नेपाल एयरलाइन्समा काठमाडौं-पोखरा एक जना एयर होस्टेजसँग उड्दाको त्यो क्षण….

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

अकस्मात पोखरा जानुपर्ने भयो। फ्लाइटमा जानुको विकल्प थिएन। महंगै भए पनि टिकट किन्नु थियो, पाए सस्तो छाड्ने थिइनँ। काठमाडौं–पोखरा उडानको सबैभन्दा महँगो टिकट दर अचेल ५ हजार ४ सय छ। त्यति नै तिर्छु भन्दा पनि निजी कम्पनीका विमानको टिकट पाउन सकिनँ।

सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमको टिकट कता पाइन्छ थाहा थिएन। अधिकांश ट्राभल एजेन्सीले निगमको आन्तरिक उडानको टिकट नबेच्ने रहेछन्। जहाज थोरै भएर टिकटै नपाइने, उडानको भर नहुने कुरा सुनिन्थ्यो। तर अरु एयरलाइन्सको टिकट नपाइएपछि त्यतै ध्यान सोझियो। वायुसेवामा फोन लगाएँ। मेरो आर्थिक हैसियतबमोजिमकै सस्तो टिकट पाएँ। ५ हजार भए नि तिरौंला भनेको मान्छेलाई टिकट पाउनु नै ठूलो कुरा थियो। झन् २ हजार रुपैयाँमै पाएपछि के चाहियो ?

निजी कम्पनीले दैनिक दर्जनभन्दा बढी उडान भर्ने पोखरामा निगमको उडान मुस्किलले एउटा हुन्छ। बिहान ८ बजेको उडान थियो। ७ बजे नै विमानस्थल पुगें। टर्मिनल भवन छिर्नेबित्तिकै निगमप्रति दया लागेर आयो। निजी विमानका बोर्डिङ काउन्टर यात्रुले भरिभराउ थिए, कर्मचारी अत्यन्त व्यस्त थिए। निगमको बोर्डिङ काउन्टरमा न कर्मचारी थिए, न यात्रु नै। केहीबेर पर्खेपछि एकजना कर्मचारी आए र मलाई बोर्डिङ पास दिए। म प्रतीक्षालयतर्फ लागें। न मौसमको खराबी थियो न त रनवे व्यस्त। तै पनि भनेको समयमा निगमको वाई–१२ विमान उड्ने छाँट देखिएन।

निजी विमान भने तोकिएकै समयमा उडिरहेका थिए। काउन्टरमा यात्रुहरुको भीड थियो। सबै एकै स्वरमा कराइरहेका थिए, ‘हेल्लो मेडम हाम्रो फ्लाइट कति बेला हुन्छ ? ’ डेढ घन्टा बित्यो। स्पिकरले मेरो नाम फुकेपछि थाहा पाएँ अब उडान हुने भयो। बोर्डिङ पास च्यापेर बाहिर निस्किएको त नेपाल एयरलाइन्सको बस देखिनँ। ला ! जहाजसम्म पुर्‍याउने बस छुट्यो ! एकछिन अक्क न बक्क भएँ।

एक कर्मचारीले ‘सर, यता बस्नुस्’ भन्दै सानो भ्यान देखाए। भित्र बसें अनि सोचें– अरु यात्रु त बसमै गएछन्, म ढिला भएँ कि क्याहो ? ती कर्मचारीसँग माफी मात्र के मागेको थिएँ, तिनले हाँसोको फोहोरा छुटाउँदै भने, ‘होइन होइन, आज चार्टर हो।’ मैले कुरा बुझिनँ।

विमान पोखरा उडान भर्न तयार थियो। म भित्र पसें। परिचारिका मात्रै थिइन्। पाइलटले जहाज स्टार्ट गरेपछि छर्लंग भयो, यात्रु त मै मात्र रहेछु। १७ यात्रु बोक्ने जहाजले जम्मा २ हजार रुपैयाँ व्यापार गर्‍यो।

मन अमिलो भयो। सम्झें– ठूला–ठूला जहाज थपिएका छन्, व्यवस्थापन भने यस्तो ! मोबाइल झिकेर भिडियो लिन थालेँ। सेल्फी लिएँ। परिचारिकाले न त बेल्ट बाँध्न सिकाइन्, न अरु कुनै जानकारी नै दिइन्। मिठाइ भने दिइन्।

निजी एयरलाइन्समा टिकट नपाइने पोखराजस्तो ठाउँमा पनि राष्ट्रिय ध्वजावाहक रित्तै उड्दो रहेछ !

म गम्न थालेँ। नेपाल एयरलाइन्ससँगै स्थापना भएको थाई एयरवेज विश्वको नामी हवाई सेवाप्रदायक भइसक्यो। हामीले केटाकेटीदेखि विश्वकै गरिब देश भनेर पढ्दै आएको इथियोपियामा सन् २००४ मा स्थापित राष्ट्रिय ध्वजावाहकसँग डेढ सयभन्दा बढी विमान छ। तर हाम्रो राष्ट्रिय ध्वजावाहकसँग आन्तरिक उडानका लागि वाई टुवेल्भ चार, एमए सिक्स्टी दुई, र ट्विनअटर दुई गरी आठ वटा मात्र विमान छन्। तीमध्ये पनि चार वटा मात्रै उड्ने गर्छन्। अन्तर्राष्ट्रिय सेवाका लागि किनिएका विमानका काण्डबारे त भन्नै परेन।

पोखारसम्मको ३५ मिनेटको उडानमा विमानमा एक्लै बसिरहँदा मैले थाहा पाएँ, सरकारी र सस्तो शुल्क हुँदा पनि निगमको यस्तो दुर्गति किन छ। विमानस्थलबाट बाहिरिँदा एउटा प्रश्नले पिरोलिरहेको थियो, मेरो राष्ट्रिय ध्वजावाहकको ध्वजा कसले काट्यो होला उड्नै नसक्ने गरी ?
यो खबर <strong>अन्नपूर्ण पोस्ट</strong> राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।</p>

Leave a Reply

Your email address will not be published. Required fields are marked *

68 ÷ = 34