कडा सुरक्षा रहेको सिंहदरबारभित्रै किन आतंकित छन् गृहमन्त्री थापा ? मन्त्रालय प्रवेशमा कडाइ

  • 31
  •  
  •  
  •  
  •  
    31
    Shares

काठमाडौं, २७ पुस । देशको शान्ति सुरक्षाको जिम्मा हेर्ने निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहतका संगठन हुन् । ती निकायका विभागीय मन्त्री हुन् गृहमन्त्री रामबहादुर थापा बादल । उनी नेपालको सबैभन्दा सुरक्षित प्रशासनिक केन्द्र सिंहदरबारमा बस्छन् ।

सिंहदरबार परिसरको उत्तर दिशामा नेपाली सेनाका टुकडीको बीचमा रहेको छ गृह मन्त्रालय । अत्याधुनिक हतियारधारी सुरक्षाकर्मी चौबीसै घन्टा तैनाथ रहन्छन्, तर पनि गृहमन्त्री थापाले भने यतिबेला आफूलाई असुरक्षा महसुस गरिरहेको चर्चा चल्न थालेको छ ।

अहिले गृह मन्त्रालय प्रवेशमा निकै कडाइ गरिएको छ । सर्वसाधारण पत्रकार वा सरकारी कर्मचारी जोसुकै भए पनि कडा सुरक्षा जाँचपछि मात्र मन्त्रालयभित्र प्रवेश गर्न सकिन्छ ।

केही समयअघि पूर्वमाओवादी लडाकूले गृह मन्त्रालयमै विष सेवन गरेका थिए । मन्त्रीकै अगाडि उनले विष सेवन गरेर आत्महत्याको प्रयास गरेपछि मन्त्री थापाले सुरक्षा अवस्था कडा पार्न लगाएका थिए । अहिले मन्त्रीमाथि आक्रमणको खतरा हुने खुफिया खबर पाएपछि गृह मन्त्रालयको प्रवेशद्वारमै मेटल डिटेक्टर डोर राख्न लगाइएको स्रोतले बताएको छ ।

२०७५ मंसिर ५ गते कालीकोट घर भएका पूर्वजनमुक्ति सेनाका घाइते लडाकु कुलप्रसाद भट्टराईले गृहमन्त्रीको कार्यकक्षमै विष सेवन गरी आत्मदाहको प्रयास गरे । जनयुद्ध लडेर घाइते भएका भट्टराईले जीविकोपार्जन गर्न कठिन भो आर्थिक सहायता उपलब्ध गराई पाउँ भनी गृहमा दिएको निवेदनमाथि कुनै सुनुवाइ नहँुदा उनले गृहमन्त्रीका सामुन्ने नै आत्महत्याको प्रयास गरेका थिए ।

पूर्वजनमुक्ति सेनाका लडाकुहरू अहिले गृहमन्त्री थापासँग रिसले आगो भएका छन् । उनीहरूले जनयुद्ध लडेर गणतन्त्र ल्याएका पूर्वलडाकु कमरेडमाथिको अपमानलाई गम्भीर रूपमा लिएको बताएका छन् । उनीहरूले गृहमन्त्रीसँग बदला लिने निर्णयको सूचना प्राप्त भएपछि गृह मन्त्रालयमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

48 − = 42