्षेत्रसमेत रहेको मोरङको विराटनगर गएको देखिन्छ ।

यसबाहेक पण्डितले सर्लाही, रूपन्देही, पाल्पा, सुनसरी, नुवाकोट, कपिलवस्तु, झापा, पर्सा, स्याङ्जा, चितवन, कास्की र मकवानपुर भ्रमण गरेको बिलभर्पाइ बुझाएर रकम लिएका छन् । पण्डितले चीन र भारतको समेत भ्रमण गरेका छन् । दुवै देशमा उनी पत्नी विमला महत र सचिवालयका कर्मचारी लिएर गएका थिए ।

सुरुमा उनले आफू पनि विदेश भ्रमण नगर्ने, स्थानीय तह र मन्त्रालयका कर्मचारीलाई पनि अनावश्यक विदेश भ्रमण गर्न नदिने अडान लिएका थिए । तर, अहिले उनको एक मात्र ध्यान सम्पत्ति आर्जनमा देखिएको छ । उनले दोहोरो इन्धनबापत दुई लाख रुपैयाँ बुझेको यसअघि नै सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 7