प्रधानमन्त्री ओलीले सचिवसँग सल्लाह लिँदै धमाधम राजनीतिक नियुक्ति दिन थालेपछि मन्त्रीहरू असन्तुष्ट, को को छन् रिसाउनेमा ?

  • 79
  •  
  •  
  •  
  •  
    79
    Shares

काठमाडौं, २६ पुस । पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले राजनीतिक नियुक्तिमा निकै धेरै चासो देखाउन थालेका छन् । मन्त्रिपरिषद्बाट गरिने निर्णयमा प्रधानमन्त्री नै सर्वेसर्वा हुन्छन् ।

विगतमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले नियुक्तिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लाने गर्दै आएका थिए । तर, केही समययता ठूल्ठूला नियुक्तिमा प्रधानमन्त्री ओलीको स्वार्थ देखिएपछि विभागीय मन्त्रीहरू रिसाउन थालेको बताइन्छ ।

हालै सरकारले नियुक्त गरेका तीन सरकारी निकायका प्रमुखबारे तीनजना मन्त्री ओलीसँग असन्तुष्ट रहेको बुझिएको छ । जसमा गृहमन्त्री रामबहादुर थापा बादल, आपूर्तिमन्त्री मातृका यादव र सञ्चारमन्त्री गोकुल बास्कोटा रहेका छन् ।

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखबाट दिलीप रेग्मीलाई बर्खास्त गरेर एआईजी गणेश अधिकारीलाई नियुक्ति दिइएको छ । चार वर्षे कार्यकाल रहेका रेग्मीलाई समय नपुग्दै हटाएकोमा गृहमन्त्री थापा प्रधानमन्त्रीसँग रुष्ट रहेको बुझिएको छ । रेग्मीलाई हटाउँदा र अधिकारीलाई नियुक्ति दिँदा गृहमन्त्री थापासँग सल्लाह नै नगरिएको बताइन्छ ।

उता, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको प्रबन्ध निर्देशकमा नन्दकिशोर बस्नेतलाई नियुक्ति दिइएको छ । बस्नेतको नियुक्तिप्रति वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव असन्तुष्ट रहेको बताइएको छ । आफ्नो असन्तुष्टि उनले प्रधानमन्त्री ओलीसँग राखिसकेको स्रोतले बतायो ।

यस्तै, नेपाल टेलिकमको महाप्रबन्धकमा डिल्ली अधिकारीलाई नियुक्त गरिएको छ । अधिकारीको नियुक्ति सञ्चारमन्त्री बास्कोटाकै प्रस्तावमा भएको समाचार आएको थियो । तर, बास्कोटा आफैं अधिकारीलाई महाप्रबन्धक नियुक्त गर्न नहुने पक्षमा रहेको बताइएको छ । अधिकारीलाई सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङसँगको सल्लाहमा नियुक्त गरिएको भन्दै आफू असन्तुष्ट रहेको बजार हल्ला सञ्चारमन्त्री बास्कोटाले बाहिर ल्याएका छन् ।

स्रोतका अनुसार अहिले प्रधानमन्त्री ओलीले विगतमा गिरिजाप्रसाद कोइरालाले सरकार चलाउँदाको शैली अपनाएका छन् । कुनै सरकारी नियुक्ति गर्नुपरेमा मन्त्रिपरिषद् बैठक चलिरहेका बेला कोइरालाले कोटबाट नामको चिट झिकेर मुख्यसचिवलाई लेख्न लगाउने र मन्त्रीलाई जानकारी दिने गरेका थिए । अहिले ओलीले पनि सोही शैली अपनाएको एक मन्त्रीले नाम उल्लेख नगर्ने सर्तमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 36