‘गोपी’ चलचित्रप्रति सरकारको चासो, दुई मन्त्रीपछि प्रधानमन्त्री ओलीलाई भेट्दै निर्माण युनिट

  • 121
  •  
  •  
  •  
  •  
    121
    Shares

काठमाडौं, २७ पुस । गाईपालनको कथावस्तुमा आधारित ‘गोपी’ चलचित्र यतिखेर चर्चामा छ । दीपेन्द्र लामा निर्देशित चलचित्रमा विपीन कार्की, वर्षा राउत र सुरक्षा पन्तको प्रमुख भूमिका रहेको छ ।

माघ १८ गते रिलिज हुने चलचित्रप्रति सरकारका मन्त्रीहरूले चासो व्यक्त गरेका छन् । श्रममन्त्री गोकर्ण विष्ट र कृषिमन्त्री चक्रपाणि खनालले ‘गोपी’ चलचित्रका निर्माता, निर्देशक, लेखकसँग भेटेर चलचित्रप्रति चासो राखेका थिए । मन्त्रीद्वयले नेपालमै रोजगार गरौं भन्ने विषयलाई चलचित्रको विषय बनाएकामा खुसी प्रकट गरेका थिए ।

‘गोपी’ चलचित्रका निर्माता, निर्देशक, लेखकले शनिबार प्रधानमन्त्री केपी ओलीलाई भेट्ने भएका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न ‘गोपी’ युनिट शनिबार बिहान बालुवाटार जानेछ ।

चलचित्र युनिटले बिहीबार कलाकारसँग साक्षात्कार कार्यक्रम राखेको थियो । सो अवसरमा अभिनेता विपीन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, कलाकार भोलाराज सापकोटाले चलचित्र खेल्दाको अनुभव सुनाएका थिए ।

‘म सानैदेखि घाँस दाउरा गर्थेँ । गाईको गोठमा पनि खुबै काम गरेको छु । यसैले पनि मलाई यो भूमिका गर्न त्यति गाह्रो भएन, तीन घन्टामै कथा पढेर सकाएको थिएँ,’ अभिनेता कार्कीले भने ।

वर्षा राउतको घर सिन्धुली हो । यसैले बुबासँग गाउँमा जाँदा उनले जनावरसँग खेल्ने गरेको सुनाइन् । ‘मलाई पनि कहिलेकाहीँ विदेशमा गएर केही गरौ भन्ने लागेको थियो । तर, पछि आफूले नै यहाँ केही गर्न थालेपछि विदेश जाने सोच हट्यो । यो चलचित्रमा काम गरेपछि झनै उत्प्रेरणा मिलेको छ,’ उनले भनिन् ।

नायिका सुरक्षा पन्तले आफूलाई चलचित्रको करिअरमा यस्तो खालको काम गर्न विशेष मनपर्ने भन्दै अन्य निर्माता निर्देशकलाई पनि यस्तै चलचित्रमा खेलाइदिन आग्रह गरिन् । कलाकार अंकित खड्काले दर्शकले आफ्नो भूमिकालाई मन पराउने विश्वास व्यक्त गरे ।

‘गोपी’ चलचित्रको निर्माता पत्रकार श्रीधर पौडेल हुन् । चलचित्र राम्रो बनेको उनको भनाइ छ ।चलचित्रलाई सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । चलचित्रका निर्माता, निर्देशक र लेखक तीनैजना पत्रकार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

77 − 67 =