नेपाली सामान आयातकर्ताका एजेन्टले हडताल गरेपछि कोलकाता बन्दरगाहमै अड्किए सामान

  • 10
  •  
  •  
    10
    Shares

काठमाडौं, २१ माघ । तेस्रो मुलुकबाट आयात गरिने सामान सिधै नेपाल ल्याउने व्यवस्था इसिटिएस प्रणाली लागु हुन लाग्दा नेपालका लागि तेस्रो मुलुकबाट ल्याइने सामान कोलकातामै अड्किएका छन् ।

उक्त प्रणाली आउँदो फागुन ३ गतेदेखि लागू हुनेछ । तर सोही प्रणालीको विरोध गर्दै नेपाली सामान आयातकर्ताका एजेन्टले हडताल गरेका कारण नेपाली सामान कोलकाता बन्दरगाहमै अड्किएका हुन् ।

तेस्रो मुलुकबाट नेपाल आउने सामानका कन्टेनरको कोलकाता बन्दरगाहमा कार्गो ह्यान्डलिङ एजेन्टहरूले भन्सार जाँचपास गराउने काम नगरिदिएपछि विगत सात दिनदेखि नेपालका लागि आएका सामानका कन्टेनर कोलकाता बन्दरगाहमै रोकिएको बीबीसीले जनाएको छ ।

इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम कोलकाता बन्दरगाहबाट नेपाल सामान ल्याउनका लागि पहिलो पटक लागू गर्न लागिएको प्रणाली भएको कोलकातास्थित नेपाली महावाणिज्य दूत एकनारायण अर्यालले बताए । उक्त प्रणाली लागू भएपछि कोलकातामा अहिलेसम्म लाग्ने कागजी झन्झट सबै समाप्त हुने उनको दाबी छ ।

नेपालबाट सामान आयातकर्ताहरूले आठवटा स्थानमा सामान आयात सम्बन्धी सक्कली कागजात पेश गरेपछि मात्र कोलकाताबाट सामान नेपाल ल्याउन पाइन्थ्यो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुका अनुसार अब यी कागजी प्रक्रिया समाप्त हुनेछ । ‘हामीले यो प्रणाली विशाखापट्नममा पहिलादेखि नै लगाएका छौँ । तर कोलकातामा पुरानै परम्पराले सामान ल्याइँदा नेपालले बर्सेनी धेरै पैसा कन्टेनरका विलम्ब शुल्कवापत बुझाउनु प-यो ।’

भारतको कोलकाता तथा हल्दिया बन्दरगाहबाट सिधै सामानका कन्टनेर नेपाल ल्याउने इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ प्रणालीको व्यवस्था गरिन लाग्दा कार्गो ह्यान्डलिङ एजेन्टहरूले आफूहरूको रोजीरोटी गुमेको भन्दै आन्दोलनमा उत्रिएको महावाणिज्य दूत अर्यालले बताए ।

‘हाम्रो रोजीरोटी खोसियो, हाम्रा कामदारहरूको भविष्य के हुने, नेपाली व्यापारीसँग हाम्रो करोडौँ रुपैयाँ के हुन्छ भन्ने मागहरू राखेर उनीहरु आन्दोलनमा उत्रिएका छन्,’ उनले भने ।
सहसचिव सैंजुका अनुसार कोलकाताको आन्दोलनले केही दिन सामान नेपाल आउन अवरोध हुनसक्छ । कोलकातामा नेपाली सामान ढुवानीमा अवरोध भए त्यस्को विकल्प नेपाल सरकारले खोज्ने सैंजुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

27 − = 18