प्रधानमन्त्रीको कार्यक्रममा प्रचण्ड किन देखिए निराश, के हो कारण ?

  • 345
  •  
  •  
  •  
  •  
    345
    Shares

काठमाडौं, २७ पुस । केही समययता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यति धेरै बोल्दैनन् । कहीँ कतै बोलिहाले पनि वर्तमान सरकारले राम्रो काम गरिरहेको छ, देश चाँडै समृद्ध बन्छ त्यसकै दिशामा गइरहेको मात्र भन्छन् ।

धेरैजसो समय गृहजिल्ला चितवनतिरै बिताउने गरेका प्रचण्ड यतिबेला बिलखबन्दमा परेको बताइएको छ । सोही कारण के गर्ने ? कसरी गर्ने ? भावी राजनीतिलाई कसरी अगाडि बढाउने ? भन्नेमा उनी निकै चिन्तित रहेको बताइन्छ ।

प्रचण्ड निकट स्रोतका अनुसार अहिले उनी घरमा पनि त्यति बोल्दैनन् । विदेशी कूटनीतिक नियोगका मानिसहरूसँग पनि धेरै भेटघाट गर्दैनन् । पार्टी त्यसमा पनि पूर्वमाओवादी केन्द्रका नेता कार्यकर्तासँग पनि भेटघाट सीमित गरेको स्रोतले बतायो ।

यी सबै हुनुका कारण प्रधानमन्त्री केपी ओलीले आफूलाई टेर्ने छाडेको ठम्याइँमा प्रचण्ड पुगेको उनी निकट स्रोतले बतायो । यतिबेला प्रधानमन्त्री ओलीले आफूलाई गन्दै नगनेको, भनेका काम पनि केही नगरिदिएकाले प्रचण्डले भन्नै छाडेको नेकपाका एक नेताले बताए ।

प्रचण्ड अहिले कतिसम्म निराश र निरीह देखिएका छन् भन्ने कुरा बालुवाटारको एउटा तस्बिरले पुष्टि गर्छ । बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी ओली र प्रचण्डसमक्ष गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डले एउटा ज्ञापनपत्र बुझाएको थियो ।

संघका अध्यक्ष भवन भट्ट, विज्ञ सम्मेलन संयोजक कुमार पन्तसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसमक्ष सुझाव पेस गर्दा प्रचण्डको अनुहार निकै अँध्यारो थियो । सायद यस्तो टिठलाग्दो अवस्थामा प्रचण्डलाई कोही कसैले पनि देखेका थिएनन् होला ।

मुलुकको दुई–दुईचोटि प्रधानमन्त्री भइसकेको र सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रचण्डलाई बस्ने कुर्सी निकै साधारण थियो । प्रधानमन्त्री एक भव्य सोफामा बसेका छन् । प्रचण्ड भने निन्याउरो अनुहार लगाएर बसेका छन् । ज्ञापनपत्र बुझिञ्जेल प्रचण्डले त्यति धेरै गफ नगरेको र पछि घर हिँडेको बताइन्छ । आखिर किन प्रचण्ड यतिबेला निराश छन् भन्ने कुराले नेकपाका नेताहरू आश्चर्यमा परेका छन् ।

प्रधानमन्त्री ओलीसँग नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, जनार्दन शर्मा, मातृका यादवलगायतका नेताहरू असन्तुष्ट भइरहेका बेला प्रचण्ड पनि बेखुसी देखिनुलाई राम्रो मानिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 38 = 41